हङकङका ती ज्याद्रो ‘वान म्यान’ पत्रकार

हङकङका ती ज्याद्रो ‘वान म्यान’ पत्रकार

डा. अनिल राई
कात्तिक १२, २०७९ शनिबार ७:२, हङकङ

सन् २०१६ को अन्त्य तिर हुनुपर्छ, डढेलोभित्रको सतिसाल नामक डकुमेन्ट्री देखाउने मेसोमा जनवादी गायक रामेशलाई हङकङ ल्याउने चाँजो मिलाउने सल्लाह गर्न हामी साङ्घाइ स्ट्रिटस्थित इन्द्र वनेम दाइको अफिसमा थियौं। हङकङ हिमायतीका केही सदस्यहरु थिए, म त यसै त्यहाँ पुगेको थिएँ। हङकङमा विधान परिषदको चुनावको दिन थियो। सायद हङकङ हिमायती समूहले लगानी गरेर बनाएको यो डकुमेन्ट्रीको शोबाट उठेको पैसा आफूले नलिए पनि लगानी गर्नेहरु कसैले आफ्नो लगानी फिर्ता लिन चाहेमा केही रकम भए पनि फिर्ता दिनुपर्छ भन्ने इन्द्र दाइको कुरा थियो भने किसन दाइ चाहिँ पैसा फिर्ता होइन उठेको रकम केही राम्रो काममा लगाउने कुरा गर्दै हुनुहुन्थ्यो। 

किसन दाइ र इन्द्र दाइ एकदम मिल्ने मात्र होइन, पर्दा खरो वादविवाद पनि गर्नुहुन्थ्यो। ठूलो विवाद पर्यो दुई जनाको, हेर्ने हामी केही शान्त भएर बस्नुशिवाय अर्को उपाय रहेन। विवाद केही मत्थर पार्ने प्रयास मैले गरेँ जस्तो लाग्छ। अन्तमा कुराको निचोड नपुगी समूह छिन्नभिन्न भयो। वनेम दाइ र म चुनावी माहोल हेर्न बुथतिर लाग्यौं। केही छिनपछि किसन दाइको फोनबाट मेरो हाते फोनमा घण्टी बज्यो। केही अप्ठ्यारो मानेको र हाँसो मिश्रित स्वरले, ‘अघि अलिक चर्को नै भयो है?’ भन्नुभयो। स्वभाव अनुसार छोटो कुरा गर्नुभयो र फोन राख्नुभयो। हाँस्दै सँगै हुनुभएको वनेम दाइलाई यो वार्तालाप सुनाएँ। किसन दाइको स्वभाव त्यसरी फोन गरेर अप्ठ्यारो मान्ने नभएको भनेर आश्चर्य मान्नुभयो।  

वामपन्थीबाट पहिचानको राजनीति 
वनेम दाइको भनाइ मान्ने हो भने पञ्चायती व्यवस्था हुँदा हाइस्कुल पढिरहेका किसन दाइको संगत पञ्चायतको पक्षपोषण गर्ने राष्ट्रवादी विद्यार्थी मण्डलतर्फ झुकाव भएका साथीहरुसँग थियो रे। हाँसोयुक्त लवजमा किसन दाइ त्यो कुरा वनेम दाइलाई सुनाउनुहुन्थ्यो रे! हाइस्कुल सक्ने बेलादेखि वामपन्थी विद्यार्थी धारतर्फ लाग्नुभएको वहाँ २०४२-४३ सालतिर अनेरास्ववियुमा प्रवेश गर्नुभयो। जुलाई १, १९९७ मा बेलायतले आफ्नो उपनिवेश छोड्नुअघि हङकङमा जन्मेका भूपू ब्रिटिश गोर्खाका सन्तान र उनीहरुको परिवारलाई हङकङमा स्थायी बसोबास दिने नीति लिएपछि धेरै नेपालीहरुझैँ उहाँ हङकङ सहर आउनुभयो। हङकङ आएर पनि आफ्नो राजनीतिक आस्था रहेको नेकपा एमालेको प्रवास कमिटीमा रहेर लामो समय काम गर्नुभएको रहेछ। 

माओवादी सशस्त्र द्वन्द्व सुरु भएपछिको अवस्थामा सुषुप्त रहेको पहिचान र समानताको राजनीतिक मुद्दा सबल रुपमा उठ्न सुरु भएको मानिन्छ। त्यही मुद्दालाई टेकेर एमालेमा पनि एउटा समूह विद्रोह गर्ने मुडमा देखियो। विसं. २०६२-६३ को जनआन्दोलन भएर नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भएर संवैधानिक राजतन्त्रबाट मुलुक गणतान्त्रिक व्यवस्थामा गएको समय थियो। विशेष गरी पिछडिएको र पुरानो व्यवस्थामा मौका नपाएका जात-जातिहरुले आफ्नो हक-अधिकारको लागि जोडतोडले आफ्नो माग उठाएको अवस्था थियो। तत्कालीन उपाध्यक्ष अशोक राई समूह विद्रोह गरी पहिचानको राजनीतिमा हाम फाल्दै संघीय समाजवादी पार्टी र पछि उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम, नेपालसँग एकता गरी संघीय समाजवादी फोरम, नेपाल बनायो। किसन दाइले पनि ती पार्टीको प्रवास कमिटी हाँक्नुभयो। भन्नेहरुले मधेशीहरुको पार्टीमा गयो भनेर भने, तर उहाँ आफ्नो ‘कन्भिक्सन’मा अडिरहनुभयो र पहिचानको मुद्दालाई बोकिरहनुभयो।

हङकङमा नै रहेर पहिचानवादी समूह बनाई तत्कालीन उपप्रधानमन्त्री केपी शर्मा ओली चीन जाने मेसोमा हङकङ आउँदा आफ्नो माग उठाएर ज्ञापनपत्र बुझाउन पनि उहाँले अगुवाइ गर्नुभएको थियो। विभिन्न समयमा नेपालबाट आउने विभिन्न पार्टीका नेताहरुलाई पहिचानको मागमा लबी गर्ने मात्र होइन, विरोधको कालो झण्डा देखाउन प्रत्यक्ष वा परोक्ष रुपमा लाग्नुभयो र अन्तसम्म लागिरहनुभयो।

जनजाति महावाणिज्यदूत ल्याउने एकसूत्रीय माग 
नेपाली समुदायमा जनजातिहरुको बाहुल्यता रहेको हङकङमा अवस्थित नेपाली महावाणिज्यदूतावासमा जनजाति महावाणिज्यदूत ल्याउन वहाँले भरमग्दुर प्रयास गर्नुभयो र माग पुरा नभइन्जेल लागिरहनुभयो। महावाणिज्यदूतको रुपमा कमलप्रसाद भट्टराईलाई नेपालबाट पठाइँदा वहाँ रुष्ट देखिनुहुन्थ्यो। सुरुवातमा भट्टराईलाई हङकङका नेपालीहरुको कार्यक्रममा निम्त्याइएको थिएन। धेरै समयपछिको भेटमा गर्व र घमण्ड मिश्रित लवजमा किसन दाइले भट्टराईलाई, ‘म किसन राई हो। हङकङको धेरैजस्तो संस्थाको नेतृत्व गरिसकेको हुँ र लगभग बीस प्रतिशत संस्थामा म सदस्य छु’ भनेर भन्नुभएको थियो रे! 

केही वर्षपछि भट्टराई आफ्नो कार्यकाल सकेर नेपाल फर्किने संकेत पाएपछि किसन दाइ फेरि ‘जनजाति महावाणिज्यदूतको एकसूत्रीय माग’ लिएर नेपालतिर दौडधुपमा लाग्नुभयो। नेपालका विभिन्न मन्त्रालय र शक्ति केन्द्र धाएर यसपटक आफ्नो माग पुरा गरिछाड्नुभयो। 

उहाँ केही जडता मात्र होइन हास्यरसले पनि भरिपूर्ण पनि हुनुहुन्थ्यो। कमलप्रसाद भट्टराई महावाणिज्यदूत भएर आएपछि, ‘राई त राई तर भट्टराई आएछ’ भन्नुहुन्थ्यो। यस्तै परिहासयुक्त फेसबुक पोष्टहरु लेख्न वहाँ अब्बल हुनुहुन्थ्यो! बेला-बेला पहिचानविरोधीहरुलाई मात्र होइन, आफ्नै पार्टीकाहरुलाई लक्षित गर्दै फेसबुक स्टाटसहरु पोष्ट गरिरहने बानी थियो। आफ्नो एक सूत्रीय माग पुरा भएकोमा गर्व महसुस गर्नुहुन्थ्यो।

किरात राई यायोक्खा, हङकङको संस्थापकमध्ये एक किसन दाइले किराया हङकङ स्थापना गर्न ठूलो मेहनत गर्नुभएको छ। राईहरुको सामूहिक चुला घर खरिद गर्ने काममा आफूले सकेको गर्नुभएको छ। जातीय संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुमा वहाँको गरिमामय उपस्थिति हुने गर्दथ्यो। हङकङमा स्थापना भएका धेरै नेपाली संघ-संस्थाहरुको विधान लेख्न वा त्यसमा सर-सल्लाह दिन वहाँको भूमिका छ भन्दा अतिशयोक्ति हुन्न जस्तो लाग्छ। नेपालको जातीय व्यवस्थाको कारण केही जात र समूहको मात्र हालीमुहाली रहेकोले अबको समयमा समान हक-अधिकार हुनुपर्छ भन्ने कुरा जोडतोडले उठाउने वहाँ हङकङमा बसोबास भए पनि नेपाली राजनीति छोड्न सक्नुभएको थिएन। जातीय मुद्दा उठाउँदा केही जडताजस्तो देखिए पनि हरेक समुदायका व्यक्तिहरुसँग सौहार्द्र सम्बन्ध भएको देखिन्थ्यो।

‘वान म्यान’ पत्रकार
किसन दाइ हङकङको नेपाली समुदायमा एक जना ‘होलटाइमर’ पत्रकार हुनुहुन्थ्यो। 'एभरेष्ट दैनिक' बाट साप्ताहिक हुँदै पाक्षिक बन्यो। एभरेष्टमा पहिचानको मुद्दा, नेपाली राजनीति, हङकङको राजनीति, हङकङको नेपाली समुदायमा हुने कार्यक्रमहरु, हङकङको नेपाली व्यवसाय, नेपाली कला, साहित्य र सिनेमाले उचित ठाउँ पाएकै हुन्थ्यो। पत्रिकामा आउने केही सरकारी र केही स्थानीय नेपाली विज्ञापन नै किसन दाइको पत्रिकाबाट आउने मुख्य आयश्रोत थियोजस्तो लाग्छ। केही सय ग्राहक पनि थिए पत्रिकाका। जो सायद दाइको पत्रकारिताप्रतिको लगाव देखेर ग्राहक बनेका थिए। 

पत्रिका प्रकाशनबाट हुने कम आय र त्यसमा पर्ने दु:ख अथाह हुँदाहुँदै पनि किसन दाइको शिर सधैं ठाडो नै रह्यो। हुनसक्छ अरुलाई ठगेर वा जालझेल नगरिकन हुने थोरै कमाइ नै भए पनि उहाँ सन्तुष्ट हुनुहुन्थ्यो। हङकङजस्तो महँगो सहरमा भाडा तिरेर पत्रिकाको कार्यालय पनि स्थापना गर्नुभएको थियो। नेपाल र हङकङ दुवै ठाउँ हुँदा डम्बरकृष्ण श्रेष्ठ र अरु केहीले वहाँलाई साथ-सहयोग गरेका थिए। कन्सल्टेन्सी, बन्द-व्यापार, हुण्डी मात्र होइन कमाउनको लागि हङकङमा कन्स्ट्रक्सन जस्तो शारीरिक दु:ख हुने ठाउँ हुँदा-हुँदै पनि किसन दाइ त्यता तिर लागेको देखिएन। उहाँको चाहना नभएर हो वा अरु नै हो यसै भन्न सक्दिनँ।

सुन्नमा आए अनुसार नेपाली समुदायभित्रको गलत कार्यमा संलग्नहरुको भण्डाफोर गरेर समाचार लेखेकै कारण वहाँलाई कयौं पटक धाक-धम्की मात्र आएन, केही पटक त सांघातिक हमलासम्म भए। तर उहाँ टसमस हुनुभएन। अपहरणको शैलीमा लगेर धम्की दिंदा अब उप्रान्त ती कुत्सित तत्व विरुद्ध केही नलेख्ने कबोल गरेर त आउनुहुन्थ्यो, तर भोलिपल्ट फेरि तीविरुद्ध लेख्ने आँट गर्नाले उहाँको निडर छविको एउटा छाप हङकङको नेपाली समाजमा थियो र अझै पनि छ।

खोइ कुन लगावले हो आफ्नो पत्रिका छापिएपछि आफ्नो काँधे झोला र हाते झोलाभरि पत्रिका बोकेर जोर्डन र युनलङको नेपाली पसल चहार्दै पत्रिका छोड्ने काम गर्नुहुन्थ्यो। ढिलो सुत्ने र ढिलो नै उठ्ने ‘निशाचर’ स्वभावको किसन दाइको कामप्रतिको माया अनौठो थियो। मैले पनि वहाँ प्रकाशक तथा सम्पादक रहेको एभरेष्ट साप्ताहिकमा लगभग तीस-चालिस वटा लेखहरु लेखेँ। स्वास्थ्य, शिक्षा, राजनीति, समाज, घुमफिरलाई विषय बनाएर लेख्ने मेरो प्रयासलाई वहाँले सधैं उचित स्थान दिनुभयो। भेट हुँदा ‘लु एउटा लेख लेखेर पठाउँ त’ भन्नुहुन्थ्यो। हाम्रो सम्बन्ध धेरै औपचारिक र केही अनौपचारिक रह्यो भन्ने मेरो मूल्याङ्कन हो। 

हङकङको नेपाली कार्यक्रमहरुमा अतिथिको रुपमा उपस्थित हुँदा पनि क्यामरा लिएर फोटो खिची आफूले प्रकाशन गर्ने, पत्रिकामा उचित स्थान दिने गर्नुहुन्थ्यो। साप्ताहिकमा हङकङको नेपाली समाजको गलत तत्वहरुको बारे आफूलाई लागेको कुरा लेखेर कहिलेकाहीँ सनसनी मच्चाइदिनुहुन्थ्यो। समाचारको विषयलाई लिएर नेपाली समाजमा लामो समयसम्म कुरा चल्थ्यो। वहाँको समाचारको श्रोतहरु धेरै थिए। श्रोतहरुलाई गोप्य राख्ने धर्म निभाउने वहाँको बानी थियो। समाचार लेखेको विषयलाई लिएर हङकङको अदालतमा मुद्दासम्म खेप्नुभयो। विभिन्न संघ-संस्थामा आबद्ध भए पनि किसन दाइ पत्रकारको आफ्नो 'लक्षमणरेखा' प्रति सधैं सचेत हुनुहुन्थ्यो।

नेपाली कला-साहित्यका एक अभिभावक
नेपालमा भएका हरेक भाषाको जगेर्ना गर्नुपर्छ भन्ने वहाँ हङकङमा नेपाली भाषाको अभिभावक पनि हुनुहुन्थ्यो। नेपाली साहित्य सप्ताह आयोजना गर्न भूमिका खेल्नुहुन्थ्यो। वार्षिक रुपमा नेपाली साहित्यसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्नुहुन्थ्यो। अप्रिल १५, २०१८ मा ‘पारिजात स्मृति दिवस’ को अवसरमा लेखक खगेन्द्र सङ्ग्रौला र केही समय पछि लेखक सीके लाललाई ल्याएर कार्यक्रम आयोजना गराउन मुख्य भूमिका खेल्नुभयो। त्यसअघि र पछि पनि अनगिन्ती यस्ता कार्यक्रमहरु आयोजना गर्नुभयो।

‘ट्राभलिङ किम्फ’ मार्फत नेपाली डकुमेन्ट्रीहरुलाई हङकङ ल्याएर नेपाली पारखीहरुलाई भिन्न स्वाद पस्किन पनि वहाँले भूमिका खेल्नुहुन्थ्यो। सिनेमा देखाउने, कलाकारहरु हङकङ ल्याएर कार्यक्रमहरु आयोजना गर्ने, नेपाली नेताहरुलाई हङकङ ल्याउने विषयमा सल्लाह चाहिए अधिकांशले किसन दाइसँग सल्लाह लिएकै हुन्थे। वहाँ एक ‘रिसोर्सफुल’ व्यक्ति हुनुहुन्थ्यो।

एक घोर पारिवारिक र असल जीवनसाथी
अप्रिल २५, २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि हङकङमा हामी उठ्ने छौं फाउन्डेसनले सहयोग उठाउने हेतुले विभिन्न हाइकिङ कार्यक्रमहरु आयोजना गर्थ्यो। त्यहीमध्ये एक हाइकिङ कार्यक्रममा किसन दाइ पनि जानुभएको थियो। हङकङको लायन रकमा आयोजना भएको हाइकिङमा किसन दाइले लेडिज गगल्स लगाएर र लेडिज ब्याग बोकेर आउनुभएको थियो। मैले जिस्काउँदै, ‘भाउजुको चस्मा र झोला बोकेर आउनुभयो कि के हो दाइ’ भनेर जिस्क्याएँ। सहमतिमा टाउको हल्लाएर हाँस्दै, ‘तिमीले त थाहा पायौ त हौ!’ भन्नुभयो। 

शोभा भाउजुलाई मैले एकाधपल्ट देखेको बाहेक त्यस्तो गफ भएको छैन। तर, भेटघाट हुँदा किसन दाइले शोभा भाउजुको बारे सधैं सम्मान साथ कुरा गर्नुहुन्थ्यो। ‘दाइको एरेन्ज म्यारिज कि लभ म्यारिज हो’ भनेर एक पटक सोधेको याद छ। ‘तिम्रो भाउजुसँग मैले त लभ म्यारिज पो गरें त हौ’ भनेर उत्तर दिनुभएको थियो। केही मानेमा अव्यवस्थित दाइको जीवन भाउजुले गर्दा नै व्यवस्थित भएको कुरा इन्द्र वनेम दाइले मलाई बारम्बार सुनाउनु भएको छ। हङकङ आएपछि दाइको निश्चित मासिक आय भएको जागिर वा व्यवसाय नभएको अवस्थामा शोभा भाउजुले आफ्नै व्यवसाय गरेर घर चलाउन ठूलो भूमिका खेल्नुभएको थियो। छाना र खानाको लागि चिन्ता गर्न नपर्ने अवस्था सिर्जना भएपछि दाइ निस्फिक्री हङकङको नेपाली समाजमा खट्न सक्नुभयो। आफ्नो छोराहरु अरिम र अनुज बेलायतमा अध्ययन गरिरहेको सुनाउनुभएको थियो। आफ्नो ससुरालीको कुरा गर्दा पनि वहाँ सधैं सम्मान भाव प्रकट गर्नुहुन्थ्यो। आफ्नो कान्छा छोरा जन्मिँदा ‘कान्छाको बाउ’ भनेर साथीहरुले नाम राखिदिँदा, ‘यो कान्छा होइन, माइला हो’ भन्नुहुन्थ्यो रे! त्यसैले मिल्ने मित्रहरुले केही समय वहाँको नाम ‘माइलाको बाउ’ राखिदिएका थिए रे!

आफ्नो परिवारलाई औधी माया गर्ने तर नेपाली समाजको लागि अहोरात्र खटिने किसन दाइले परिवारलाई समय दिन सक्नुभयो वा भएन त्यो वहाँको परिवारले अनुभव गरेको कुरा हुनसक्छ।

हङकङको नेपाली समाजको अगुवा
‘हङकङका धेरै नेपाली संघ-संथाहरुको जन्मदाता किसन दाइ नै हो’ भनेर कसैले भन्छ भने त्यो सत्यभन्दा धेरै टाढा हुँदैन। वहाँले स्थापना गर्न मुख्य भूमिका खेल्नुभएको वा संलग्न हुनुभएको संस्थाहरु धेरै छन्। किराया हङकङ, नेपाल पत्रकार संघ हङकङ, नेपाल आदिवासी जनजाति महासंघ हङकङ, एनआरएनए हङकङ, धरान-हङकङ मञ्च लगायत मुख्य संस्था मात्र नभएर अरु पनि धेरै संस्थाहरुको नाम किसन दाइको नाम बिना अधुरो नै हुन्छ। 

आफू हुर्केको सहर भएर पनि होला धरान प्रति वहाँको अगाध प्रेम थियो। धेरै संस्थाहरुमा नेतृत्वदायी भूमिकामा पनि रहनुभयो। किराया हङकङमा दाइ पनि संलग्न हुनुभएर बसाउनु भएको थितिको कारण यो संस्थाको नेतृत्व गर्ने र भावी अध्यक्षहरुको ‘लाइन’ व्यवस्थित भएको जस्तो लाग्छ। कमसेकम किराया बेलायतमा अहिले भएको जस्तो भाँडभैलो किराया हङकङमा छैन भनेर ढुक्क साथ भन्न सकिन्छ।

हङकङमा नेपाली संस्थाहरु धेरै भयो भन्ने मेरो कुरा रहन्थ्यो। निश्चित मुद्दा र उदेश्यको लागि विभिन्न संस्थाहरु खोल्नुपर्छ र खोलिन्छ भन्ने वहाँको कुरा हुन्थ्यो। ढिलो सुत्ने र ढिलो उठ्ने वहाँ नेपालीहरुको मृत्यु हुँदा बिहानै उठेर ‘हुङहम फ्युनरल पार्लर’मा दिइने अन्तिम बिदाइमा हर-हमेसा सामेल हुनुहुन्थ्यो।

किसन दाइले जत्तिको हङकङको नेपाली समाज चिन्ने व्यक्ति हङकङको नेपाली समाजमा अब सायदै होला। समाजमा रहेको हरेक व्यक्तिको क्षमता वहाँलाई थाहा थियो र त्यसको सही सदुपयोग गर्न सक्ने अचम्मको क्षमता वहाँमा थियो। पहिचानको मुद्दा उठाउँदा साथ लिनुपर्ने समूह, सामाजिक मुद्दा उठाउँदा कोसँग सहकार्य गर्ने, साहित्यसँग सम्बन्धित कार्यक्रम गर्दा साथ लिनुपर्ने समूहहरु होस् वा अरु नै कुनै काम होस् वहाँलाई व्यक्ति र समूहहरुको सही पहिचान थियो। अनन्य मित्रहरु नबनाउने स्वभावको दाइ कहिलेकाहीँ आफ्नै मित्रहरुलाई अचम्मित पार्ने निर्णय र अडान लिनुहुन्थ्यो। उहाँ सबैका हुनुहुन्थ्यो, तर कसैका निजी हुनुहुन्न थियो!

उहाँका विरोधीहरु पनि अगाडि नतमस्तक हुन्थे। मैले सुने अनुसार आफूलाई साङ्घातिक हमला गर्छु भन्नेहरुको अगाडि नै गएर ‘छाती थापेर’ आक्रमण गर्न चेतावनी दिएर दुश्मनहरुलाई नै टवाल्ल पारिदिनुहुन्थ्यो रे! हङकङको नेपाली समाजमा वहाँको बारे केही किस्सा र ‘दन्त्यकथा’ प्रचलित थिए, र अझै पनि छन्। कतिपय अवस्थामा उहाँको अटेरी स्वभावको ख्याल राखी जिस्काएर कहिलेकाहीँ मित्रहरुले उहाँलाई ‘साँढे’ पनि भनेको सुनेको छु। हुन पनि दाइ एक ज्याद्रो मान्छे पनि हो। कार्यक्रमहरुमा औपचारिक हुने किसन दाइ सामान्य भेटघाटमा भने अनौपचारिक बन्नुहुन्थ्यो।

आफ्नो मूल्य र मान्यतासँग हर-हमेशा सम्झौता नगर्ने उहाँ पहिचानको मुद्दा उठाउँदा कहिलेकाहीँ अलिक जातिवादी पनि देखिनुहुन्थ्यो। पहिचानवादीहरुलाई समेटेर आन्दोलन अघि बढाउँदा वा नेतृत्व गर्दा त्यसो गर्नु आवश्यक थियो पनि होला। हङकङ सरकारले दिने ‘चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटी सर्भिस’ नामक सम्मान पत्र सन् २०२१ मा लिनुभयो। सायद नेपाल सरकारले दिने जनसेवाश्री पदक पनि पाउनुभयो। हङकङे ‘सम्मान पत्र’ बारे हङकङेली नेपाली समाजमा त्यति राम्रो छाप छैन। यो पाउनेहरु केहीलाई छोडेर अधिकांशले आफ्नो क्षमताभन्दा पनि शक्तिको चाप्लुसी गरेर पाएको भनेर आरोप लगाउनेहरु पनि प्रशस्तै भेटिन्छन्। हङकङको नेपाली समाजमा आफ्नै इज्जत र स्थान भएको किसन दाइले त्यो ‘सम्मान’ लिनुहुन्थ्यो वा हुन्नथ्यो म यसै भन्न सक्दिनँ।  

हङकङे नेपाली समाजमा धेरै योगदान गरेका, यो समाजमा भिजेका र समाजको लागि केही गर्नुपर्छ भन्ने सोचका किसन दाइ अघिल्लो वर्षको अन्त्यमा नेपाल जानुभएको थियो। नेपालको रमणीय ठाउँहरु घुम्नुभएको कुरा सामाजिक संजालबाट थाहा भइरहेको थियो। नेपालका सुन्दर ठाउँहरु घुम्ने सिलसिलामा नै वहाँको असामयिक निधन भएको खबरले हङकङको नेपाली समाज स्तब्ध भयो। यो दुखद खबरले धेरैको आँखा रसाए। धरानमा भएको वहाँको शवयात्रामा मानिसहरुको उल्लेख्य भिड देखियो। हङकङमा पनि सम्झनामा श्रद्धाञ्जली सभाहरु भए। धेरैले माया गर्ने किसन दाइ सधैंको लागि अस्ताएउनुभएको थियो। हङकङको नेपाली समाजले सधैंको लागि एक अभिभावक गुमायो। ‘हुनुहुन्छ’ बाट ‘हुनुहुन्थ्यो’ लेख्नुपर्दा मन भारी भएको छ। किसन दाइको मृत आत्माले शान्ति पावोस्। यदि भनिएजस्तो ‘स्वर्ग’ भए त्यहाँ नै तपाईंको बास होस्।

भावपूर्ण श्रद्धाञ्जली किसन दाइ! 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .