लोकतन्त्र पक्षधरको जितपछि हङकङमा अब के होला?

लोकतन्त्र पक्षधरको जितपछि हङकङमा अब के होला?

जेफी लाम
मंसिर ९, २०७६ सोमबार ९:२४,

गत जुनदेखि हिंसात्मक प्रदर्शनको चपेटामा परेको हङकङमा आइतबार जिल्ला परिषद्को निर्वाचन भयो। निर्वाचनमा लोकतन्त्र पक्षधरहरुले शानदार विजय हासिल गरे। १८ मध्ये १७ जिल्लामा उनीहरुले बहुमत प्राप्त गरेका छन्। सरकार पक्षधरहरुको सिटसंख्या २०१५ भन्दा दुई सय ५० ले कम भएको छ।

यो चुनावलाई जारी प्रदर्शनमाथिको जनमतसंग्रह पनि मानिएको छ। जसमा हालसम्मकै सबैभन्दा बढी ७१.२ प्रतिशत मतदाताले भाग लिएका छन्।

यो चुनावको अर्थ के हो त? जारी आन्दोलन, बेइजिङको प्रतिक्रिया, आगामी नेताको निर्वाचनमा यसले के असर पार्ला? यो चुनावले पार्नसक्ने सम्भावित ६ असर यसप्रकार छन् :

१. राजनीतिमा संरचनागत परिवर्तन
जिल्ला परिषदको जम्मा चार सय ५२ सिटमध्ये लोकतन्त्र पक्षधरहरुले करिब ८० प्रतिशतमा जित हात पारेका छन्।

उनीहरुले आफ्नो पक्षमा रहेका स्थानमा मात्र होइन, बेइजिङ समर्थकको गढ मानिने क्षेत्र पनि जित्न सफल भएका छन्। गत ६ महिनादेखि जारी आन्दोलनले संस्थापनविरुद्ध माहौल तयार पारेको छ। जसका कारण ताई पोस्थित लाम स्युन र युन लोङस्थित साप पात ह्युङ वेस्टमा समेत संस्थापनको हार भएको छ।

चाइनिज युनिभर्सिटीका राजनीतिशास्त्री डा. मा ङोक यो नतिजालाई ‘असामान्य’ भन्छन्।

‘हङकङबासीले अहिले जारी सामाजिक आन्दोलनलाई समर्थन गर्छौँ भनेर सरकारलाई एकदमै स्पष्ट सन्देश दिएका छन्,’ उनले भने। पछिल्लो पटक हिंसात्मक हुँदै गएको प्रदर्शनका कारण जनताको विचार परिवर्तन नभएको उनले बताए।

लेक युनबाट चुनाव जितेका सिभिल ह्युमन राइट्स फ्रन्टका संयोजक जिम्मी सामले हङकङकी नेतृ क्यारी लामलाई जनताको आवाज सुन्न आग्रह गरे।

‘सरकारले हाम्रा पाँच माग पूरा गर्ने समय हो यो,’ सामले भने। प्रदर्शनकारीमाथि प्रहरीको ज्यादतीबारे छानबिन, सबैलाई मताधिकारजस्ता माग आन्दोलनकारीले अघि सारेका छन्।

hkresult2

२. आन्दोलनकारी नेताहरुको ठूलो जित
२०१४ को अकुपाइ आन्दोलनको नेतृत्व गरेका तीन विद्यार्थी नेताहरु जिल्ला परिषद् सदस्यमा विजयी भएका छन्।

हङकङ फेडेरेसन अफ स्टुडेन्ट्सका पूर्व महासचिव लेस्टर सुम पाँच वर्षअघि सरकारसँगको वार्ता टोलीमा थिए। उनले अहिलेको चुनावमा स्युन वानको होइ बुन क्षेत्रबाट ५ हजार एक सय १३ मत ल्याए। उनले सात पटक परिषद् सदस्य भइसकेको चाउ पिङ टिमलाई हराए। चाउले मात्र एक हजार नौ सय ७४ मत ल्याए।

अकुपाइ आन्दोलनमा दोषी पाइएका २५ वर्षीय टमी चेओङलाई सजायस्वरुप दुई सय घण्टा सामुदायिक सेवामा खटाइएको थियो। उनले पनि युन लोङमा विल्सन वाङलाई पराजित गरे।

हङकङ फेडेरेसन अफ स्टुडेन्ट्सका पूर्वमहासचिव एडी चानले युन लोङको हुङ फुकमा चुनाव जिते।

अकुपाइ आन्दोलनमा प्रहरीको कुटाइ खाएका दुई विद्यार्थी पनि यो चुनावमा विजयी भए।
केन साङलाई त्यसबेला सात जना प्रहरीले पिटेका थिए भने ओसमान चेङ सेवानिवृत्त प्रहरी अधिकारीबाट पिटिएका थिए।

विजयपछि बोल्दै २६ वर्षी सुमले भने, ‘हामी आज राति खुसी हुन सक्छौँ। भोलि आराम गर्न पनि सक्छौँ। तर, पर्सिदेखि हामीले लडाइँ जारी राख्न जरुरी छ।’

hongkong-election1.jpg

३. लोकतन्त्र पक्षधरले फेरि यो मौका खेर फाल्लान्?
आइतबार रातिको दृश्यले लोकतन्त्र पक्षधरहरुलाई पुरानो घटना सम्झायो। सन् २००३ मा पनि उनीहरुले यस्तै एकलौटी जित हात पारेका थिए।

त्यसबेला आधारभूत कानुनको राष्ट्रिय सुरक्षासम्बन्धी धारा परिवर्तन गर्न सरकारले ल्याएको प्रस्तावविरुद्ध पाँच लाख मानिस सडकमा ओर्लेका थिए। लगत्तैको चुनावमा उनीहरुले जितेका थिए।
तर, उनीहरुको मधुमास लामो समय टिक्न पाएन। सन् २००७ को चुनावमा बेइजिङ पक्षधरले हारेका सिटमा पुनः जित हात पार्‍यो।

लोकतन्त्र पक्षधरहरुमाथि राजनीतिक नारामा मात्र जोड दिएको, सामुदायिक काममा ध्यान नदिएको आरोप लाग्यो।

तर, आइतबार यस खेमाका नेताहरु विगतको गल्तीप्रति सचेत देखिए।

जिम्मी साम र टमी चेउङ दुवैले आफ्ना खेमाका नेताहरुलाई चार वर्षमा सकेजति काम गर्न आह्वान गरे।

डा. मा ङोक लोकतन्त्र पक्षधरले पुरानो गल्ती नदोहोर्‍याउने बताउँछन्।

hkresult7

४. हारपछि संस्थापन पक्षको गति के होला?
बेइजिङ पक्षधर शक्तिले गत चुनावको तुलनामा यो चुनावमा २४१ सिट गुमायो। हङकङको सबैभन्दा ठूलो संस्थापन पक्षधर पार्टी डीएबीले एक सय ८१ उम्मेदवार उठाएमध्ये मात्र २१ सिटमा जित हात पार्‍यो।

बेइजिङसमर्थक १३ सांसदमध्ये ९ जना जिल्ला परिषद्मै हारे। यो नतिजाले सन् २०२० को विधान परिषद् निर्वाचनमा पनि असर पार्नेछ।

hkresult4

५. यो नतिजाले २०२२ मा हङकङको नेता छान्ने चुनावलाई कस्तो असर पार्ला?
लोकतन्त्र पक्षधरको विजयले भविष्यमा हङकङको नेता चुन्ने प्रक्रियामा ठूलो फरक पार्नेछ। तीन वर्षपछि प्रमुख कार्यकारीको निर्वाचन हुँदैछ। जिल्ला परिषद्मा बहुमत भएपछि निश्चय नै लोकतन्त्र पक्षधरहरुको आवाज ठूलो हुनेछ।

हङकङको नेता १२ सय जनाको निर्वाचन समितिले छान्नेछ। जिल्ला परिषदमा जितेपछि समितिका एक सय १७ जना सदस्य लोकतन्त्र पक्षधर रहनेछन्। त्यसमाथि तीन सय २५ सिट पनि उनीहरुको नियन्त्रणमा रहनेछ। त्यसैले कार्यकारी प्रमुख छान्ने निर्वाचनमा लोकतन्त्र पक्षधरहरु ‘किङमेकर’ बन्न सक्छन्।

hkelection

६. अब आन्दोलन के होला?
लोकतन्त्र पक्षधरहरुको यो जितले एउटा महत्वपूर्ण प्रश्न अघि सार्छः महिनौँदेखिको आन्दोलन अब के हुन्छ? झन् चर्किन्छ कि सेलाउँछ?

पछिल्ला सातामा सरकारविरोधी प्रदर्शन हिंसात्मक हुँदै गएका छन्। यद्यपि चुनावलगत्तै अपेक्षाकृत रुपमा शान्ति देखिन्छ।

डा. मा ङोकको विचारमा चुनावी नतिजाले आन्दोलनलाई ठूलो टेवा दिएको छ। खासगरी अन्तर्राष्ट्रिय मञ्चमा। विदेशमा यसलाई ‘पूर्ण चुनावी जित’का रुपमा हेरिएको उनको विश्लेषण छ।

‘अझै पनि जनताको आवाज नसुन्ने हो भने सरकारले शासन चलाउन सक्दैन,’ उनले भने, ‘सरकारले जिल्ला परिषद् र विधान परिषद् दुवैमा आफ्नो वैधता गुमाइसकेको छ। यसअघि सरकारले आफ्ना अलोकप्रिय प्रस्तावलाई जनताको साथ छ भन्ने दाबी गथ्र्यो। सरकारलाई अब त्यो सुविधा उपलब्ध छैन।’

रेडिटजस्तै साइट एलआईएचकेजीमा एक जनाले लेखेका छन्, ‘जनतालाई भन्न जरुरी छ, हामी सन्तुष्ट छैनौँ। जिल्ला परिषदको चुनाव धेरैमध्ये एउटा मात्र मोर्चा थियो।’

कतिपयले जितपछि सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिनुपर्ने र सो पूरा नभए आगामी आइतबार व्यापक प्रदर्शन गर्नुपर्ने सुझाएका छन्। (साउथ चाइना मर्निङ पोस्टबाट।)

यो पनिः
चुनावी परिणाम जस्तो आए पनि हङकङ चीनकै होः चिनियाँ विदेशमन्त्री
हङकङका १८ मध्ये १७ जिल्लामा डेमोक्रेटिक पक्ष विजयी, सरकार रक्षात्मक

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .