काठमाडौँ भन्नेबित्तिकै मःमको सहर भनेर पनि चिनिन्छ। तर, यहाँको लोकप्रिय खाजा मःम कति स्वस्थकर छ? तपाईँले कहिल्यै ख्याल गर्नुभएको छ? अनि खाद्य स्वस्थताको नियमन गर्ने निकायहरूले के साँच्चै नियमन र अनुगमन गरेका छन् त?
उपत्यकाका अन्य क्षेत्रमा नभए पनि काठमाडौँ महानगरपालिकाले भने यसबारे अनुगमन गरेको छ। र, पछिल्लो अनुगमन प्रतिवेदन हेर्ने हो भने मःम बनाउने र बेच्ने होटल तथा रेस्टुराँहरू निकै फोहोरी रहेको तथ्य भेटिएको छ।
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूले कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा लापरवाही गरेको पाइएको अनुगमन प्रतिवेदनमा देखिन्छ।
सुन्धारा, न्युरोड, मखन, त्यौड, कलमपोखरी, महाराजगन्ज, पुरानो बानेश्वर, टंगाल, हाँडीगाउँ, त्रिपुरेश्वर, कोटेश्वर, कलंकी, ठमेल क्षेत्रमा मःम बनाउने र बिक्री गर्ने पसल, होटल तथा रेस्टुराँको अनुगमन गर्दा ८८ प्रतिशतमा सरसफाइको समस्या रहेको भेटिएको हो।
गत कात्तिक २९ देखि महानगरपालिकाका फुड टेक्नोलोजिस्ट तथा माइक्रोबायोलोजिस्टसहितको टोलीले अनगुमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेस्टुराँमध्ये ७५ वटा अर्थात् ८८ प्रतिशतले सरसफाइमा ख्यालै नगरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार ६६ वटा (७७ प्रतिशत) मा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी भेटिएको छ भने १८ वटा (२१ प्रतिशत) व्यवसाय दर्ता नै नगरी चलिरहेका छन्।
प्रतिवेदनका अनुसार, मःम पसलहरूले दैनिक रूपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर छ। भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोनसहित बाहिर निस्कने गरेको पाइएको छ। मसला राख्ने भाँडा कसिंगरयुक्त छन्। भान्छाको भुइँमा पानी जमेर हेरिनसक्नुका छन्। डस्टबिनभन्दा बाहिर नै दुर्गन्धयुक्त फोहोर थुपार्ने गरिएको छ। पकाएका खानेकुरा खुला राख्ने गरिएको छ। मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गरिन्छन्। पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ। कतिपयले किराको समस्या समाधान गर्न आफूखुसी रसायनको प्रयोग गरिरहेका छन्।
प्रतिवेदनअनुसार, मःम पसलहरूले फ्रिजहरू नियमित सफाइ गरेका छैनन्। फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको छ। त्यहाँ राखिएको अचार र मसलामा लेबल राखिएको छैन। मसला राख्ने भाँडा, मःम बनाउने टेबल र मेसिन फोहर छ। भाँडा माझ्ने ठाउँ झन् फोहर छ।व्यक्तिगत सामानसमेत भान्छामा थुपारिएका छन्। मूल्य सूची पनि धेरैले राखेका छैनन्।
यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको महानगरपालिकाले जनाएको छ। यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेस्टुराँले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर उपस्थित भएको विभागको भनाइ छ। सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि निर्देशन दिइएको र दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको महानगरपालिको भनाइ छ।
Shares

प्रतिक्रिया