बागमती


राक्सिराङका बालिकाको संघर्षः बिहानभरि घरको काम, पढाइ छुट्ने डरले भोकभोकै स्कुल

‘साथीको घरमा काम परे हामी पनि स्कुल जाँदैनौं। वनको बाटो छ। आजकाल गाउँमा बाघ आइरा’छ।’
राक्सिराङका बालिकाको संघर्षः बिहानभरि घरको काम, पढाइ छुट्ने डरले भोकभोकै स्कुल

सुनिता विष्ट
माघ २१, २०८० आइतबार ८:४६, हेटौँडा

मकवानपुरको राक्सिराङ गाउँपालिका-५, तानराङकी १५ वर्षीया मुना प्रजा बिहानीपख भएपछि राम्ररी निदाउँदिनन्।

निद्राले आँखा टालिरहन मन त लाग्छ। तर मनले बारम्बार घडीको सुई हेरिरहन भन्छ।

गाउँमा बिहान ४ बजेदेखि नै भाले बास्न थाल्छन्। सोही आवाजसँगै बिउँझिन्छिन् उनी । हिजोको थकाइ मेटिएकै छैन, तर आज पनि उस्तै चटारो सुरु हुन्छ।

बिहान ४ बजेतिरै बिउँझिएपछि अघिल्लो दिन गर्न नभ्याएको गृहकार्य सक्नुपर्ने चिन्ता त छँदै छ। त्यसमाथि घरमा परिवारलाई काम सघाएपछि मात्रै विद्यालय कुद्नुपर्ने बाध्यता। 

घरबाट विद्यालय पुग्न डेढ घण्टा ओरालो बाटो हिँड्नुपर्छ। जंगलै जंगलको बाटो स्कुलबाट घर फर्किंदा भने उकालो पर्छ। त्यसैले स्कुल आउँदाभन्दा बढी २ घण्टा लाग्छ। 

‘माथि गाउँमा कक्षा ४ सम्म मात्रै पढाइ हुन्छ। ४ सम्म त त्यहीँ पढेको। अगाडिका कक्षा नभएपछि यो स्कुलमा आएको हो’, उनले भनिन्, ‘पढाइ छाड्न मन छैन। जसरी भए पनि एसईई पढौँ भन्ने लागेको छ।’

बिहान १० बजे विद्यालय आइपुग्न बिहान सवा ८ बजे नै घरबाट निस्किनुपर्छ। त्यसैले उनी पढाइ छुट्ने चिन्ताले धैरैजसो भोकै विद्यालय आउने गरेकी छन्।

यो मुना एक्लैको कथा होइन। उनका अरू सहपाठीको पनि समान छ।

मुनासँगै पढ्ने सोही ठाउँकी सशीला प्रजा भन्छिन्, ‘घरमा आमाबुवाले खाना पकाएर खुवाएर पठाउने चलन छैन। घरमा काम नभएका बेला आफैँ पकाएर खाएर आउँछौँ। कहिले काम हुन्छ, त्यस्तो बेला खान पाइँदैन।’

मकवानपुरको राक्सिराङ गाउँपालिका-५, चैनपुरमा रहेको प्रजा जागृति माध्यमिक विद्यालयमा पढ्ने अधिकतर चेपाङ समुदायका बालबालिका छन्। 

मुना पनि सोही विद्यालयमा कक्षा ८ मा पढिरहेकी छन्। यहाँ पनि कक्षा १० सम्म मात्रै पढाइ हुन्छ। उनलाई एक मन अबको दुई वर्ष कसरी कटाऔंजस्तै भएको छ भने अर्को मन कक्षा १२ सम्म पढ्ने इच्छा पूरा नहोला कि भन्ने पीर पनि। 

उनको घरभन्दा पनि अझै १५ मिनेटको पैदल दूरीमा रहेको बान्नाङ भन्ने गाउँ छ। सोही गाउँबाट सानुमाया प्रजा आउँछिन्। अलि तल तानराङमा आएपछि ८-१० जना जम्मा हुन्छन्। जंगलको बाटो छिचोलेर विद्यालय पुग्नुपर्ने भएकोले एक्लै हिँड्ने आँट गर्दैनन्।

‘साथीहरूको घरमा काम परेर स्कुल नजाने भए हामी पनि स्कुल आउँदैनौं,’ सानुमायाले मलिन स्वरमा भनिन्, ‘वनको बाटो छ। आजकाल त गाउँमा बाघ आइरा’छ। त्यही डरले एक्लै त हिँड्दैनौं।’

विद्यालय टाढा भएकै कारण आउजाउ गर्न समस्या त छँदै छ। त्यसमाथि पनि भोक, प्यास र त्रास।

उसो त विद्यालय टाढा भएकै कारण अधिकांश बालबालिकाले कक्षा ४ पछिको पढाइ अगाडि बढाउन पाएका छैनन् । मुना, सानुमाया र उनीहरूको ज्यान जोखिममै राखेर भए पनि एसईईसम्मको पढाइ पूरा गर्ने लक्ष्यका साथ विद्यालय आइरहेका छन्। 

३ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अधिकांश चेपाङ समुदायका बालबालिका छन्।

भौगोलिक विकटताका कारण घण्टौं हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यतामा रहेका उनीहरू यतै बसेर पढ्न पाए सहज हुने बताउँछन्।

कक्षा ६ मा पढ्ने रविन प्रजा भन्छन्, ‘घरमा खाएर आएको खानाले बाटोमै भोक लागिसक्छ। खाजा ल्याउन सम्भव नै छैन। दिनभरि पढ्यो। आन्द्रा बटारिने गरी भोक लागिसक्छ। घर पुग्दा ६ बज्छ, थकाइले मरौंलाजस्तै हुन्छ।’

सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था छ। सोही व्यवस्था प्रजा जागृति माध्यमिक विद्यालयमा पनि छ। तर, माथिल्ला कक्षाका विद्यार्थी भएकै कारण उनीहरूका लागि विद्यालयमा खाजा पाक्दैन।

कहिलेकाहीँ खाजा बाँकी रह्यो भने टाढाबाट आउने बच्चाहरूलाई दिने गरेको प्रधानाध्यापक सूर्यबहादुर प्रजा बताउँछन्। आवासको लागि विद्यालयले स्थानीय सरकारलाई पहल गरिरहे पनि सफल हुन नसकेको उनको भनाइ छ।

यता, हिजोआज गाउँमा बाघ आएर वस्तुभाउ खाइदिन थालेपछि अभिभावककौ आग्रहमा टाढाका विद्यार्थीलाई अलि चाँडो घर पठाउने गरिएको उनले बताए। 

जिल्लाकै विकट यस गाउँपालिकामा तीनवटा आवासीय विद्यालय छन्। यस विद्यालयलाई पनि छिट्टै आवासीय बनाउन आफूहरूले पहलकदमी चालिरहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .