हङकङ सरकारले कोभिड नियन्त्रण गर्न तीन साता क्वारेन्टिन बस्नुपर्ने नियम बनाएकोले गाउँमा बिरामी आमा भेट्न पाइरहेकी थिइनँ। पछिल्लो समय क्वारेन्टिन समय एक सातामा झारेपछि २६ अप्रिलमा आमा भेट्न नेपाल उडेँ। साथमा, नेपाल पुगेपछि केही गीत रेकर्ड गर्ने योजना बनाएकी थिएँ।
गृहजिल्ला पाल्पा पुगेपछि माइत र घर गर्दैमा समय बितिरहेको थियो। एकदिन प्रख्यात गायक दाजु आनन्द कार्की र नब्बेको दशकका ‘ह्यान्डसम’ अभिनेता धिरेन शाक्यसँग काठमाडौँमा भेट भो। आनन्द दाइले ‘बहिनी, मसँग एउटा राम्रो गीत छ, अरुले मागिरहे पनि मैले दिएको छैन, गर्ने हो?’ भन्नु भो। गीत सुनेँ। आनन्द दाइ र साधना सरगमले गाएको सिर्जना मिठो लाग्यो, हुन्छ भनेँ।
पाल्पाको पर्यटनमा पनि योगदान पुग्ने हुनाले गीत नेपालको ताजमहलको रुपमा चिनिने पाल्पामा रहेको रानीमहल दरबारमा सुटिङ गर्ने सल्लाह भयो। धिरेन दाइ पनि पाल्पाकै भएकोले हामी दुवैले मोडलिङ गर्ने भयौं।
गीत छायांकन सकेर गएको साता (१६ जुलाई) मा आनन्द दाइको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गर्यौँ। गीतबाट राम्रो प्रतिक्रिया आइरहेको छ। एक सातामै एक लाखभन्दा बढीले हेरिदिनुभएको छ। अरुले गीत ‘बुस्ट’ गरेर चलाउँछन् भन्ने सुनेको छु तर हामीले अहिलेसम्म ‘बुस्ट’ गर्न एक रुपैयाँ पनि खर्च गरेका छैनौ।
खासमा म गायक हुँ, व्यावसायिक मोडल होइन। तर दर्शकले मलाई त्यो रुपमा पनि मन पराइदिनु भएको छ। गायनमा मेरो सानैदेखि नै रुचि थियो। स्कुलदेखि नै गाउन थालेको हुँ। सबैले ’तेरो स्वरमा सरस्वती बसेकी छिन्‘ भनेर मेरो गलाको प्रशंसा गर्थे।
लोकदोहोरीमा मेरो गायनले निकै चर्चा पनि बटुल्यो। तर कर्मको खेलो, सानैमा बिहे भयो। सन् २००४ मा हङकङ आईडीले हङकङ ल्याइपुर्यायो। पाल्पा तेल्घाकी चर्चित गायिका म हङकङको भव्य सहरमा कहाँ हराएँ कहाँ।
हङकङेली नेपाली संघसंस्थाले गर्ने कार्यक्रममा स्टेजमा उभिएर आफ्नो मनभित्र गुम्सिएको रहर बाहिर त निकाल्थेँ तर त्यतिले कहाँ पुग्थ्यो र! नेपालमा ‘न गला न कला’ भएका मान्छेहरु हेर्दाहेर्दै कहाँ पुगे, कुनैबेला नेपालमा घन्किएकी आफू चाहिँ हङकङको जंगलमा हराइरहेकी छु। गम्छु, आफ्नो स्वर हङकङको कोलाहलमा दब्दै गइरहेको छ, उकास्न केहि गर्न सकिरहेको होइन।
गायनजस्तो प्रतिभा जति अभ्यास गर्यो, त्यति खारिने हो। हङकङको १२ घण्टे ड्युटीको भागमभाग दैनिकीमा कहाँबाट पाउने रियाज गर्ने समय? गायन अभ्यास छुटेपछि गला पनि जम्दै जान थाल्यो। त्यसपछि मैले हङकङबाटै आफ्नो गायनलाई निरन्तरता दिने सोच बनाएँ। २०७५ सालमा चलेका लोकगायक सागर विरहीसँग ‘फूलजस्तो उमेर सम्हालेर राख है सोल्टिनी आउँदैन घुमेर’ भन्ने लोकदोहोरी गीत गाएँ। त्यसमा मोडलिङ गरी मेरो शौख पनि पुरा गरेँ।
सागर विरहीजीको युट्युबबाट सार्वजनिक गरिएको त्यो गीत राम्रै चल्यो। त्यसअघि मेरो फेवरेट अभिनेता धिरेन शाक्य दाइसँगै मोडलिङ गरेको त्रिकोणात्मक प्रेमकथामा आधारित म्युजिक भिडिओ ‘काँडाले हैन मलाई घोच्यो आज फूलले’ पनि राम्रै चलेको थियो। त्यो गीत मैले नै गाएकी थिएँ।
हङकङको व्यस्त दैनिकीबाट समय निकाल्दै गीतसंगीतमा समय दिइरहेका बेला झ्याप्प कोरोना आइदियो। यो महामारीले भर्खर पुनः सुरुआत गर्न थालेको मेरो सिर्जना यात्रालाई हङकङमै कैद गरिदियो। त्यसैले यसपालिको नेपाल भ्रमण मेरा निम्ति त्यो बन्धन फुकाउने अर्काे मौका थियो, जसको मैले भरपुर उपयोग गरेँ। चार वर्षपछि आफ्नै गाउँको दाइसँग मिलेर पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने मौका पाएँ।
खर्च त राम्रै भयो तर सहयोग पनि त्यत्तिकै पाएँ। धिरेन दाइले आफ्नो पारिश्रमिक मात्र होइन, क्यामराको पैसा पनि लिनु भएन। पाल्पाका सहयोगी मनहरुले पनि दिल खोलेर सहयोग गरिदिनु भयो। धेरै शुभेच्छुकले ‘त्यति राम्रो स्वर भएकोले किन आफै नगा’को?’ भनेर पनि सोध्नु भयो। त्यसमा पनि मैले काम गरेको छु। आनन्द दाइसँग एउटा गीत रेकर्ड गराएर फर्किएकी छु।
कहिलेकाहीँ निकै चिन्तामा पर्छु र सोच्छु– यदि म नेपालमा भएको भए आफ्नो गायनलाई निकै उचाइमा पुर्याउने थिए होला। तर सोचेको कहाँ पाइन्छ र? दुई छोराछोरीको भविष्य बनाउन अझै हङकङको माटोमा कति नङ्ग्रा खियाउनुछ कति। गीतसँगै मोडलिङमा पनि मलाई निकै रुचि छ, त्यसैले सम्भव भएसम्म मेरा म्युजिक भिडिओमा आफैँले अभिनय गर्ने गरेकी छु।
त्यही शोखले २०१८ मा आयोजना गरिएको ‘मिसेज हङकङ’ प्रतियोगितामा भाग लिएँ र उपाधि जिते। यो उपलब्धिले मेरो आत्मविश्वास अझ बढाएको छ। बाध्यताले जन्मभूमिबाट आफ्नो कला साधनामा ध्यान दिन नसके पनि कर्मभूमि हङकङबाट कसरी हुन्छ, त्यसलाई निखार्ने प्रयत्न गरिरहेकी छु। भर्खरै रिलिज गरिएको गीतबाट पाएको ‘रेस्पोन्स’ले मेरो जोसमा थप उर्जा भर्ने काम गरिदिएको छ।
प्रतिक्रिया