पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीले केही दिनदेखि मकवानपुरमा आतंक मच्चाइरहेको छ। उक्त हात्तीले १ हप्तामै २ जनाको ज्यान लिइसकेको छ भने एकजनालाई गम्भीर घाइते बनाएको छ।
बिहीबार राति मात्र हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसमा ५० वर्षीय सन्तलाल माझीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय (मकवानपुर) का अनुसार साँझ गोठमा गएका बेला हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका माझीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
यस्तै सोही हात्तीको आक्रमणबाट बुधबार हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडी मानेडाँडाका ३० वर्षीय देव वाइबा घाइते भएका छन्। दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको उनको उपचार हेटौंडा अस्पतालमा जारी छ।
यसअघि गत सोमबार सोही हात्तीको आक्रमणबाट मनहरी गाउँपालिका–४ मा ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया–७ को कत्लेखोलामा पुगेको स्थानीय बताउँछन्।
जंंगली हात्ती निकुञ्जबाट बाहिर आएर आक्रमण गर्दै हिँड्दा पनि सरोकारवाला निकाय भने मौन देखिएको छ। १ हप्ता बित्दा पनि हात्ती नियन्त्रणमा लिन सकेको छैन।
निकुञ्जबाट निस्किएको हात्ती नियन्त्रणमा लिन किन प्रयास भएन?
नेपालखबरको प्रश्नमा निकुञ्जका वार्डेन अशोक राम हात्ती नियन्त्रणमा लिने प्रकृतिको जनावर नभएको बताउँछन्।
‘निकुञ्जमा बसुन्जेल निकुञ्जकै हात्ती भए पनि निकुञ्जबाट बाहिर निस्केपछि जहाँ पुग्यो त्यहीँको हुन्छ’, मनहरीदेखि हेटौंडा हुँदै बकैया गाउँपालिका पुगेको हात्ती एउटै भएको दाबी गर्दै उनले भने, त्यो हात्ती केही महिनाअघि भारतबाट आएको हो। अहिले भारत नै फर्कने बाटो खोजिरहेको छ। लामो समय पर्सा राष्ट्रिय निकुञ्जमै बस्यो। अहिले बाटो पहिल्याउँदै हिँडेको जस्तो लाग्छ। त्यसका लागि चुरे क्षेत्रमा प्रवेश गर्न खोजेको छ। उसको बाटोमा अवरोध गर्ने, ढुंगामुढा गर्ने गर्दा आक्रमणमा परेको हुन्।’
हात्ती नियन्त्रणमा लिन सक्ने कुनै प्रविधि उल्लेख गर्दै उनले हात्तीबाट बच्न अगाडि नजानु मात्रै विकल्प भएको बताए।
Shares
प्रतिक्रिया