काठमाडौँमा बालिकालाई विभिन्न प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ।
प्रहरीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजाघरका सञ्चालक हिरन राईलाई पक्राउ गरेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार ३८ वर्षीय राईको घर उदयपुर बेलका नगरपालिका–५ हो।
खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
उक्त स्थानबाट नाबालिकासहित दुई जनालाई प्रहरीले उद्धारसमेत गरेको र पक्राउ परेका राईउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिइएको प्रवक्ता ढकालले बताए।
उनले भने, ‘उक्त विषयमा थप आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तको समेत प्रहरीले खोजी गरिरहेको छ।’ रासस
Shares
प्रतिक्रिया