खासगरी तराई-मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्व केही वर्षयता भने के तराई, के पहाड सबैतिर उत्तिकै आस्थाका साथ मनाउने गरिएको छ।
यसै क्रममा देशको केन्द्रीय राजधानी रहेको काठमाडौँका पनि विभिन्न स्थानमा छठ पर्व मनाउने क्रम जारी छ।
यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको मेयर बालेन्द्र शाह (बालेन) ले जानकारी दिएका छन्।

उनका अनुसार छठ पर्व व्यवस्थापनका लागि निम्न ८ स्थानमा महानगरपालिकाले काम गरिरहेको छ:
-गौरीघाट, वडा ८
- कोटेश्वर दोभान, वडा ३२
-कमलपोखरी, वडा १
-वंशीघाट, वडा ११
- बालाजु बाइसधारा, वडा १६
-धौखेल खोला, वडा १३
-कुमारी क्लब, वडा १४
-भुवनेश्वरी मन्दिर, वडा १४
काठमाडौँ महानगरपालिकाका उल्लिखित स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम द्रूत गतिमा भइरहेको उनले बताएका छन्। यसमा सम्बन्धित वडा कार्यालय पनि खटिरहेको मेयर शाहले जानकारी गराएका छन्।
यो जानकारीका साथ मेयर शाहले भनेका छन्, ‘तराईका केही क्षेत्रकेन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ। सद्भाव अनि भ्रातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारमा तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो सूर्यको लाली किरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ।’
छठ पर्वको दोस्रो दिन आज (बुधबार) ‘खरना’ हो। पर्वको पहिलो दिन मंगलबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको थियो।
आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाई व्रतालुले त्यही खीर खानेछन्। यो विधिलाई ‘खरना’ भनिन्छ। आज दिनभरि उपवास बस्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन्।
Shares

प्रतिक्रिया