बागमती


प्रचण्डका विश्वासपात्र जम्मकट्टेल, जसले गठबन्धन फेरिरहँदा पनि छोड्नुपरेन नेतृत्व

प्रचण्डका विश्वासपात्र जम्मकट्टेल, जसले गठबन्धन फेरिरहँदा पनि छोड्नुपरेन नेतृत्व

प्रचण्डका विश्वासपात्र जम्कट्टेलले दोस्रो गठबन्धनमा पनि प्रदेशको नेतृत्व आफ्नै पोल्टामा पारे (तस्बिर : सरोज नेपाल)


सुनिता विष्ट
चैत १७, २०८० शनिबार १८:४४, मकवानपुर (हेटौंडा)

बागमती प्रदेश सरकारको दोस्रो कार्यकालको १५ महिना बित्यो। १३ पुस २०७९ मा प्रदेश सभाका सदस्यहरू पद तथा गोपनीयताको सपथ खाँदै सदन प्रवेश गरेका थिए। त्यसपछि सुरु भएको थियो सरकार गठनका प्रक्रिया।

अघिल्लो प्रदेश सभाको कार्यकालमा आन्तरिक मामिलादेखि अर्थमन्त्रीसम्म बनेका शालिकराम जम्कट्टेल धादिङ–१(ख)बाट दोस्रोपटक निर्वाचित भएपछि मुख्यमन्त्री बन्न सफल भए। 

पहिलो कार्यकालमै पनि उनले मुख्यमन्त्री बन्न जोडबल नगरेका भने होइनन्। तर सत्ता गठबन्धनको भागबण्डामा उनको पालो आएन। दोस्रो कार्यकाल भने उनका लागि निकै फलदायी भइरहेको छ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत रहेका जम्कट्टेल गत २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उतिबेला केन्द्रदेखि प्रदेशसम्म माओवादी, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको गठबन्धन थियो। ३ माघ २०७९ मा सदनबाट उनले कुल ११० (सभामुखसहित) मध्ये १०५ सांसदको विश्वासको मत पाए।

सात राजनीतिक दलमध्ये नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक ६ दलका सांसदले विश्वासको मत दिएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत उनलाई विश्वासको मत दिएको थियो।

यता, केन्द्रमा एमालेसँगको सहकार्य दुई महिना पनि टिक्न सकेन। एमाले र राप्रपा सरकारबाट बाहिरिए। प्रदेश सभाको ठूलो दल कांग्रेस र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा प्रवेश पाए। त्यसपछि सरकारको नेतृत्वको विषयमा निकै चर्चा भयो। कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा, एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र जम्कट्टेलमध्ये को मुख्यमन्त्री बन्ने भन्ने चर्चाले केन्द्रसम्मै तरंग फैलायो। 

जम्कट्टेल कुनै पनि हालतमा दुई महिनामै मुख्यमन्त्री छोड्न चाहँदैनथे। यता, लामा र खनाल पनि आफ्ना केन्द्रीय तहका नेताहरूसम्म दौडधूप गरिरहेका थिए।

तर प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र जम्कट्टेलले दोस्रो गठबन्धनमा पनि प्रदेशको नेतृत्व आफ्नै पोल्टामा पारे।

उतिबेला माओवादी र कांग्रेसलाई २/२ वर्ष र नेकपा एसलाई अन्तिम एक वर्ष भनेर लिखत सहमति नै गरियो। 

यसरी पहिलो २ वर्ष जम्कट्टेलले नै पाउने सहमतिअनुसार नेतृत्व जोगियो। ९ चैत २०७९ मा उनले दोस्रो गठबन्धनबाट ६७ सांसदको विश्वासको मत प्राप्त गरे।

माओवादी–कांग्रेस गठबन्धन पनि गत फागुन २१ गतेबाट टुट्यो। केन्द्रमा नयाँ गठबन्धनको सरकार गठन भयो। नयाँ सत्ता समीकरणमा प्रदेशको नेतृत्वको विषयमा पनि निकै चर्चा भयो।

सबै प्रदेशको स्थितिलाई नियाल्ने हो भने बागमती नेकपा एसको नेतृत्वमा गठन हुने आकलनसमेत गरिएको थियो। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा मिसिनुअघि एक प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने माग राखेका थिए, जसकारण पनि बागमतीको नेतृत्व एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद खनालको पोल्टामा पर्ने चर्चा थियो। 

यद्यपि, बागमतीमा तेस्रोपटक सत्ता गठबन्धन फेरिए पनि माओवादी नेतृत्वको सरकार भने डगमगाएको छैन। केन्द्रमा जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व अनवरत पाइरहेका छन्, बागमतीमा पनि जम्कट्टेलले सोही लय समातिरहेका छन्।

अझ भनौं प्रचण्डका विश्वास पात्र भएकै कारण जुनै दलसँग गठबन्धन भए पनि बागमतीको नेतृत्व परिवर्तनको विषयमा छलफलबाहेक केही हुन सक्ने स्थिति देखिँदैन। 

विश्वासको मत तय 
मुख्यमन्त्री जम्कट्टेलले आउँदो सोमबार सदनबाट पुनः विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीका तर्फबाट प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव शुक्रबार दर्ता भइसकेको छ। सभामुख भुवनकुमार पाठकले सोमबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिसकेका छन्।

सातै प्रदेशमा नेतृत्वको विषयमा टुंगो नलागेर दलहरू अलमलमा परेका बेला जम्कट्टेललाई भने ढुक्क भएको छ। कारण, प्रधानमन्त्रीले जम्कट्टेलकै नेतृत्वमा बागमती सरकार रहने निर्णय गरिसकेको सत्ता साझेदार दलहरू बताउँछन्। 

केन्द्रबाट निर्देशन आएकै कारण जम्कट्टेललाई विश्वासको मत लिने बाटो खुलेको एमाले बागमतीका सचेतक मधुसूदन पौडेल बताउँछन्। उनका अनुसार प्रदेशमा रहेका दलहरूले आलोपालो सरकारको नेतृत्व लिने निर्णय भए पनि हाल माओवादीकै नेतृत्वमा जाने निर्णय भएको हो। पौडेलले नेपालखबरसँग भने, ‘अहिले मुख्यमन्त्रीज्यूकै नेतृत्वमा सरकार गठन गर्नू भन्ने केन्द्रको निर्देशन छ। पछि आलोपालो होला।’

यता, मुख्यमन्त्री जम्कट्टेल पनि सत्ता साझेदार सबै दलसँगको छलफलबाट बागमतीको नेतृत्वमा आफैलाई निरन्तरता दिइएको कारण विश्वासको मतको दिन तय गरिएको बताउँछन्।

‘केन्द्रबाट आधिकारिक निर्णय त भएको छैन। मेरो (पार्टीको) नेतृत्वबाट बागमती प्रदेशमा अहिले जुन सरकार छ, त्यसैले विश्वासको मत लिएर अगाडि बढ्नू भन्ने निर्देशन प्राप्त भएको छ। सोहीअनुसार विश्वासको मत लिने र सरकार गठन गर्ने प्रक्रिया अघि बढाइएको हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .