ad ad

बागमती


१२ लाख खर्चेर सिंगापुर पुगेका रोहित जब उही जहाजमा नेपाल फर्काइए

१२ लाख खर्चेर सिंगापुर पुगेका रोहित जब उही जहाजमा नेपाल फर्काइए

सुनिता विष्ट
जेठ १०, २०८१ बिहिबार १७:३८, हेटाैँडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६, चिसापानीका २४ वर्षीय रोहित खाती एक वर्षअघि सिंगापुर गए।

वैदेशिक रोजगारीका लागि जुनसुकै मुलुक जान इच्छुक भएका रोहितलाई सिंगापुरमा काम गर्न जाने अवसर मिल्यो। केही आफन्तले चिनजानका मान्छेको मेनपावरबाट सिंगापुर जान सल्लाह दिए।

त्यहाँ पुगेपछि काम पनि राम्रो पाइने, आम्दानी पनि राम्रो हुने भन्ने कुरा आएपछि रोहितका बावुले आफ्नो घर जग्गा बैंकमा राखेर १२ लाख रुपैयाँ ऋण लिएर २०८० जेठ महिनाको तेस्रो हप्ता प्लेन चढाएर सिंगापुर पठाए।

तर रोहित सोही हप्तामै त्रिभुवन विमानस्थलमा अवतरण भए। मेनपावरले भिजिट भिसामा प्लेन चढाएको कुरा रोहितले तब मात्रै थाहा पाए, जब उनीसहित सँगै गएका ६ जना साथीहरूलाई सिंगापुरको एयरपोर्टबाट बाहिर निस्कन समेत दिइएन।

‘सुरुमा सिंगापुरको लागि प्रोसेस गर्दैगर्दा रोजगारीको भिसा भनिएको थियो,’ पीडित खातीले भने, ‘जब हामीले पैसा दिन बाँकी थियो त्यो बेलासम्म वर्किङ भिसा भनिएको थियो। हामीले झन्डै १२ लाख रुपैयाँ मेनवापरलाई बुझाइसकेपछि भिजिट भिसामा पठाउन लागिएको भन्ने अलिअलि हल्ला हुन थालेको थियो।’

उनले थपे, ‘तर पनि म लगभग ढुक्क नै थिएँ। मेरो प्रोसेसका लागि आफ्नै फुपु दिदी पर्ने नाताका मान्छेहरूले मेनपावरमा पठाएका थिए। पासपोर्ट पनि हामीलाई यताबाट प्लेन चढ्ने बेलामा मात्रै दिइएको थियो। इन्डियाको ट्रान्जिटबाट सिंगापुर पुर्याउने सर्तसहित म लगाएत हामी ६ जना सो दिनमा उडेका थियौं।’

सिंगापुर विमानस्थलमा आर्लिएपछि सोही विमानस्थलबाटै सोही हप्ता नेपाल फर्कनु परेको उनले बताए।

वैदेशिक रोजगारीका लागि घरजग्गा बैंकमा धितो राखेर मनमा अनेकौं सपना सजाएर आफ्ना छोरालाई प्लेन चढाएका रोहितका बावु राजकुमार खातीलाई अहिले उक्त पैसा कसरी उठाउने भन्ने चिन्ता छ। महिनै पिच्छे बैंकको किस्ता तिर्न उनलाई सास्ती परेको छ।

नेपाल फर्काइए पछि राजकुमारले छोरा सिंगापुर पठाउनका लागि दिइएको रकम फिर्ता माग्न पटक/पटक सो मेनपावर कम्पनीका सञ्चालकहरूसँग भेट्ने, कुरा गर्ने गरे। सिंगापुर पठाउनका लागि मेनवावर कम्पनीले लिएको ११ लाख ३० हजार रुपैयाँको चेक समेत दिएको छ। तर खातामा पैसा छैन।

‘दिन त चेक थमाइएको महिनौं भयो नि। तर के गर्नु बैंक खाता नै रित्तो छ,’ उनले भने, ‘हामीलाई दिइएको चेक पनि मेनपावरमा काम गर्ने कर्मचारीको रहेछ। बैंकिङ कसुरमा मुद्दा चलाऔं भने पनि सम्बन्धित मान्छे झन् उम्केला भन्ने पीर छ।’

काठमाडौंको बुद्धनगर १० मा रहेको प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस नेपाल प्रालि नामक मेनवापरले रोहितको लटमा नै ६ जनालाई सिंगापुर पठाएको थियो। तर ६ जना नै सोही हप्ता नेपाल फिर्ता भएका हुन्। विभिन्न चरणमा गरेर सो मेनवार कम्पनीले अघिल्लो वर्ष भिजिट भिसामा मात्रै ३० जना पठाएको बताइएको छ।

यता, मेनपावर कम्पनीका सञ्चालक श्याम श्रेष्ठ भने यस विषयमा मिडियामा केही नबोल्ने तर पीडितको रकम केही दिनभित्रै फिर्ता गरिदिने दाबी गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .