hongkong


ओलीले नै नाम बचाउन नसकेपछि ...


कमल पौड्याल
हङकङ, असार ११

वि.सं. २०३९ सालतिर अनेरास्ववियुको प्रारम्भिक पाठशालामा सहपाठीहरुसँग लेखक

हङकङकै आइडी कार्ड झन्डै त्यागेर लामै समय पश्चिम नेपालको एउटा जिल्लाको नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका मेरा एकजना मित्र पुनः निराश भएर हङकङमै फर्किएका छन्।

जर्मनी र जापानको सातो खाने हामी
शुरवीर नेपाली हौं संसारमा हामी
हाम्रो वास्ता यो गर्दैन सारै दिक्क लाग्छ
भारत सरकार मादल ठोक्छ नेपाल सरकार नाच्छ

किसानलाई जमिन बाँड जमिन्दारी तोड
धनीसँग पैसा खोसी कलकारखाना खोल
गरीबको भलो हुने शासन गर्नुपर्छ
यस्तो कुरा गर्नेलाई कम्युनिस्ट भन्छ
कालापानी नख्खु जेलमा सोझै हालिदिन्छ

नौ दश महिना शासन गर्दा महल बन्यो यिनको
पन्ध्र वर्ष जागिर खाने एक छाक खान्छन् दिनको
यो अन्याय खत्तम पार्न बालौं साथी राँको
गरिब चुसी मोज गर्नेलाई पारौँ एकै फाँको

नडराइ अघि बढौं जे जे पर्छ पर्छ
संसारमा सच्चा क्रान्ति गरिबले गर्छ
सबै चिज बाँडेर खाने, देशको पैसा विदेश नलाने

(स्व. केवलपुरे किसान वि.सं. २००९ असार)

प्रस्तुत कवितांशका कतिपय हरफ अझै सान्दर्भिक लाग्छन्, मलाई। अक्षर उप्काउन थालेदेखि यस्ता खाले कविताका हरफ म लय मिलाएर पढ्थें। अहिलेका राजनेतामध्ये कतिपय भूमिगतकालमा हाम्रो घर आउँथे, पिताजीलाई कोसेलीका रूपमा किताबहरू लिएर। पिताजीले पढ्ने लु सुन, म्याक्सिम गोर्की, राहुल सांस्कृत्यानका रचना, कार्ल माक्र्स, फ्रेडरिक एंगेल्सका फोटो भएका किताब मैले बुझ्दैनथें। बरु चीन सचित्र, सोभियत भूमि, तिब्बतमा अजंगका हेरफेरहरू, अहिलेका उत्तर कोरियन राष्ट्रपति किम जोङ उनका हजुरबुबा किम इल सुङका फोटो भएका फिक्का हरियो गातामा सुनौला अक्षरले लेखिएका किताब म पल्टाएर हेर्थें, नबुझे पनि।

अझ नेपाल–चीनमैत्री संघ र उत्तर कोरियन दूतावासले बनाएका रंगीन पोस्टकार्डहरू घरमा बग्रेल्ती थिए। उतिबेलाको मोहनविक्रम सिंहको मसाल, नेकपा (झापा) का मुखपत्र र पुस्तकहरू टन्नै थिए, घरमा। वनारसबाट तारिणीप्रसाद कोइरालाले सम्पादन गर्ने ‘तरूण’ पत्रिका पनि पिताजीलाई ल्याइदिन्थे, गाउँकै नेपाली कांग्रेसमा आस्था राख्नेहरूले।

सायद २०३२ सालको राजा वीरेन्द्रको राज्यभिषेकमा मेरो गाउँ धादिङ केवलपुरमा नेपाली कांग्रेससँग झुकाव राख्ने केहीका घरघरमा प्रहरीले खानतलासी गरे र उनीहरूलाई पक्रिएर थुनामा राखे, केही दिन। अनि बाबाआमाले उतिबेलाका प्रतिबन्धित किताबहरू तीन–चारवटा बोरामा राखेर घरपछाडि निगालाको झाङभित्र लुकाएको सम्झना आउँछ, अझै। त्यसपछि बाबा घर छाडेर केही दिन छिमेकी जिल्ला नुवाकोटको स्याङ्तान (तमाङ समुदायको एउटा थर) गाउँमा बस्न जानुभयो। यद्यपि हाम्रो घरमा खानतलासी गर्ने पुलिस भने आएन, त्यसबेला।

वि.सं. २०३७ तिर गोदावरीको किटिनी हाइस्कुल पढ्दै गर्दा ललितपुर जिल्लाका उतिबेलाका विद्यार्थी नेताहरू मधु चालिसे र मिठाराम शर्माले अनेरास्ववियुका विषयमा बताउँदै स्कुलको पर चउरमा बोलाएर सदस्य बनाइदिए। ‘अल्प विद्या भयंकरम्’ भनेझैं सतही बुझाइ थियो १५–१६ वर्षको उमेरसम्म।

पहिलोपटक ललितपुर जिल्ला स्तरीय अनेरास्ववियुको विद्यार्थी सम्मेलनमा सहभागी भइयो, सहपाठीहरू विष्णुहरि आचार्य, शम्भु आचार्यसँग। पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको सभाहल खचाखच थियो। विद्यार्थी गायकहरूले गीतार भिरेर यसरी गाउन थालेः

भारतीय विस्तारवादको नेपाल खाने दाउ
त्यो दाउलाई उल्टाइदिन जुटौं सबै आउ
राजबन्दी सब छाडिदे पञ्चे सरकार
हैन भने क्रान्ति गर्छौँ संघर्षको राँको बालेर

kamal2

गीतपछि लामो समय तालीको गडगडाहटले गुन्जियो हल। पालैपालो विद्यार्थी नेताहरूले जोशिला भाषण गरे। हाम्रो सिद्धान्त, विचार भनेको क्रान्तिबाट सामन्ती राज्यसत्ता विस्थापित गर्दै नयाँ नेपाल निर्माण गर्ने, न धनी न गरिब, न व्यक्तिगत सम्पत्ति, न ठूलो न सानो, सबैका लुगा एउटै, खाना एउटै, घर एउटै, न कसैको जात न भात। अझ अर्काले भ्लादिमिर इल्इच, लेनिन, माओत्सेतुङ, चे ग्वेरा, हो चि मिन्ह, मार्क्स, एङ्गेल्स, स्टालिनसम्मका महावाणी धाराप्रवाह सुनाए।

अमेरिकी साम्राज्यवाद, रुसी समाजिक साम्राज्यवाद, विस्तारवाद, क्षेत्रीय प्रभुत्ववाद, संशोधनवाद, नव उपनिवेशवाददेखि पञ्चायती सामन्ती राज्यसत्तासम्मको जग मक्किइसकेको छ, अब चाँडै नेपाल मात्र हैन, संसार नै कम्युनिस्टमय हुन्छ, मानौं काल्पनिक स्वर्गजस्तो हुन्छ भनेर भाषण छाँटे। कुरा सुनेर ठेट नेपालीमा भन्दा तिरिमिरी झ्याइँ भइयो। कल्पना गर्दै, एक्लै ओठ चलाउँदै घर फर्किएँ, साँझ।

यिनै खाले स्कुलिङ हुन्थ्यो, सिद्धान्त रटाइन्थ्यो अथवा भनौं पढाइन्थ्यो, त्यसबेला। यो रोगले मलाई पनि केही समय गाँज्यो, पछि रोगमुक्त भएँ अथवा मोक्ष प्राप्त गरें। अहिले पनि हचुवाका भरमा टीका भने लगाइदिन्छन्, साथीभाइहरूले। यिनै विश्वविद्यालयमा उतिबेला पढाउने पर्दा पछाडिका महागुरुहरू उही साम्राज्यवाद र विस्तारवादको आशीर्वादले सत्ता र भत्तामा पालैपालो लिप्त छन्, यतिबेला। सम्झिँदा पनि अचम्म लाग्छ।

क्रान्ति र जागरणका गीत, कविता लेख्ने पिताजी पनि जीवनको अन्तिम घडीमा निराश हुँदै भन्नुहुन्थ्यो, ‘के सुनियो, के पढियो, के लेखियो, के देखियो भोगियो!’

जातीय विभेदले संसारभन्दा धेरै पछाडि परेको दक्षिण एसिया, त्यसमा पनि नेपाल र भारत यसबाट बढी प्रभावित छन्। परम्परागत जातीय विभेद मेटिँदै जाँदा अर्को आधुनिक जातीय विभेद मौलायो। त्यो हो– ‘राजनीतिक जातभात’। छत्तीस सालमै मिलेर निर्दलीय पञ्चयाती व्यवस्थाविरुद्ध कांग्रेस र वामपन्थी एउटै कित्तामा उभिएका भए सायदै अर्को दश वर्ष कुर्नुपथ्र्यो, प्रजातन्त्र प्राप्त गर्न। मृत्युको अन्तिम घडीमा पनि पानीभन्दा प्रजातन्त्र माग्ने श्रद्धेय नेता तथा साहित्यकार बीपी कोइरालाले कमसेकम आफ्नै जीवनमा प्रजातन्त्र महसुस गर्न पाउँथे!

राजनीतिक जातपातकै छोइछिटोले कांग्रेस र वामपन्थीहरूले पञ्चायती तन्त्रभन्दा आआफैलाई बढी उचनीच देख्न थाले। कांग्रेस र कम्युनिस्टबीच एकअर्काको सास गनाउन छाड्नेबितिक्कै ०४६ सालमा प्रजातन्त्र आयो। अरू त अरू ‘राजा कांग्रेस भाइभाइ, अंशबन्डाको झगडालाई, संशोधनवादी माइला दाइ (पुष्पलाल श्रेष्ठ)’ भनेर तुक्का बनाउँथे, कम्युनिस्टहरू। कम्युनिस्ट संसारका कतिपय उर्वरभूमिमा अचेल बिउ पाउन पनि मुस्किल पर्दै जान थालेको आभास हुन्छ।

केही वर्षअगाडि मात्रै भारतीय नाकाबन्दीविरुद्ध दरो अडान लिएर प्रसिद्धी कमाएका थिए, अहिलेका कम्युनिस्ट प्रधानमन्त्रीले। हेर्दाहेर्दै त्यो नाम बचाउनु त कता हो कता, यतिबेला उनको राजनीतिक लोकप्रियताको ग्राफसमेत ओरालो लागेको लाग्यै छ। यो मेरो बुझाइ हो, यसमा सबै सहमत हुनैपर्छ भन्ने छैन।

सन् ९० को दशकमा मेरोजस्तै अनुभव भएका मानिसको यौटा ठूलो समूह हङकङमा बसाइँ सरेर आएको छ। काम सकेपछि सेभेन इलाभेन स्टोर, नेपाली पसल, रेस्टुरेन्ट, बार, कहीँ कतै सभा, समारोहरूमा जमघट भयो कि राजनीतिक विचार, विमर्श सुरू भइहाल्छ। नेपालका लगभग सबै ठूला पार्टीका भ्रातृ संगठन छन्, हङकङमा। राजनीतिक रूपमा सचेत हुनु राम्रो कुरा हो। तर अबको जमानामा कुनै पनि पार्टी वा नेताको अन्धभक्त हुनु हुँदैन भन्ने मान्यता राख्छु म। पार्टी वा नेताका गल्तीलाई गल्ती र सहीलाई सही भन्ने हिम्मत कार्यकर्ताले राख्न सक्नुपर्छ। तब मात्र पार्टी उँभो लाग्छ। नेताहरू आउँदा आआफ्नै पार्टीका कार्यकर्ताहरूले कार्यक्रम आयोजना गर्छन्। बढीभन्दा बढी नेताले नाम काढेर बोलाउँछन्। त्यतिसम्म मात्र हो।

हङकङ या विदेशबाट नेपाल गएर भविष्यमा कोही कतै सभासद् या मन्त्री बन्ने कुनै सम्भावना पटक्कै देख्दिनँ म। यद्यपि ठूलै धनराशि पार्टीलाई चन्दा चढाएर गर्यो भने मात्रै हो। हङकङकै आइडी कार्ड झन्डै त्यागेर लामै समय पश्चिम नेपालको एउटा जिल्लाको नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका मेरा एकजना मित्र पुनः निराश भएर हङकङमै फर्किएका छन्।

विस्तारवाद, क्षेत्रीय प्रभुत्ववाद, साम्राज्यवाद, सामाजिक साम्राज्यवाद, नव उपनिवेशवाद, राष्ट्रवाद यिनै शब्दका सहारामा राजनीति गर्दै ‘सफल’ भएकाहरूले अहिले ती शब्दलाई शब्दकोशको संग्रहालय (म्युजियम) मा थन्क्याइसकेका छन्।

हङकङमा रहेका राजनीतिमा सरोकार राख्ने वा नराख्ने लगभग सबैको शरीर यहाँ भए पनि मन भने नेपालमै छ, हाम्रो पुस्ताको। यति भए पुग्छ अथवा पुगे पनि जान नसक्ने र यहाँ पनि खुसीसाथ बाँच्न नसक्ने। विपना र सपनामा आफ्नै गाउँठाउँ सम्झिरहेका हुन्छन्, सबैले।

अस्ति मात्रै एकजना भाइले भने, ‘दाजु २० वर्ष भैसक्यो सपनामा तिर्खा लाग्दा सेभेन इलेभेनको मिनरलवाटर हैन, गाउँकै कुवा र धारो देख्छु हो सधैं।’

अर्काले थपे, ‘सपनामा सर्पले लखेट्दा पनि नेपालकै सर्प देखिन्छ गाँठे!’

हो, यो पुस्ता यौटा पुल भएर हङकङमा बसेको छ, जसको सामीप्यता या जग भनौं दुवैतिर छ। हरेक दिनको खबरमा नेपालको राम्रो मात्र सुन्न चाहन्छन्, यिनीहरू।

अस्ति कुरै कुरामा एकजना मेरै समकालीनेहरू यौटा कार्यक्रममा धेरै बेर गफिए, विगत सम्झिए अनि वर्तमानसँग निराश हुँदै एकजनाले भने, ‘दाइ, यो कम्युनिस्ट भनेको त झन् गरिबलाई सपना बाँड्ने पो रै’छ, हुने–नहुने!’

टेबलमा बसेका सबैले हात पड्काए। उनीहरू सबै कम्युनिस्ट पाठशालाकै पूर्व विद्याथीहरू थिए।

उमेरले ५ दशक काटिसक्दा ‘बुझ्यो कठिन, झन् बुझ्यो झन् कठिन’ भनेझैं भएको छ। को खाँटी कम्युनिस्ट, को सिद्धान्तनिष्ठ, को संशोधनवादी, को असल, को गद्धार, को देशभक्त, को देशद्रोही, को साखिने कम्युनिस्ट, को विकासे?

अहिलेसम्मको मेरो अनुभवले सोच्दा कताकता कम्युनिस्ट भनेको सुनिने र पढिने एकादेशको दन्त्यकथा मात्रै पो हो कि जस्तो लाग्न थालेको छ। अनि मचाहिँ कम्युनिस्टलाई कवि डा. विजय सुब्बाको ‘जनजाति लोकतन्त्र र विजय सुब्बा’ शीर्षकको एउटा पुरानो कवितामा उल्लेख यो अंशको आँखाले हेर्न थालेको छु, अचेल।

ए सुन है,
‘कम्युनिस्ट’ भनेको त नाम पो हो, राख्न पाइन्छ
गिरिजाप्रसादले कम्युनिस्टप्रसाद कोइराला राखे हुन्छ
के धनीको नाम ‘गरिबदास’ छैन र!
के आखाँ नदेख्नेको नाम ‘नेत्रबहादुर’ छैन र!
यति जाबो कुरा नबुझेर
कम्युनिस्ट हुन खोज्छस् जाँ ...
सिद्धान्त बोली र व्यवहारमा एकरूपता खोज्छस्
लट्ठक सधैं हार्ने नै भए पनि
तेरो नाम ‘विजय’ हैन?

 

असार ११, २०७६, बुधबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors