ad ad

बागमती


काठमाडौंको शङ्खरापुर नगरपालिकामा निःशुल्क घरदैलो स्वास्थ्य सेवा

काठमाडौंको शङ्खरापुर नगरपालिकामा निःशुल्क घरदैलो स्वास्थ्य सेवा

शङ्खरापुर नगरपालिकाले नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेपछि नगरपालिकाको दुर्गम भेग वडा नं. १ स्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको छापभञ्ज्याङमा स्थानीयको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस


नेपालखबर
असोज ८, २०७९ शनिबार ९:३१, काठमाडौँ

काठमाडौंको शङ्खरापुर नगरपालिकामा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ। नगरप्रमुख रमेश नापितले वडा नम्बर १ छाप भञ्ज्याङमा उक्त कार्यक्रम शुभारम्भ गर्दै सबैभन्दा विकट क्षेत्रका रूपमा रहेको सिन्धुपाल्चोक जिल्लासँग सीमा यस स्थानको घरदैलोमै आएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएकोे जानकारी गराए। 

उनले भने, ‘वृद्ध हुनुभएका बुबाआमा जसलाई उपचारका लागि समस्या परिरहेको छ, उहाँहरुका लागि आज हामीले निःशुल्क उपचार सुरु गरेका छौँ, उहाँहरुको स्वास्थ्यमा यहाँ उपचार नहुने समस्या देखिएमा शङ्खरापुर नगर अस्पताल वा सुष्मा कोइराला मेमोरियल अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ, नगरवासीमा रोग नै नलागोस् र लागेको छ भने त्यसको उपचारका लागि घरदैलो सेवा सुरु गरेका हौँ, निःशुल्क स्वास्थ्य सेवा पाउनु जनताको अधिकार र चाहना पनि हो, हामी निर्वाचित भएर आइसकेपछि निःशुल्क स्वास्थ्य सेवा दिने काम सुरु गरेका छौँ।’

आर्थिक रूपमा नगरपालिका कमजोर रहे पनि मन बलियो बनाएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको र  नगरवासीलाई स्वास्थ्यजस्तै शिक्षा क्षेत्र, भौतिक पूर्वाधार विकास र स्वस्छ खानेपानी दिनका लागि प्रयत्नशील भएर लागिपरेको नगरप्रमुख नापितले बताए। 

नगर उपप्रमुख समिता श्रेष्ठले जनताको स्वास्थ्य अवस्था सुधार गर्न कार्यपालिका बैठकबाट नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अघि बढाइएको उल्लेख गरिन्। 

यो कार्यक्रमबाट जनतालाई प्रत्यक्ष रूपमा फाइदा पुग्छ भनेर सुरु गरेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरी पूर्ण रूपमा शङ्खरापुर नगरपालिकाको विकास गर्न नसकिने बताइन्। उपप्रमुख श्रेष्ठले सुष्मा कोइराला अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिनेगरी सम्झौता भएको जानकारी गराए। 

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले यो कार्यक्रम शङ्खरापुर नगरवासीका लागि अत्यन्तै खुसीको विषय भएको बताए। 

शङ्खरापुरबासीलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा दिन सुष्मा कोइराला अस्पतालसँग नगरपालिकाले सम्झौता गरेर सात प्रकारका सेवा निःशुल्क र ११ वटा स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जनताका लागि भौतिक पूर्वाधारको विकासका साथै मानव विकासको महत्त्वपूर्ण आयामलाई सँगसँगै लिएर जानुपर्ने बताए। 

निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममा दुई चिकित्सक, एकजना नर्स, एकजना ल्याब टेक्निसियन, एकजना फर्मासिस्ट र महिला स्वास्थ्य स्वयंसेविकाले पहिलो दिन ६३ महिला र ३९ पुरुष गरी एक सय एकजनको उपचार गरिएको थियो। यो कार्यक्रम क्रमिकरूपमा नगरपालिकाका सबै वडामा सञ्चालन गरिने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .