ad ad

बागमती


त्रिशूलीमा बेपत्ता २ बस र तिनका ५१ यात्रुको खोजी पुन: सुरु

त्रिशूलीमा बेपत्ता २ बस र तिनका ५१ यात्रुको खोजी पुन: सुरु

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशुलीमा बेपत्ता दुई बस खोजी गर्दा शुक्रबार भेटिएका कपडा र फर्किंदै गरेका सुरक्षाकर्मी। तस्बिर : कृष्ण आचार्य/रासस


नेपालखबर
असार २९, २०८१ शनिबार ७:५९, चितवन

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरूको खोजी गर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजी रोकिएको थियो। नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गएराति खोजी रोकिएको थियो। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताए।

उनले भने, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ।’

काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिए। उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .