बुधबार नेटफ्लिक्समा रिलिज भएको सञ्जय लीला भन्सारीको वेब सिरिज ‘हीरामन्डी: द डायमन्ड बजार’ चर्चामा छ। सिरिजसँगै अभिनेत्री ऋचा चड्डाको कामको पनि प्रशंसा भइरहेको छ।
यस वेब सिरिजमा उनी लज्जोको भूमिकामा छिन्। हालैको अन्तर्वार्तामा ऋचाले फिल्मसम्बन्धी केही कुरा खुलासा गरिन्।
उनका अनुसार उक्त बेव सिरिजका पात्रले लगाएका सबै गहना सक्कली हुन्। जुन गहनाको मूल्य करोडौँ पर्ने उनको दाबी छ।
ऋचाले हीरामन्डीमा गरेको अनुभव सुनाउँदै भनिन्, ‘यो शृंखलामा देखाइएका सबै कपडा र गहना सक्कली हुन्। यी सबैको लागत करोडौँ रुपैयाँ छ। यदि म यी सबै लगाएर भाग्न सक्छु भने, म आफ्नै अर्को फिल्म बनाउन सक्छु।’
हीरामन्डीमा देखाइएका गहना मात्र होइन, लुगा पनि निकै महँगा छन्। यी कपडा रिम्पल-हरप्रित नरुलाले डिजाइन गरेका हुन्।
रिम्पल- हरप्रित नरुला शानदार बेहुलीको पहिरनका लागि परिचित छन्। दुवैले फिल्म पद्मावतका लागि दीपिका पादुकोण, शाहिद कपुर र रणवीर सिंहको पोसाक डिजाइन गरेका थिए।
सञ्जय लीला भन्सालीको यो सिरिजमा ऋचा चड्डासँगै अभिनेत्री मनीषा कोइराला, अदिति राव हैदरी, सोनाक्षी सिन्हा, फरदीन खान, फरिदा जलाल मुख्य भूमिकामा छन्।
छिट्टै आमा बन्न लागेकी ऋचा ‘मिर्जापुर ३’ र ‘मेट्रो इन दिन’मा देखिनेछिन्।
Shares
प्रतिक्रिया