दिवंगत साहित्यकार परशु प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
प्रधानको ८० वर्षको उमेरमा गएराति काठमाडौंको बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको थियो।
विसं २००० सालमा भोजपुरमा जन्मिएका प्रधानले नेपाली कथा लेखनका क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका थिए। नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका प्रधानले २०१६ सालबाट नेपाली साहित्यमा औपचारिक कलम चलाउँदै आएका थिए।
प्रधानले २०१६ सालमा ‘जीवन पथ’कविता बाट लेखन यात्रा प्रारम्भ गरेका थिए। २०२५ मा ‘सबै बिर्सिएका अनुहारहरू’ प्रकाशित थियो।
हालसम्म उनका १३ वटा कथा संग्रह प्रकाशित छन्। ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, नेपलिज लभ स्टोरी र धनिया कथा उनका प्रकाशित कथासंग्रह हुन्।
उनका करिब एक दर्जन बाल कथाहरू पनि प्रकाशित छन्। उनको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो। उनको अन्तिम बिदाइमा आफन्त, शुभचिन्तक एवं साहित्यप्रेमीको ठूलो उपस्थिति थियो। परशु प्रधानका दुई छोरा र दुई छोरी छन्।
Shares
प्रतिक्रिया