बागमती


गाउँपालिका अध्यक्षको व्यक्तिगत खर्चमै सडकको स्ल्याब ढलान

गाउँपालिका अध्यक्षको व्यक्तिगत खर्चमै सडकको स्ल्याब ढलान

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १९:४२, हेटौँडा

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गरिएको स्ल्याब ढलानको उद्घाटन गरेका छन्।

मनहरी गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान सम्पन्न गरेर उद्घाटन गरिएको हो।

वडा कार्यालयसम्म आउजाउ गर्ने सडक ढलान नहुँदा हिँड्डुल गर्न सकस भएको स्थानीयले गुनासो गरेपछि व्यक्तिगत लगानीमै ढलान गरिएको हो।

६ मिटर चौडाइ र २४२ मिटर लम्बाइ रहेको सडकको ढलानको काम सम्पन्न भएपछि बिहीबार (आज) उद्घाटन गरियो।

अध्यक्ष कालाखेतीले प्राविधिक जाँच गरी लागत स्टिमेट तयार गराउँदा २० लाख रुपैँया खर्च आउने गरी काम सुरु भएको थियो। स्टिमेट अनुसार नै ढलानका लागि व्यक्तिगत २० लाख रुपैयाँ खर्च भएको अध्यक्ष कालाखेतीले बताए। 

जेनजी आन्दोलनपछि गाउँपालिकामा भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजनाहरू प्रभावित भएका कारण अतिआवश्यक रहेको यस क्षेत्रमा आफ्नै खर्चमा स्ल्याब ढलान गरिएको उनको भनाइ छ। स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै निजी खर्चमा यो योजना सम्पन्न गराइएको उनले बताए। 

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मनहरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका कालखेतीले पालिकाबाट आउने तलब, भत्ता लगायतको सुविधा स्थानीयकै लागि खर्चंदै आएका छन्।

यसअघि गाउँपालिकामा रहेका अति विपन्न परिवारका लागि आवास निर्माण, विद्यार्थीको लागि शैक्षिक सामग्री वितरणदेखि अन्य सामाजिक कार्यमा खर्चदैँ आएका छन्। 

कालाखेतीले आफ्नो तलबभत्ताबाट मनहरी–५ मा एकल महिला सोनी राईलाई घर निर्माण गरिसकेका छन् भने मनहरी–६ मा पनि अर्को घर निर्माणको काम भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad