राजनीति


राजावादीको कन्तबिजोगमा प्रसाईं समूह खुसी

राजावादीको कन्तबिजोगमा प्रसाईं समूह खुसी

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १०:५४, काठमाडौँ

प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र प्रदेश सभाअन्तर्गत बझाङ–१ मा भएको उपनिर्वाचनमा राजावादीहरूको कन्तबिजोग भयो।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा (हलो) बाट इलाममा लक्ष्मी गुरुङ उठेका थिए। उनले जम्मा ४ सय ४ मत पाए। ६९ हजार मत खसेको इलाममा उनले पाएको यो मत कुल सदर मतको एक प्रतिशतभन्दा पनि कम हो। शून्य दशमलव ५९ प्रतिशत मात्र उनले पाए।

आफूलाई राजावादी नै भन्ने कमल थापा नेतृत्वको राप्रपा नेपाल (तीर)ले त झन् ४३ मत मात्र पायो। यस समूहबाट गणेशबहादुर चौहान उठेका थिए।

उता बझाङमा राप्रपाका किशोरकुमार खड्काले २ सय ४२ मत पाए। प्रतिशतका हिसाबले यो पनि करिब इलामकै जस्तो हो। कुल सदर मत २९ हजार ७ सय ५ रहेकोमा खड्काले पाएको मत प्रतिशत शून्य दशमलव ८१ हुन्छ। त्यहाँ राप्रपा नेपालको त उम्मेदवार नै थिएन।

अहिले राजा फर्काउने अभियानमा दुर्गा प्रसाईंले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। राजावादीहरूले पाएको यस मतप्रति प्रसाईंको बुझाइ के छ? 

‘हामी खुसी छौँ,’ प्रसाईँको नागरिक बचाउ अभियानका केन्द्रीय संगठन विभाग प्रमुख हरि कार्की भन्छन्, ‘हाम्रो अभियान सफल भएको छ।’

प्रसाईँ समूहले यस उपनिर्वाचनमा नो भोट अभियान चलाएको थियो। इलाममा त उसले व्यापक प्रदर्शन नै गरेको थियो।

‘एकातिर संघीयताको विरोध गर्ने, अर्कोतिर प्रदेशमा भाग पाउन मोलमोलाइ गर्ने, च्याँखे दाउ थाप्ने,’ कार्की भन्छन्, ‘राजावादीको खोल ओढेर आफ्नो दुनो सोझ्याउने प्रवृत्तिको नांगेझार भएको छ।’

समग्रमा पनि अघिल्लो चुनावभन्दा यसपालि कम मत खसेको र त्यो आफ्नै अभियानका कारण भएको यस समूहको निष्कर्ष छ। इलाममा २०७९ को चुनावमा भन्दा यसपालि करिब ११ हजार कम मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .