राजनीति


पहिचानवादीको अवरोध छिचोल्दै दिक्तेल पुगे एमाले अध्यक्ष ओली

पहिचानवादीको अवरोध छिचोल्दै दिक्तेल पुगे एमाले अध्यक्ष ओली

एमालेको अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली (तस्बिर : सचिवालय)


नेपालखबर
मंसिर २६, २०८० मंगलबार २१:३३, काठमाडौँ

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा रहेका अध्यक्ष केपी शर्मा ओली खोटाङको दिक्तेल पुगेका छन्। पहिचानवादीको अवरोध छिचोल्दै ओली मंगलबार साँझ खोटाङको सदरमुकमा दिक्तेल पुगेर बास बसेका हुन्। 

एमालेको यो अभियानलाई मध्यनजर गर्दै पहिचानवादीले बन्द घोषणा गरेका थिए। खोटाङमा सोमबार साँझ नै राँके जुलुस भएको थियो। मंगलबार बिहान ओली पुग्ने ठाउँको बाटोमा ढुंगा खसाल्ने, रुख ढाल्ने जस्ता क्रियाकलाप गर्दै बाटो अवरोध भएको थियो। 

केही ठाउँमा होक्स (नक्कली बम) पनि राखिएको थियो। 

ओलीसहित एमाले नेताहरूको टोली उदयपुरको घुर्मीमा आयोजित कार्यक्रम सकेर कडा सुरक्षाबीच दिक्तेल पुगेका छन्। उनीहरू मंगलबार राति दिक्तेलमै बसेका छन्। 

बुधबार बिहान भेटघाटका कार्यक्रम राखिएको छ। बुधबार नै उनीहरू चखेवाभन्ज्याङ हुँदै भोजपुर प्रवेश गर्नेछन्। जसका लागि पूर्वमन्त्री समेत रहेका गोपाल किराती पनि हलेसी पुगेका थिए। उनै किरातीले पहिचानवादीको नेतृत्व गरेका थिए। 

ओखलढुंगाको हर्कपुरमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै ओली (तस्बिर : सचिवालय)

मंगलबार किरातीसहित १५ जना नेताहरू पक्राउ परिसकेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले नेपालखबरलाई बताए। 

एमालेको अभियान रामेछापको मन्थली हुँदै मंगलबार सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुरतिर प्रवेश गरिरहँदा पहिचनावादी आन्दोलनमा उत्रिएका थिए।

सुरक्षाकर्मी थपियो
दुवै समूहको पूर्व तयारी अनुसार, झडप र अवरोधको स्थिति उत्पन्न हुने देखिएपछि विराटनगरबाट करिब १ हजार प्रहरी मंगलबार कार्यक्रमस्थल पुर्‍याइएको थियो।

डीएसपीको कमान्डमा रहेको खोटाङमा अहिले एसपी नेतृत्वको सुरक्षा कमान्ड तैनाथ छ। एसपीको कमान्डमा एमालेको अभियानका लागि करिब १२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।

पूर्वमा पहिचानवादीहरूले एमालेलक्षित अवरोध, आक्रमण र तोडफोड समेत गरिरहेकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ।

भोजपुरमा पनि एसपीकै कमान्डमा टोली खटाइसकिएको छ। एमालेको कार्यक्रम बिथोल्न खोज्ने समूहलाई प्रहरीले निगरानी गरिरहेको छ। 

सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .