राजनीति


जसपा किन फुट्यो? उपेन्द्र यादवले दिए यी ८ कारण

‘सरकार ढाल्न लागेको भनेर भ्रम फैलाइयो, पैसाको चलखेल भयो’
जसपा किन फुट्यो? उपेन्द्र यादवले दिए यी ८ कारण

तस्बिर: सरोज नेपाल


नेपालखबर
बैशाख २६, २०८१ बुधबार १७:१, काठमाडौँ

सत्तारूढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो दल विभाजन भएपछि पहिलोपल्ट पत्रकार सम्मेलन गरे। यस क्रममा उनले आफ्नो पार्टी फुटाउने नेताहरूलाई मात्र आरोपित गरेनन्, सत्ता सहयात्री दलका शीर्ष नेतादेखि निर्वाचन आयोगसम्मैलाई दोषारोपण गरे।

उनले मुख्यतः यी ८ कारणले आफ्नो पार्टी फुटेको निष्कर्ष सुनाए-

१. मन्त्रीको प्रलोभन र पैसाको चलखेल
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवले आफ्नो पार्टी फुटाउन आफूले सरकार ढाल्न लागेको भ्रम फैलाएको र पैसाको समेत चलखेल गरिएको आरोप लगाएका छन्।

पैसाको चलखेल कसले गरेको हो भनेरचाहिँ उनले खुलाएनन्।

‘पाँच–सात जना सांसदहरूलाई मन्त्री बनाइदिने, अनेक प्रलोभन दिएर, खर्च गरेर भए पनि भेला पारेर पार्टी फुटाए,’ यादवले पत्रकार सम्मेलनमा भने, ‘जुन किसिमको प्रचार गरिँदै छ, त्यसले जनाधार पाउँदैन। जनता त्यस्ता भ्रममा पर्दैनन्।’

पार्टीमा कुनै सैद्धान्तिक र वैचारिक मतभेद नभएको र अहिलेसम्म कसैले असहमति पनि नराखेको उनको भनाइ थियो।

आफू विदेश (अमेरिका) गएका बेला आफैले कार्यवाहक अध्यक्ष दिएका व्यक्ति नै सहभागी भएर पार्टी फुटाएकोमा उनले असन्तोष पोखे।
विशुद्ध व्यक्तिगत महत्त्वाकांक्षा र स्वार्थका आधारमा पार्टी फुटाएको टिप्पणी पनि उनले गरे।

जेठ २८ र २९ मा हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टी अघि बढिसकेको अवस्थामा एक–दुई जनालाई मन्त्री बन्न मन लागेपछि यो परिघटना भएको उनको बुझाइ थियो। वैचारिक असहमति भए केन्द्रीय समिति वा महाधिवेशनमा राख्न सकिने अवस्था हुँदाहुँदै अत्यधिक महत्त्वाकांक्षा भएका र स्वार्थ प्रेरित व्यक्तिहरूले पार्टी फुटाएको उनको आरोप थियो।

‘वैचारिक सैद्धान्तिक कुरा छैन, मुद्दामा फरक छैन,’ यादवले भने, ‘व्यक्तिगत महत्त्वाकांक्षा भन्ने हो भने सांसद बनेकै छन्, मन्त्री बनेकै छन्। त्यहाँभन्दा बढी बनाउने क्षमता हामीसँग छैन (हाँस्दै)। तर पनि त्यहाँभन्दा बढी केही भए भन्या भए हुन्थ्यो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पनि यही कुरा राखेको उनले बताए।

२. हल्ला चलाइयो
यादवले आफू अमेरिका गएका बेला यता सरकार ढाल्न र आफै प्रधानमन्त्री बन्न लागेको हल्ला चलाइएको भन्दै त्यसलाई निराधार र कपोलकल्पित भनेर खण्डन गरे। यो हल्ला चलाउने सत्तारूढ दलकै शीर्ष नेताहरू नै भएको उनको भनाइ थियो। 

‘म अमेरिका गएका बेला एउटा हल्ला चलाइयो, जसपा र एकीकृत समाजवादीले कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भए भनेर,’ उनले भने, ‘अत्यन्तै निराधार, कपोलकल्पित। कसैकसैले त्यही हल्लालाई मौका छोपेर पार्टी फुटाए।’

यतिसम्म कि उनले आफू सिसाको घरमा बसेर अरूको घरमा ढुंगा नहान्न चेतावनीसमेत सत्ता साझेदार दलका प्रमुख नेतालाई दिए।

‘ठूला नेताहरुले आफू सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्नुहुँदैन,’ उनले भने, ‘ढुंगा फर्किएर आफ्नै घर पनि चकनाचुर हुन सक्छ। उहाँहरूले भ्रम फैलाएर नै यो दुर्घटना भयो।’

३. आयोगले हेरेन कानुन
निर्वाचन आयोगले पनि कानुनी शून्यतामा रातारात पार्टी दर्ता गरिदिएको उनको गुनासो थियो।

‘ऐन नै नभएको, विधेयक छलफलमा विचाराधीन रहेको अवस्थामा गैरकानुनी तरिकाबाट, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरी प्रमाणपत्र दिइएको छ,’ उनले भने, ‘यति छिटो पार्टी दर्ता प्रमाणपत्र दिइएको इतिहासमै पहिलोपल्ट होला। यसरी असंवैधानिक तवरले पार्टी दर्ता गरिएकाले त्यसलाई हामी अदालतमा चुनौती दिन्छौँ।’

४. अल्पमतको महत्त्वाकांक्षा
केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी र संसदीय दलमा पनि बहुमत सदस्य आफैसँग रहेकाले अल्पमत पक्षको महत्त्वाकांक्षाले वैधता प्राप्त नगर्ने उनको ठोकुवा थियो।

‘केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी सदस्य हामीसँगै छन्। कार्यकारिणी समितिमा बहुमत यहाँ बसिरहनुभएकै छ,’ उनले व्याख्या गरे, ‘संसदीय दलमा राष्ट्रिय सभाका समेत गरी १५ मध्ये ८ सदस्य हामीसँगै हुनुहुन्छ। पार्टी आउँदा दिनमा अझ सुदृढ भएर जान्छ। मुद्दा, विचार र ठूलो कार्यकर्ता पंक्ति नै हाम्रो बल हो।’ 

आफूले कसैको गुनासो नसुनेको र एकमना ढंगले पार्टी चलाएको भन्ने आरोपको पनि खण्डन गर्दै उनले दोष जति विभाजित समूहमाथि नै थुपारे।

‘म यहाँ हुँदासम्म कसैको गुनासो थिएन,’ यादव हल्का व्यंग्यात्मक बन्न खोजे, ‘म यहाँ नभएका बेला कसरी सुन्ने त? नेता नै उहाँहरू त हुनुहुन्थ्यो। कुरा सुनिदिएन भन्ने कुरा कसरी भयो? उहाँहरुमध्येकै एक जनालाई कार्यवाहक दिएर गएको थिएँ। उहाँले पो अरुको कुरा सुन्ने हो। आएका समस्या उहाँले हल गर्नुपर्ने थियो।’

५. परिवर्तनविरोधीको षड्यन्त्र
यादवले यस घटनालाई लोकतन्त्र र परिवर्तनविरोधी कदमका रुपमा पनि अर्थ्याए।

उनले भने, ‘नित्तान्त व्यक्तिगत स्वार्थमा लागेर लोकतन्त्रलाई धरापमा पार्ने, पहिचानको आन्दोलन चलिरहेको छ, ती मुद्दाहरुलाई धरापमा पार्ने, मधेसका मुद्दालाई धरापमा पार्ने, संघीयतालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरे।’

आफूले परिवर्तनको एजेन्डा बोकेकैले विरोधीहरूले बारम्बार आफ्नो पार्टीलाई तारो बनाउने गरिएको दाबी पनि यादवले गरे।

‘तर, हामीलाई के लागेको छ भने हामीले दह्रो गरी संघीयताका मुद्दा उठाएका छौँ। गणतन्त्रका मुद्दा उठाएका छौँ। लडेका छौँ, उपलब्धि प्राप्तिका लागि,’ उनले भने, ‘पहिचानको आन्दोलन अगाडि बढाएका छौँ। समावेशिताको आन्दोलन अगाडि बढाएका छौँ। विकास र समृद्धिका मुद्दा निरन्तर अगाडि बढाइरहेका छौँ। ती मुद्दालाई निस्तेज पार्ने, समाप्त पार्ने, राजनीतिक रूपले प्रहार गर्ने काम पटकपटक हुँदै आएको छ। विभिन्न कोणबाट हुँदै आएको छ। हाम्रो पार्टी हर अवस्थामा अन्तिम क्षणसम्म लडिरहन्छ। कहिल्यै पछाडि हट्दैन।’ 

६. विभाजनको परम्परा
उनले नेपाली राजनीतिमा दल विभाजन नौलो कुरा नरहेको भनेर पनि प्रस्ट्याए।

‘नेपालमा कुनै पार्टी अछुतो छैन, जो फुटेको नहोस्,’ उनको भनाइ थियो, ‘कम्युनिस्ट पार्टी बढी फुट्छन्। त्यसमा मेरो लामो अनुभव छ। ६३ पटक म (कम्युनिस्ट पार्टीमा) हुँदैखेरि फुटिसकेका थिए।’

७. सरकारबाट हटाउने खेल
आफूलाई सत्ताविमुख बनाउन खोज्नेहरूका कारण पनि पार्टी फुटेको उनको बुझाइ थियो। 

तर, सरकार नछाड्ने र ठूला दलका व्यवहारका आधारमा निर्णय गर्ने जानकारी उनले पत्रकार सम्मेलनमा दिए।

सत्ता साझेदार दलका शीर्ष नेताहरूले आफ्नाबारे भ्रम फैलाएको, पार्टी फुटाइदिएको, अनेकौँ चलखेल गरेको भनेर आरोप लगाइरहेकै बेला उनले सरकार भने नछाड्ने धारणा राखे।

‘सरकारमै रहेका पार्टीका नेताहरुले भ्रम फैलाएर जसपाले यो सरकार ढालेर अर्को बनाउन लाग्यो भनेर, त्यो अत्यन्त कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफवाह हो,’ उनले बारम्बार भने, ‘यति हुँदाहुँदै पनि हामीले सरकारलाई समर्थन निरन्तर कायम राखेका छौँ। फिर्ता लिएका छैनौँ र यो रहन्छ।’

८. वैकल्पिक कसरत
मौजुदा गठबन्धन भत्काएर नयाँ वैकल्पिक समीकरण बनाउने कसरतमा मिसिएको भन्ने सत्ताधारी दलहरूको आरोपको उनले खण्डन गरिरहे। तैपनि, आफ्नो पार्टीको विभाजनले अस्थिरतातिर नै राजनीति अघि बढेको संकेत गरे।

पार्टी फुटेपछि निकै नरम र रक्षात्मक देखिएका यादवले आफू स्थायित्वको पक्षमा रहेकोले सरकारलाई समर्थन कायमै राख्ने भनिरहँदा गठबन्धनको नेतृत्वलाई नरम शैलीमा धम्क्याउन भ्याए।

‘बाँकी यसपछि कसरी घटनाक्रम विकास हुन्छ, आउने परिस्थितिमा निर्भर रहन्छ,’ आफू यही सरकारको निरन्तरताको पक्षमा रहेको प्रस्टीकरण दिँदै उनले केही सर्त अघि सारे, ‘बाँकी कोर्स कसरी जान्छ, हेरौँ। एक हातले ताली त बज्दैन। उहाँहरूले पनि मुलुकको बर्बादी र अस्थिरताको जिम्मेवारी लिनुपर्ने होला नि।’

वैकल्पिक समीकरणको कसरतकै कारण आफ्नो दल फुटेको भन्ने कुरा उनले प्रकारान्तरले स्वीकार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .