नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठन र विघटनको अहिलेको समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको बताएका छन्।
कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता नहुने ठोकुवा पनि गरेका छन्।
संविधान संशोधनमार्फत् सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता कोइरालाले औँल्याए।
'कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने? जनताका काम कहिले गर्ने? विकास कहिले गर्ने?', लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै कोइरालाले प्रश्न गरे।
'संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरू पटक-पटक सत्तामा पुगे पनि संविधान बनाउन सकेनन्', उनले भने, 'जब दोस्रो संविधान सभाबाट कांग्रेस नेतृत्वमा सरकार बन्यो अनि संविधान जारी भयो। परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्नुपर्यो।
कोइरालाले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
कांग्रेसले नै देश बनाउन सक्छ भन्ने सन्देश गाउँघरसम्म पुर्याइदिन पनि कोइरालाले शिक्षकहरूसँग आग्रह गरे।
कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाव बिर्सेर संगठन निर्माणमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे।
Shares
प्रतिक्रिया