नेपाल–भारत उद्योग वाणिज्य संघले भारतीय लगानीकर्ताहरुको सहजतालाई मध्यनजर गर्दै ‘इन्भेस्टिङ इन नेपाल’ नामक हाते पुस्तक सार्वजनिक गरेको छ।
१६ र १७ गते आयोजित तेस्रो नेपाल लगानी सम्मेलनको अवसर पारेर अर्थमन्त्री वर्षमान पुन, भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
उक्त हाते पुस्तकमा नेपालमा लगानी गर्न इच्छुक भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नको लागि अपनाउनुपर्ने प्रक्रियाहरु तथा सम्बन्धित निकायहरुलगायत विदेशी लगानीसँग सम्बन्धित विभिन्न नेपालको ऐनहरुको जानकारीहरु एकीकृत रुपमा समावेश गरिएको छ।
यसमा नेपाल सरकारले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि संशोधन गर्न आवश्यक भएका ९ वटा ऐनहरुको हालै अध्यादेशमार्फत संशोधन गरी राष्ट्रपतिबाट २०८१ वैशाख १६ गते लालमोहर भई आएका ९ वटा संशोधित ऐनहरु समेत समावेश गरिएको छ।
यसले आगामी दिनहरुमा भारतबाट नेपालमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्ताहरु लाभान्वित हुने तथा आगामी दिनहरुमा भारतबाट नेपालमा आउने लगानीको मात्र वृद्धि हुनेमा उक्त पुस्तक सहयोगी रहने अपेक्षा संघले गरेको छ।
Shares
प्रतिक्रिया