इलाम–२ र बझाङ (क) दुबै ठाउँको परिणाम नेकपा (एमाले) का पक्षमा आएको छ। इलाम–२ बाट प्रतिनिधिसभामा सुहाङ नेम्वाङ ५ हजार ८ सय ३० मत र प्रदेशसभामा बझाङ (क) बाट दमन भण्डारी २ सय ६७ मतान्तरले विजयी भएका छन्। संख्यात्मक रुपमा यसले तात्विक महत्व नराखे पनि राष्ट्रिय राजनीतिमा सन्देश चाहिँ गजबले दिएको छ।
इलाम–२ मा एमालेको विजय अपेक्षित नै थियो। तर, पाँचपटक लगातार जितेको ठाउँमा ‘इन्कुम्बेन्सी फ्याक्टर’ नभएको होइन। कांग्रेसभित्र देखिने गरी कोइराला (परिवारवाद) को पुच्छर समातेर (शेखरको पछि लागेर) महामन्त्री जितेका गगन थापाले ‘के इलाम राजतन्त्र चाहन्छ?’ भन्दै जुन अभिव्यक्ति दिए, त्यसले एमाले पंक्ति जुर्मुराएको थियो। फलस्वरुप सुहाङको मतान्तर अपेक्षाभन्दा फराकिलो भएको छ। यसो हुनुमा माओवादीको समर्थनले भूमिका निर्वाह गरेको छ।
बझाङमा चाहिँ एमालेलाई चोखो फाइदा भएको छ। कांग्रेसले जितेको सिट एमालेसँग आएको छ। एमाले बलियो रहेको बझाङमा अप्राकृतिक गठबन्धन गरेर हराइएको बदला एमालेले लिएको छ। त्यही भएर एमालेले आफ्ना विरुद्ध घेराबन्दी गरिएको कुरालाई जोडका साथ उठाइरहेको छ। बझाङमा एमाले, कांग्रेस, माओवादी, समाजवादी– सबै आ–आफ्नै बलमा लड्दा पनि एमालेले जितेको छ। चुनाव हारेपछि कांग्रेसका नेताहरुले नै सार्वजनिक रुपमा भनेका छन्, ‘त्यहाँ एमाले नै बलियो हो, अघिल्लो पटक हामीले गठबन्धनका आधारमा जितेका हौँ, हामी बलिया होइनौँ।’ अघिल्लो पटक नै समानुपातिकमा एमाले पहिलो नम्बरमा थियो। यस कुरालाई अहिलेको निर्वाचनले पुष्टि गरेको छ।
एमालेले निरन्तर आफ्नो जनमत लुटिएको कुरा उठाइरहेको छ। ०७९ मा जनताको मत एकातिर थियो, मन एमालेलाई पराएका थिए। तर, विभिन्न पार्टी मिलेर त्यसलाई प्राविधिक रुपमा अल्पमतमा पारिएको थियो। त्यसलाई बझाङले सच्याउन सुरु गरेको छ।अर्थात् एमालेको लुटिएको जनमत फिर्ता हुने क्रम सुरु भएको छ।
उपचुनाव नै भए पनि एउटै निर्वाचनले सबैलाई सन्देश दिएको छ। हुलफालमा शहरी इलाकामा उपस्थिति देखिएपछि भूइँ न भाँडाका भएका राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुलाई पनि राम्रो सबक सिकाएको छ। छोटा सपनाहरुको आयु लामो हुँदैन। आज उम्मेदवारी घोषणा गर्ने, भोलि मनोनयन दर्ता गर्ने, पर्सि प्रचार गर्ने र अर्को दिन चुनाव जितेर आइहाल्ने कुरा नियमित हुन सक्दैन, कहीँकतै अपवादबाहेक। यसपटक इलाममा त्यही भएको छ। रास्वपाको धरौटी जफत गराएर इलामेली जनताले राम्रो पाठ पढाएका छन्।
सुवास नेम्वाङ लिम्बु समुदायबाट हालसम्म सर्वोच्च पदमा पुग्ने एक मात्र व्यक्ति थिए। यद्यपि, उनले आफूलाई कहिल्यै पनि त्यस रुपमा चिनाएनन्। उनले पाँच पटक जितेको इलाममा उनलाई नै कथित पहिचानविरोधी कायम गर्ने हर्कतलाई जनताले असफल सावित गरिदिएका छन्। एमालेलाई पहिचानविरोधी शक्तिका रुपमा चित्रित गर्ने र त्यस क्षेत्रमा बसोबास गर्ने सबैको साझा पहिचानका रुपमा सहमतिका साथ घोषित कोशी प्रदेशलाई राजनीतिक दाउपेचको विषय बनाउने कुरा पनि निर्वाचनबाट खारेज भएको छ।
हारका बेला कसैलाई पनि खुच्चिङ गर्नु राम्रो होइन। तर, यथार्थ सार्वजनिक भएपछि त्यसलाई अस्वीकार गर्न पनि मिल्दैन। नेकपा (एमाले) बाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) र विशेषगरी त्यसका नेता झलनाथ खनालको स्थिति हदैसम्म उजागर भएको छ। माधवकुमार नेपालले सुवास नेम्वाङका छोरालाई सहयोग गर्ने हो कि भनेर पार्टीभित्र कुरा राख्नासाथ चार हात उफ्रेर ‘इलामको जिम्मा म लिन्छु, त्यहाँ हाम्रो पार्टीले चुनाव जित्छ’ भनेर कमान्डरको जिम्मा लिने झलनाथको वडाबाट कलममा जम्मा ८ मत आएको छ। ६९ हजारले मतदान गरेको सिंगो क्षेत्रबाट एकीकृत समाजवादीले जम्मा ४ सय ८ मत पाएको छ। सम्मानित पदवीले सिंगारिएका झलनाथको यसभन्दा चर्को अपमान आफ्नै भूमिमा अरु के होला र? अब चाहिँ तत्कालै उनले राजनीतिबाट सन्यास लिएको घोषणा गर्न केले नै छेकेको होला र? खासमा यस निर्वाचनमा झलनाथ एमालेको समर्थनमा आफै चुनाव लड्न चाहन्थे। हावाले बढारिसकेको कसिंगरलाई एमालेले कुचो लगाएर फर्काउने कुरै थिएन। त्यसबाट आक्रोशित भएका उनले दिएका अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल छन्।
कथित राजावादीहरुको हालत पनि यस्तै छ। तमोरलाई माथितिर फर्काइहालौँला झैँ गरी होहल्ला गरेका राजावादीहरुको धरौटी मात्र होइन, राजनीति नै जफत भएको छ। दुई–चारजना मानिसहरु राजधानीमा जम्मा गरेकै आधारमा नवीन समझदारी गर्ने बेला भयो भनेर गरिएको होहल्लालाई पनि जनताले जवाफ दिएका छन्। प्रतिस्पर्धी एमाले र कांग्रेस नै हुन्। इलाम र बझाङ दुबै ठाउँमा त्यही पुष्टि भएको छ। चुनावी फाइदाका लागि कांग्रेसले तुच्छ राजनीति गरे पनि प्रतिस्पर्धा यी दुईकै बीचमा छ।
यस प्रकरणमा कांग्रेसले दुईवटा गम्भीर भूल गरेको छ :
पहिलो, इलाममा कांग्रेस र यसका उम्मेद्वार डम्बर खड्काले आफूलाई कथित पहिचानका पक्षमा उभ्याएर आफ्नै मान्यताको खिल्ली उडाए। कोशी प्रदेश कांग्रेस, एमाले र माओवादी मिलेर घोषणा गरिएको हो, त्यो त्यस क्षेत्रका जनताको साझा पहिचान हो। तर, चुनावका बेला कांग्रेसका उम्मेदवारले आफू एकल पहिचानको पक्षधर रहेको र १४ जिल्लाका सभापतिहरुको भेला गरेर पहिचानका पक्षमा वक्तव्य दिएको कुरालाई जोडतोडका साथ प्रचार गरे। फलतः कांग्रेसभित्रकै एकल पहिचान चाहनेहरुले दोहोरो चुनावी चाल बुझे र यदि एकल पहिचानकै पक्ष लिने हो भने स्वतन्त्रबाट उठेका मुढा चिन्हधारीलाई मतदान गरे।
दोस्रो, कांग्रेसमा कागजी बाघका रुपमा चिनिने दुबै महामन्त्रीले इलाममा व्यक्तिगत आक्रमणमा उत्रिएर चुनाव प्रचार गरे। बझाङमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यको मृत्युपछि उनकै छोरालाई टिकट दिएर इलाम पुगेका गगनले एमालेका उम्मेद्वारलाई राजतन्त्रसँग तुलना गरे। उनलाई थाहा हुनुपर्ने हो, इलाममा बोलेको कुरा बझाङमा पनि पुग्छ। इलाममा त्यसले सुहाङप्रति झन् सहानुभूति बढायो नै, बरु बझाङमा २ सय ६७ मतले हार्ने कांग्रेसका उम्मेद्वारलाई चाहिँ के कति प्रभाव पार्यो कुन्नि? अर्का महामन्त्री विश्वप्रकाश शर्मा अखडा जमाएर इलाम बसे पनि कुनै उपलब्धि हासिल गर्न नसक्दा, पुरानो मत पनि जोगाउन नसक्दा शेरबहादुर देउवाको विरोध गरेर मात्र यिनीहरुको राजनीति कहाँसम्म पुग्ला भन्ने प्रश्न उनीहरुभित्रै जन्मेको छ।
एमाले फेरि एकपटक उत्साहित भएको छ। समीकरण परिवर्तनको औचित्य पुष्टि भएको छ। एमालेको दिमागमा २०८४ छ। ०७९ मा जबर्जस्ती लुटिएको जनमतलाई फर्काउन एमाले आतुर छ। स्वाभाविक छ, यो सबै अध्यक्ष केपी शर्मा ओलीको इन्जिनियरिङमा भइरहेको छ।
(विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)
Shares
प्रतिक्रिया