समाज


अध्ययनको निष्कर्ष : कर्णालीभन्दा काठमाडौँमा महिनावारी विभेद दोब्बर

अध्ययनको निष्कर्ष : कर्णालीभन्दा काठमाडौँमा महिनावारी विभेद दोब्बर

महिनावारी विभेदसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम


नेपालखबर
चैत २८, २०८० बुधबार १९:४५, काठमाडौँ

देशको संघीय राजधानी काठमाडौँमा महिनावारी विभेदको अवस्था कर्णालीको तुलनामा दोब्बरभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ।

दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनले गरेको ‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी’ शीर्षकमा सर्लाही, काठमाडौं र जुम्लामा गरेको अध्ययनले कर्णालीभन्दा धेरै महिनावारी विभेद काठमाडौँमा रहेको निष्कर्ष निकालेको हो।

अध्ययनले युवा महिलाले तीनवटै जिल्लामा ३१ देखि ६६ प्रकारका महिनावारी विभेदका अभ्यास भोगिरहेको तथ्य सतहमा ल्याएको छ।

अध्ययन प्रतिवेदनअनुसार, सबैभन्दा कम विभेद भएको भनिएको काठमाडौंमा महिलाले महिनावारीका बेला ६६ प्रकारका विभेद झेल्नुपर्छ। यस्ता विभेद सर्लाहीमा ४६ र जुम्लामा ३१ प्रकारका रहेको पाइएको छ।

महिनावारी विभेद अन्त्य नहुँदा यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राप्त हुन नसकेको अध्ययनको निष्कर्ष छ।

तीन जिल्लाका तीन स्थानीय तहका ४ सय ७१ युवा महिलाको बीचमा गरिएको अध्ययनले सबैले कुनै न कुनै किसिमको महिनावारी विभेद भोगेको देखाएको छ। १८ देखि २५ वर्षमा युवा महिलाका बीचमा फाउन्डेसनले तीन महिना लगाएर अध्ययन गरेको थियो। 

काठमाडौं महानगरपालिकाको वडा नम्बर ५, सर्लाहीको लालबन्दी नगरपालिका र जुम्लाको तातोपानी गाउँपालिकामा फाउन्डेसनले अध्ययन गरेको थियो। तीनवटै जिल्लाका ८७ प्रतिशत युवा महिलाले महिनावारी भएका बेला कुनै न कुनै ठाउँमा हिँडडुल गर्न नपाएको र ७० प्रतिशतले खानामा विभेद भोगेको बताएका छन्।

महिनावारीलाई अझै पनि अशुद्ध मान्ने गरेको र ९० प्रतिशत त्यस्तो मान्यता धार्मिक र सांस्कृतिकरूपमा स्वीकार गरेको अध्ययनले देखाएको छ।

फाउन्डेसनकी व्यवस्थापक सपना पौडेलका अनुसार, महिनावारी विभेदले लैंगिक हिंसा बढाएको र यौन तथा प्रजनन स्वास्थ्यमा बाधा पुर्याएको छ। उनका अनुसार, महिनावारीको विषय यौन तथा प्रजनन स्वास्थ्यमा नसमेटिएको र सर्वेक्षणमा सहभागीले पनि जानकारी नपाएको देखिएको छ। 

मर्यादित महिनावारीका विश्व अभियन्ता डा. राधा पौडेलले महिनावारी र योसँग जोडिएको विभेद अन्त्यको विषयले अझै प्राथमिकता पाउन नसकेको बताइन्। पौडेलले विश्वका आधा दर्जन देशले महिनावारी विभेद अन्त्य नगरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राप्त नहुने स्वीकार गरिसके पनि नेपालले अझै आत्मसात् गर्न नसक्नु दुःखद् भएको बताइन्। 

विश्वमा ५ हजारभन्दा बढी महिनावारी विभेदका बोलाउने नामहरू भएको र सबै धर्म तथा समुदायले कुनै न कुनै महिनावारी विभेदको अभ्यास गरिरहेको डा. पौडेलको भनाइ छ। ‘महिनावारीमा देखिने र नदेखिने दुईथरी विभेद छ,’ उनले भनिन्, ‘कर्णाली र सुदूरपश्चिममा गोठमा बस्ने भएकाले देखिएको हो। अध्ययन हेर्ने हो भने त्योभन्दा बढी विभेद काठमाडौं र तराईका जिल्लाहरूमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .