हङकङको ग्रास आइल्यान्ड पुग्दा...

हङकङको ग्रास आइल्यान्ड पुग्दा...

नरजित राई
बैशाख २४, २०८१ सोमबार १३:१, हङकङ

मौसम विभागले जारी गरेको सूचनालाई  बिहानै उठेर हेरेँ। पानी पर्ने उच्च सम्भावना देखाइएको थियो। हङकङ साहित्यिक साझा शृङ्खलाले ग्रास आइल्यान्ड (Grass island)मा आयोजना गर्न लागेको पदयात्रा तथा साहित्यिक कार्यक्रमलाई पानीले बिथोल्ने पो हो कि भनेर अलिकति चिन्तित भएँ। हङकङ साहित्यिक साझा शृङ्खलाले १३० भागको कार्यक्रम ३१ मार्च २०२४ (वि. स. १८ चैत २०८०) मा हुँदै थियो। मेरो पनि बिदा मिलेकाले कार्यक्रममा भाग लिन निकै उत्सुक थिएँ।

हङकङमा २९ वर्ष बिताए पनि  ग्रास आइल्यान्डको महिमा मात्र सुनेको थिएँ, पुग्न पाएको थिइनँ। हङकङका डाँडाकाँडा र आइल्यान्डहरू प्रायः घुमेर सिध्याइसकेका भाइहरू लक्ष्मीनन्द लिङ्देन र शेरबहादुर पयाङोले ग्रास आइल्यान्डको सौर्न्दय र यहाँ घुमेका अनुभूतिबारे धरै अगाडि सुनाएका थिए।

यसैले पनि मलाई ग्रास आइल्यान्ड घुम्ने तीव्र इच्छा थियो। यस पटक  हङकङ साहित्यिक साझा शृङ्खलाले उक्त साइत जुराइदिएको थियो।

म झापामा हुर्के/बढे पनि छिमेकी जिल्ला इलामको पान्थरमा घुम्ने साइत कहिल्यै जुरेन। कुनै ठाउँमा घुम्न, डुल्नका लागि साइत नै जुर्नुपर्ने रहेछ।

मेरो बिहानै खाजा खाने बानी भएकाले म्याक डोनाल्डमा गएँ। झोलवाला म्याक्रोनी, अण्डा, चिकन ससेस मिलाएर बनाइएको खाजालाई टापटुप पारेँ। अनि तातो कागती चिया पिउँदा शरीरमा ऊर्जा भरिएर आयो।

आफ्नो बासस्थान नजिकै रहेको होइ सान पार्कमा गएँ। पार्क नजिक रहेको समुद्रको छाल, समुद्रको छालसँग जुध्दै नर्थ हुइँकिरहेको पानीजहाजलाई एकछिन नियालेँ।

म प्रायः बिदाको दिन बिहानै होइ सान पार्क जाने गर्छु। त्यस दिन पनि केही क्षण बिताएर कोठामा फर्किएँ।

हङकङ साहित्यिक साझा शृङ्खलाले जारी गरेको सूचनामा ग्रास आइल्यान्ड जानका लागि डाइमण्ड हिल रेल स्टेसनको एक्जिट C1 अगाडि बिहानको ठिक १०:३० भित्र भेला हुनुपर्ने लेखिएको थियो। त्यस ठाउँबाट ९६R नम्बरको बसबाट वान सेक फेरि पेरियरमा पुग्ने लेखिएको थियो।

त्यो नम्बरको बसले आइतबार र सार्वजनिक बिदाका दिन मात्र सोझो सेवा दिने रहेछ। नत्र अन्य समय साइकुङ पुगेर पुनः बस परिवर्तन गरी वान सेक पुग्न सकिँदो रहेछ।

शृङ्खलाको म्यासेन्जर ग्रुपमा घण्टी बज्न थालेको थियो। कवि देवेन्द्र खरेसजीले डाइमण्ड हिलको पृष्ठभूमिसहित आफ्नो फोटो सेयर गर्नु भयो। म भने बल्ल बाटो तताउन तयार भइरहेको थिएँ। मेरो बासस्थान तु क्वा वानबाट डाइमण्ड हिल नजिकै पर्दछ। भूमिगत रेलबाट ४ स्टपमा डाइमण्ड हिल पुग्न सकिन्छ। हङकङमा रेलसेवा प्रायः जमिन मुनि बनाइएका बाटोबाट गन्तव्यतिर दौडिन्छन्।

कसैले भेट्ने समय दिएको होस् वा कतै जानुपरेको होस्, ठ्याक्क समयमै पुग्नु पर्छ भन्ने मान्यता मेरो छ। त्यसैले साझा शृङ्खलाले तोकिदिएको समयलाई ख्याल गर्दै वाइका सा अन्तिम गन्तव्य भएको रेलमा चढेँ।

डाइमण्ड हिल रेल स्टेसन चारै दिशाको रेल सञ्जाल पनि हो। म हङकङ साहित्यिक साझा शृङ्खलाले दिएको ठेगानामा फुत्त निस्किइँ। त्यहाँ कमल पौडेल, देवेन्द्र खरेस, डोम राना मगर र अन्य २-४ जनालाई मात्र देखेँ। लामो पर्खाइपछि बल्लतल्ल बिहानको ११:३० बजे वान सेक फेरि पेरियरका लागि बस चढ्यौँ।

