गायिका तथा मोडल रोसली नम्ब्रेको चर्चा १ मे (१९ वैशाख) सम्म आफ्नै मुलुक युक्रेनमा मात्र सीमित थियो। युक्रेनी संस्करणको रियालिटी सो ‘द ब्याचलर’ की एक पूर्वप्रतियोगी नम्ब्रे १ मईपछि विश्वभर चर्चित बन्न पुगेकी छन्।
खासगरी परराष्ट्र मामिला र रुस–युक्रेन युद्धबारे चासो राख्ने विश्वका अन्य मुलुकका नागरिकहरुले नम्ब्रेको नाम सुन्न थालेका छन्।
युद्ध वा कूटनीतिमा निर्वाह गरेको भूमिका वा गीत–मोडलिङका कारण नम्ब्रेको नाम यसरी चर्चामा आएको होइन। कन्सुलर मामिला सम्बन्धी प्रावधान सार्वजनिक गर्न युक्रेनले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोगमार्फत् ‘डिजिटल प्रवक्ता’ लाई अघि सारेपछि नम्ब्रेको चर्चाले युक्रेनी सीमा पार गरेको हो।
किनकि युक्रेनद्वारा डिजिटल प्रवक्ताको रुपमा अघि सारिएकी सुन्दरी ‘भिक्टोरिया शी’ को अनुहार नम्ब्रेसँग मिल्दोजुल्दो छ।
कन्सुलर सम्बन्धी प्रवक्ताका रुपमा भिक्टोरिया सार्वजनिक भएसँगै युक्रेनी परराष्ट्रमन्त्री दिमित्री कुलेबाले स्रोत र समयको बचतका लागि भिक्टोरिया शीलाई डिजिटल प्रवक्ताको जिम्मेवारी दिइएको र यो निर्णयमार्फत् आफ्नो मुलुकले प्रविधि कूटनीतिमा छलाङ मारेको दाबी गरेका छन्।
हुन पनि युक्रेनबाहेक अन्य कुनै मुलुकले त्यसअघि परराष्ट्र मन्त्रालयमा डिजिटल प्रवक्ताको व्यवस्था गरेका थिएनन्। ‘भिक्टोरिया शी’ले यो जिम्मेवारी पाएसँगै उनैलाई विश्वको पहिलो डिजिटल प्रवक्ताको उपमा दिइएको थियो।
खासमा रुससँगको युद्धमा आफ्नो हात माथि पार्न युक्रेनले एआई निर्देशित यी सुन्दरी यन्त्रमानवलाई ‘टुल अफ प्रोपोगान्डा’ (प्रचारको साधन) का रुपमा परराष्ट्र प्रवक्ता घोषणा गरेको हो।
झट्ट हेर्दा झुक्किने व्यक्तित्व
‘भिक्टोरिया शीसँग भेट’ युक्रेनी परराष्ट्र मन्त्रालयको वेबसाइटमा १ मेमा भिडिओसहित पोस्ट गरिएको ट्विटमा भनिएको छ, ‘कन्सुलर मामिलाबारे समयमै जानकारी उपलब्ध गराउने युक्रेनको परराष्ट्र मन्त्रालयकी डिजिटल प्रतिनिधि।’
👋 Meet Victoria Shi — a digital representative of the MFA of Ukraine, created using AI to provide timely updates on consular affairs!
— MFA of Ukraine 🇺🇦 (@MFA_Ukraine) May 1, 2024
For the first time in history, the MFA of Ukraine has presented a digital persona that will officially comment for the media. pic.twitter.com/KTtuCVR1ku
भिडियोमा श्याम–स्वेत वर्णकी एक पातली सुन्दरी देखिन्छिन्। ‘सम्बन्धित मिडियाका प्रिय प्रतिनिधि र जनसमुदायहरु, म तपाईंहरुलाई यहाँ स्वागत गर्न चाहन्छु,’ सम्बोधनको सुरुवातमै ती सुन्दरी भन्छिन्, ‘म भिक्टोरिया शी हुँ।’
एआई प्रविधि प्रयोग गरेर निर्मित यान्त्रिक मानवहरु हामीले थुप्रै देखेका छौँ। तर, प्रत्यक्ष, युट्युब वा अन्य माध्यममा देखिने यस्ता यन्त्र–मानवहरु कृत्रिम हुन् भन्ने हामी पहिचान गरिहाल्छौँ।
किनकि, तिनको बनोट वा हाउभाउमा कहीँ न कहीँ कृत्रिमपना उद्घाटित भएकै हुन्छ।
तर, ‘भिक्टोरिया शी पनि कृत्रिम महिला हुुन्’, उनको प्रस्तुतिबाट कसैले यस्तो अनुमान गर्न सक्दैन। आँखा झिम्काइ र टाउको हल्लाइ, शरीरको चाल र हातको हाउभाउका कारण उनी आफ्ना कुरा प्रभावकारी र आकर्षक रुपमा राख्नसक्ने युवती नै हुन् भन्ने लाग्छ।
तर, जब आफ्नो नाम, काम र आफ्नैबारे उनी बताउन सुरु गर्छिन्, त्यसपछि बल्ल उनी कृत्रिम मानव रहिछन् भन्ने पत्याउन कर लाग्छ।
‘तपाईंहरुलाई कन्सुलर मामिलाका सन्दर्भमा समयमै उच्चस्तरको सूचना उपलब्ध गराउन युक्रेनको परराष्ट्र मन्त्रालयद्वारा मेरो सिर्जना गरिएको हो,’ उनी भन्छिन्, ‘खासमा म डिजिटल पर्सन हुँ। यसको मतलब के भने मैले यहाँ पढिरहेको सामग्री असली मानिसले पढेको हो भन्ने नठान्नु होला। खासमा यो सामग्री (भिडिओ) आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतबाट उत्पादन गरिएको हो।’
‘प्रमाणित सूचना’ लाई समयमै जनतासमक्ष पु¥याउनु र विदेशमा रहेका युक्रेनी नागरिकहरुको अधिकार र स्वार्थहरुको रक्षा गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको उनले बताएकी छन्।
हेर्दाकी सुन्दरी, सुन्दाकी बाठी
युक्रेनी परराष्ट्र मन्त्रालयको कन्सुलर मामिला सम्बन्धी प्रवक्ता भएकाले सेवाग्राही र पत्रकारहरुले उनीसँग जिज्ञासा राख्न सक्छन्। तर, आफूखुसी जवाफ दिने अधिकार भने युक्रेन सरकारले उनलाई प्रदान गरेको छैन।
युक्रेनी परराष्ट्र मन्त्रालयका अधिकारीहरुले तयार पारेको जवाफ मात्र उनले पढ्न पाउँछिन्।
‘रेडियो फ्री युरोप–रेडियो लिबर्टी’ का पत्रकार रेल फुर्लाेंगले भिक्टोरियासँग अन्तर्वार्ता पनि लिन भ्याएका छन्। अन्तर्वार्तामा उनले आफ्नो काम परराष्ट्र मन्त्रालय अन्तर्गत विविध प्रकारका नियमित कामहरु सञ्चालन गर्नु रहेको उल्लेख गरेकी छन्।
‘तपाईंले गर्नसक्ने त्यस्तो फरक काम के छ?’ फुर्लाेंग भिक्टोरियालाई सोध्छन्, ‘जुन काम मानिसले गर्न सक्दैनन्?’
भिक्टोरिया जवाफ दिन्छिन्, ‘म नसुतीकन काम गर्नसक्छु। युद्धको समयमा यो क्षमता निकै उपयोगी हुन्छ।’
उनी थप्छिन्, ‘म विश्वका ३० वटा लोकप्रिय भाषा सरर्र बोल्न पनि सक्छु। धेरै कम मानिसले मात्र यति धेरै भाषा बोल्न सक्छन्। यसबाहेक मैले थप भाषा पनि सिकिरहेकी छु।’
‘अर्काे कुरा मलाई बिहान देख्नुभयो भने पनि म फ्रेस देखिन्छु,’ उनी ठट्यौलो जवाफ दिन्छिन्, ‘किनभने म रातमा ढिलो गरी सुत्दिनँ।’
अन्तर्वार्तामा फुर्लाेंगले उनलाई अर्काे प्रश्न पनि सोधेका छन्, ‘परराष्ट्र मन्त्रालयले तपाईंलाई नै किन प्रवक्ता बनाएको होला?’
रुससँगको युद्ध जित्न युक्रेनी परराष्ट्र मन्त्रालयबाट आफूले यो जिम्मेवारी पाएको उनले उल्लेख गरेकी छन्।
‘युक्रेन यतिबेला युद्ध–कूटनीतिको अवस्थामा छ। थोरै रुढीवाद पनि पछ्याउने भएकाले नवप्रवर्तन (इनोभेसन) मा जान हिचकिचाउने स्वभाव कूटनीतिको हुन्छ,’ उनी भन्छिन्, ‘तर, हामी रुससँगको युद्ध जित्न चाहन्छौँ। विजयका लागि प्रविधिमा हामी एक पाइला अघि हुनैपर्छ। मेरो उपस्थितिबाट हामी प्रविधिमा पनि अघि छौँ भन्ने कुरा तपाईं देख्न सक्नुहुन्छ।’
यो जवाफले बताउँछ, भिक्टोरिया सुन्दरी मात्र छैनन्, बाठी पनि छन्।
तर, फेरि पनि ख्याल गरौँ, यो जवाफ उनले वाचन मात्र गरेकी हुन्, तयार चाहिँ परराष्ट्र मन्त्रालयका अधिकारीले पारेका हुन्।
प्रोपोगान्डाकी मतियार
युद्धमा हातहतियार र सेनाको जतिकै महत्व प्रोपोगान्डा (बढाइचढाई गरिएका सूचना) को हुन्छ।
युक्रेनले डिजिटल प्रवक्ताको रुपमा ‘भिक्टोरिया शी’ लाई अघि सार्नुको उद्देश्य ‘वार प्रोपोगान्डा’ पनि हो।
उनको नामको बनोटले पनि यो कुरा प्रष्ट पार्छ।
‘आर्टिफिसियल इन्टिलिजेन्स’ को युक्रेनी रुपान्तरण ‘श्तुकनीय इन्टिलेक्ट’ हुन्छ। ‘श्तुकनीय इन्टिलेक्ट’ को छोटकरी रुपबाट नामको पछिल्लो ‘शी’ लिइएको हो।
‘युद्धमा विजय (भिक्टोरी) हाम्रै हुन्छ’ भन्ने सन्देश दिन नामको अघिल्लो भाग ‘भिक्टोरिया’ राखिएको हो। अर्थात् ‘एआईको माध्यमबाट युद्ध जित्छौँ’ भन्ने सन्देश दिन युक्रेनले उनलाई अघि सारेको हो।
‘द गार्जियन’ का अनुसार भिक्टोरिया शीको निर्माण ‘गेम चेञ्जर्स’ ले गरेको हो। ‘गेम चेञ्जर्स’ले रुसविरुद्धको युद्धमा युक्रेनलाई सहयोग पुग्नेगरी ‘भर्चुअल–रियालिटी कन्टेन्ट’ उत्पादन गर्दै आएको छ।
प्रोपोगान्डाबाहेक रुसी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको एउटा विवादास्पद अलोकप्रिय निर्णयलगत्तै उनलाई सार्वजनिक गरिएको छ। त्यसैले, उनी युक्रेनका लागि अप्ठेरोको सारथी पनि बनेकी छन्।
भिक्टोरियाबारे रुसकी मारिया
युद्ध जित्ने ‘प्रोपोगण्डा टुल’ का रुपमा भिक्टोरियालाई सार्वजनिक गरेको तेस्रो दिन नै रुसले युक्रेनलाई जवाफ फर्काएको छ।
‘भिक्टोरियालाई अघि सारेर किभ (युक्रेन) ले देशभित्र र देशबाहिरका आफ्ना जनतासँग संवाद गर्न अस्वीकार गरेको छ,’ ३ मेमा आयोजित पत्रकार सम्मेलनमा रुसी परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनिन्, ‘कृत्रिम प्रतिनिधिमार्फत् किभ जनताको आक्रोशबाट बच्ने उपाय खोजिरहेको छ।’
भिक्टोरियालाई रुसी प्रवक्ता मारियाले ‘बिजुली केटी’को संज्ञा दिँदै युक्रेनलाई उडाएकी पनि छन्।
‘युक्रेनले देशभित्र र बाहिरका आफ्ना जनतासँग अब आफै संवाद नगर्ने रे,’ परराष्ट्र प्रवक्ताको रुपमा यन्त्रमानव भिक्टोरियालाई अघि सार्ने युक्रेनको निर्णयलाई उडाउँदै मारियाले भनेकी छन्, ‘अब त्यो ‘बिजुली केटी’ले युक्रेनी जनताको समस्याबारे छलफल गर्ने रे।’
भिक्टोरिया सार्वजनिक भएको समय–सन्दर्भ हेर्दा रुसी प्रवक्ता मारियाका केही दाबी सत्यको नजिक देखिन्छन्।
जस्तो कि युक्रेनी परराष्ट्र मन्त्रालयले २३ अप्रिल (११ वैशाख) मा कन्सुलर सम्बन्धी नयाँ नियम जारी गरेको छ।
नयाँ नियम अनुसार १८–६० वर्ष उमेरका युक्रेनी पुरुषहरुले पासपोर्टका लागि निवेदन दिन पाउँदैनन्। विदेशमा रहेका युक्रेनीहरुले समेत पासपोर्ट नवीकरणका लागि निवेदन दिन नपाउने व्यवस्था पनि यो नियमले गरेको छ।
पासपोर्ट नवीकरण नहुने भएपछि विदेशमा रहेका युक्रेनी पुरुषहरु पनि यो नयाँ प्रावधान अनुसार स्वदेश फर्कनुपर्ने हुन्छ।
विदेशमा रहेका युक्रेनी पुरुषहरुलाई पनि युद्धमा पठाउने वातावरण निर्माण गर्न राष्ट्रपति जेलेन्स्कीले निर्देशन दिएका थिए। त्यसपछि नै युक्रेनी परराष्ट्र मन्त्रालयले यस्तो नीति ल्याएको हो।
‘मातृभूमिको रक्षाका लागि यो प्रावधान ल्याइएको हो,’ युक्रेनी परराष्ट्रमन्त्री दिमित्री कुलेबाले भनेका छन्। मन्त्री कुलेबाको यो भनाइले पनि सैनिक उद्देश्यका साथ यो नियम ल्याइएको हो भन्ने पुष्टि गर्छ।
युद्धकेन्द्रित कन्सुलर नीतिका कारण राष्ट्रपति जेलेन्स्की मुलुकभित्र निकै आलोचित भए। आक्रोशको प्रत्यक्ष सिकार भने परराष्ट्र मन्त्रालयका अधिकारी बन्नु परेको छ। पासपोर्ट नदिने नीतिबाट पीडित युक्रेनीहरु अधिकारीहरुविरुद्ध खनिएका छन्।
त्यही आक्रोशको प्रत्यक्ष सामना गर्नु नपरोस् भनेर कन्सुलर सम्बन्धी मामिलाको जवाफ दिने गरी युक्रेनी परराष्ट्र मन्त्रालयले भिक्टोरिया शीलाई चलाखीपूर्वक अघि सारेको हो।
अब कन्सुलर सम्बन्धी आवश्यक जवाफ परराष्ट्र मन्त्रालयका अधिकारीहरुले तयार पार्नेछन्। त्यो जवाफ भिक्टोरियाले पढेर सार्वजनिक गर्नेछिन्।
गाली खानु परे भिक्टोरियाले नै खानेछिन्। आखिर उनी यन्त्रमानव हुन्। जसले जतिसुकै गाली गरोस्, उनलाई के नै फरक पर्छ र?
Shares
प्रतिक्रिया