सबै जना बसको माथिल्लो तलामा बस्यौँ। बसभित्र रहेका बहिनीहरू गीत गाउन थाले। तर, सार्वजनिक बस भएकाले रमाइलो भने चाहेजति गर्न पाइएन।

डाइमण्ड हिलदेखि कोलन मोटर बस (केएमबी) ले चोइ हुङ, चोइ वान स्टेट, पाक सा वान, साइ कुङ टाउन, पाक ताम चुङ हुँदै करिब ३० किलोमिटर दूरीमा रहेको वान सेक फेरि पेरियरमा करिब एक घण्टामा पुगियो।

हामी बसबाट हुरुरु उत्रिनु पनि ग्रास आइल्यान्डका लागि पानीजहाज  हिँड्नलाई सुर कस्न लागेको रहेछ। हामी कुद्‌दै पानीजहाजभित्र छिर्‍यौँ। यदि त्यो पानीजहाज छुटेका भए अर्को एक घण्टा बेफ्वाँकमा वान सेकमा बस्नुपर्ने थियो।

पानीजहाजमा पनि हामी माथिल्लो तलामै बस्यौँ र हल्ला गर्दै रमायौँ।  सामूहिक यात्राको मजा नै बेग्लै, गुल्मेली अनलाइन टिभीका सञ्चालक कवि नारायण भण्डारीजीले ‘लु है अब लाइभ हान्न थालेँ’ भन्नु भयो। यात्रामा उत्साहित कवि, साहित्यकार, लेखक मित्रहरूले आ-आफ्नो कविता, मुक्तक वाचन गर्न थाले। पानीजहाजबाटै प्रत्यक्ष प्रसारणसहित अनौपचारिक साहित्यिक कार्यक्रमको माहोल सुरु भयो।

हाम्रो अगाडि एउटा सानो टापु देखियो। मैले सोचेँ ग्रास आइल्यान्ड आइपुगेछ। पानीजहाज पनि त्यतैतिर सोझियो। इन्जिनको आवाज र गति पनि कम भयो। ‘यो होइन है, ग्रास आइल्यान्ड त अझै अगाडि पर्छ,’ कवि  टिबि याक्खा भाइले बोले। मेरो अनुमान गलत भएछ।

त्यो टापुलाई को लाउ वान आइल्यान्ड भनिँदो रहेछ। यो हङकङका २६३ ठूला-साना आइल्यान्डमध्ये एक थियो। यो टापुका लागि पनि ग्रास आइल्यान्ड जाने पानीजहाजले नै सेवा प्रदान गर्दो रहेछ। को लाउ वान टापुमा केही यात्रुलाई ओराल्ने र चढाउने  कार्य सम्पन्न भएपछि जहाज पुनः ग्रास आइल्यान्डतिर सोझियो।

करिब ३०-३५ मिनेटको  पानीजहाज यात्रापछि ग्रास आइल्यान्ड (चिनियाँ भाषामा ताप मुन) फेरि पेरियरमा पुगियो।

समुद्रको किनारमा दुई तले घर, सानो बजार, केही रेस्टुरेन्ट र समुद्रका विभिन्न जीवलाई सुकाएर बेच्न राखेका सि फुड पसलहरू। हामीलाई पसलका साहुजीहरू सि फुड किनिदिन अनुरोध गरिरहेका थिए। हामी बायाँबाट ताप मुन होइ पोङ स्ट्रिट हुँदै उकालो लाग्यौँ।

नजिकै समुद्री देवी (तिन हाउ) को मन्दिर। यहाँ समुद्रमा माछा मार्नेहरूले जुनसुकै टापुमा पनि तिन हाउ देवीको मन्दिर स्थापना गरेका छन्।

कवि, चित्रकार र कार्यक्रमका संयोजक रमण गुरुङले हिँड्दाहिँड्दै एम्लिफायर (Amplifire) मा मोबाइलको ब्लु टुथ जोडेर गीत घन्काउन थाल्नु भयो। अहो! कस्तो रमाइलो वातावरण। हामी कर्णप्रिय गीतहरू सुन्दै हिँडिरह्यौँ।

सामान्य उकालो पार गरेपछि नागीझैँ लाग्ने रमाइलो ठाउँमा गाई-गोरुका बथान भेटिए। हामीलाई उनीहरूले स्वागत गरेझैँ लाग्यो। मेरा सहयात्रीहरू गाई-गोरुलाई पृष्ठभूमिमा पारेर भकाभक फोटो खिच्न थाले।

हङकङ सरकारले गाई-गोरुलाई ग्रास आइल्यान्डमा व्यवस्थापन गरेको रहेछ। ‘घाँसे टापु’ भए पनि गाईवस्तुका लागि लहलह घाँस देखिएन।

त्यहाँका प्रत्येक गाई-गोरुको कान छेडेर नम्बरसहितको ट्याग झुन्ड्याइएको रहेछ। मायालु अनुहार बनाएर यात्रुसँग खानाका लागि अनुनय गरेका जस्ता देखिन्थे। गाउँघरमा छँदा गाईवस्तुलाई चराएर हुर्के/बढेकोले उनीहरूलाई देखेर माया लाग्यो।

छतसहितको चौतारामा पुगेर झोला बिसायौँ। साझा शृङ्खलाका आयोजकले खानपिनपछि त्यहीँ कार्यक्रम गर्ने प्रस्ताव गरे।

बहिनीहरूले घरमै पकाएर ल्याएका विभिन्न स्वादिष्ट परिकार निकै स्वादले खायौँ।

हामीले खाइरहेका बेला गाईगोरु नजिक आइरहन्थे। उस्तै परे झ्याप्पै खानामा मुख गाड्न पनि पछि पर्दैनथे।

कालो बादलका झुण्डहरू आकासमा मडारिए पनि ग्रास आइल्यान्डमा पानी चुहिसकेको थिएन।

खानपिनपछि दक्षिण दिशामा रहेको सानो हरियाली थुम्कोमा केही समय घुमघाम गरेर औपचारिक कार्यक्रम सुरु गर्ने कुरा भएको थियो। त्यसैले केही साथी उकालो हिँड्न थाले। म पनि घ्याम्पे पेटलाई हल्लाउँदै पछि लागेँ।

उकालै भए पनि सिमेन्टेड भर्‍याङ भएकाले हिँड्नलाई सजिलो थियो। लुखुरलुखुर भर्‍याङ चढिरहेँ। बेलाबेला सुस्तरी चलेको बतासले श्वासप्रश्वास प्रक्रियाको गतिलाई शान्त पार्न मद्दत गरेको थियो।

म हिरिक्क हुँदै थुम्कोमा पुग्दा सहयात्रीहरू विश्रामस्थलमा आराम गरिरहेका थिए। केहीबेर आराम गरेर रमणीय ठाउँको खोजीमा अलिक अगाडि बढ्यौँ। तर, खासै घुम्ने ठाउँ नदेखिएकोले पुनः विश्रामस्थलमै फर्कियौँ।

हामी रमाइलो पनि गर्न आएकाले केही समय नाचगान गर्ने वातावरण बन्यो। विभिन्न गीतको ताल र लयमा नाच्दै, हाँस्दै साथीहरू रमाइलो गर्न थाले। मैले पनि घ्याम्पे भुँडीलाई यताउता हल्लाउँदै नाच्ने प्रयास गरेँ।

हाम्रो टाउकोमाथि मडारिरहेको कालो बादलले एक्कासी उच्च रूपमा पानी खसाल्न थाल्यो। हाम्रो नाचगान बिथोलियो।

केही समयपछि हामी बसेको थुम्कोमा पानी पर्न छाड्यो। आकाशमा सेता बादल हावासँग जिस्किन थाले। त्यहाँ पुनः पानी पर्ने कुनै संकेत थिएन। अनि हामी थुम्कोबाट हुरुरु  खाजा खाएकै स्थानमा फर्कियौँ।

कवि टिबि याक्खाले हङकङ साहित्यिक साझा शृङ्खलाको १३०औँ भागको औपचारिक कार्यक्रम सुरु गर्नु भयो। मैले पनि बोल्ने मौका पाएँ।

हामी हङकङमा रहेका साहित्यकारहरूले हङकङबारे संस्मरण/यात्रा संस्मरणको सँगालो प्रकाशन गरौँ, यसले हङकङको नेपाली साहित्यमा राम्रै कामको सुरुआत हुनेछ भन्ने प्रस्ताव राखेँ। अनि एउटा कविता पनि वाचन गरेँ।

पदयात्रा तथा साहित्यिक कार्यक्रममा उपस्थित अन्य कवि, साहित्यकार तथा लेखकहरूले पनि आफ्नो रचना वाचनसहित मन्तव्य राखे। त्यसपछि कार्यक्रमको समापन संयोजक रमण गुरुङले गर्नु भयो। यो हङकङको साहित्यिक कार्यक्रमको सन्दर्भमा ऐतिहासिक र अविस्मरणीय क्षण थियो।

कार्यक्रमको समापनपछि समुद्रको किनारमा रहेको ग्रास आइल्यान्डको निकै प्रख्यात स्थान ब्यालेन्स रक घुम्न गयौँ। जता हेर्दा पनि रमाइलोको मात्र अनुभूति हुँदा प्रकृतिको रचनाप्रति नतमस्तक भएँ।

ब्यालेन्स रकमा पुगेपछि विविध पोजमा फोटो खिच्यौँ। अब भने ग्रास आइल्यान्ड घुम्ने समय सकिएको जानकारी पर डाँडामा लुक्न लागेको सूर्यले दिइरहेको थियो।

अनि युङ सु भिलेज हुँदै पुनः ताप मुन पेरियरमा पुगेर केहीबेर पानीजहाजको प्रतीक्षामा बस्यौँ।

फर्कंदा पानीजहाजभित्र बहिनीहरूले बनाएर खुवाउनुभएको स्वादिलो चटपटे मुखमै झुन्डिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .