कारोबार


लगानी सम्मेलन : उद्घाटन सत्रदेखि एमओयूसम्म, पहिलो दिनका ५ आकर्षण

लगानी सम्मेलन : उद्घाटन सत्रदेखि एमओयूसम्म, पहिलो दिनका ५ आकर्षण

दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्र (लगानी बोर्ड)


दीपक भट्ट
बैशाख १६, २०८१ आइतबार २३:१७, काठमाडौँ

दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आइतबार पहिलो दिन सकिएको छ। 

उद्घाटन सत्रमा सहभागीहरुको बाक्लो उपस्थितिसँगै आयोजकलाई व्यवस्थापनमा केही कठिन भए पनि सम्मेलनको उद्देश्य हासिल हुने देखिएको छ। 

यसको आयोजक नै नेपाल सरकार रहेको छ। सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री वर्षमान पुनलगायतले लगानीमैत्री वातावरण रहेको र आवश्यक सुधार निरन्तर हुने सन्देश दिँदै खुलेर लगानी गर्न आह्वान गरे। 

गत मंसिरमा लगानी सम्मेलन गर्ने निर्णय गर्दा नै लगानी प्रवर्द्धनलाई मूल उद्देश्य बनाइएको थियो। 

पहिलो दिन कुल २ हजार १ सय ६३ जना सहभागी भए। जसमा अन्तर्राष्ट्रिय सहभागिता ६ सय ८० रह्यो। तिनमा छिमेकी देश भारतबाट १८६ र चीनबाट २४० जना सहभागी भए। ६० देशका प्रतिनिधि सम्मेलनमा उपस्थित छन्। 

ठूला विदेशी कम्पनीका प्रतिनिधिदेखि विश्व बैंक, एडीबीजस्ता चर्चित दातृनिकायसम्मको उपस्थिति छ।

पहिलो दिन : उद्घाटन सत्रदेखि एमओयूसम्म
तेस्रो अन्तर्राष्ट्रिय लगानीसम्मेलनको पहिलो दिन भव्य उद्घाटन समारोहसँगै विदेशी लगानीकर्तामाझ मार्केटिङको काम भएको छ। 

सम्मेलनमा नेपालको तर्फबाट लगानीमैत्री वातावरण रहेको, आवश्यक सहजीकरण गरिरहेको सन्देश दिइएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नै लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी हुनुले यसैको संकेत गर्छ। 

यसलाई नेपालमा लगानी गर्ने दातृनिकायहरुले समेत आफ्ना मन्तव्यमा खुलेर प्रशंसा गरेका थिए। उद्घाटन सत्रमा नेपालका अर्थतन्त्रका ज्ञाताहरुबाट समेत अन्तर्राष्ट्रिस्तर र नेपालको तुलना गराएर लगानीको अवसरबारे छलफल गराइएको थियो। 

सरकारी प्रतिनिधिहरुबाट नेपालको लगानीको वातावरण सुधार गर्न भएका प्रयासबारे छलफल चलाइएको थियो। 

सम्मेलनमा शोकेस गरेको १ सय ५४ वटा आयोजनामध्ये यही सम्मेलनमा अगाडि बढ्ने केही आयोजना देखिएको छ। लगानी बोर्डले १२ वटा आयोजनाको आशयपत्र मागेकामा आइतबार लगानीकर्तासामु तिनको प्रस्तुतीकरण गरिएको छ। 

१२ मुख्य आयोजना जो प्रस्तुत भए

आयोजना लागत
पोखरा सम्मेलन केन्द्र करिब ३ अर्ब ७२ करोड
चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे २ खर्ब २१ अर्ब
जानकी हेरिटेज होटल एन्ड कल्चर भिलेज २ अर्ब ३५ करोड
धुलिखेल मेडिसिटी आयोजना करिब ११ अर्ब
सुदूरपश्चिम सार्वजनिक यातायात आयोजना  
बबरमहल प्रशासनिक प्लाजा १० अर्ब २० करोड
२८१ मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजना ९२ अर्ब
६५० मेवा कालीगण्डकी २ जलाशययुक्त आयोजना १ खर्ब ७४ अर्ब ७३ करोड
१२१६ मेगावाटको खिम्ती थोसे शिवालय जलाशययुक्त आयोजना २ खर्ब ८९ अर्ब ७७ करोड
३३७ मेगावाटको भारब्रुङ जलाशयययुक्त आयोजना ८० अर्ब १२ करोड
दैजी औद्योगिक पार्क ८ अर्ब ६० करोड
गौतमबुद्ध मेटर्निटी हस्पिटल १ अर्ब ४४ करोड

कूटनीतिज्ञदेखि लगानीकर्तासम्मको सम्बोधन 
पहिलो दिन नेपालका लागि चीनका राजदूत छन सोङ, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनलगायत कूटनीतिज्ञहरुले सम्बोधन गरे। 

त्यस्तै लगानीकर्ताको तर्फबाट युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलको नेतृत्व गरेका सुप्रतिम दत्ता र युएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले सम्बोधन गरे।

त्यसैगरी, एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) कार्यवाहक उपाध्यक्ष रजत मिश्रलगायतले उद्घाटन सत्रलाई सम्बोधन गरे। 

पहिलो दिनका पाँच आकर्षण 
१. दलीय एकताको सन्देश

नेपालमा राजनीतिक दलहरुले लगानी सम्मेलनलाई साझा कार्यक्रम बनाई विदेशी लगानीकर्तामाझ एकताको सन्देश प्रवाह गरेका छन्। 

नेपालको सम्भावनाको क्षेत्र ऊर्जा, पर्यटन अन्य भौतिक पूवार्धारको विषयमा उनीहरुले खुलेर जानकारी गराए। 

पहिलो दिन सत्तारुढ दल एमालेबाट अर्थमन्त्री भइसकेका डा. युवराज खतिवडा, प्रतिपक्षी दल नेपाली कांग्रेसबाट अर्थमन्त्री भइसकेका डा. प्रकाशशरण महत र अर्को सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो प्रस्तुति दिएका छन्।

तीनै जना अर्थविदको रुपमा परिचित छन्। 

डा. महतले विचार फरक रहे पनि बाह्य लगानीको विषयमा एकता रहेको बताए। त्यस्तै डा. खतिवडाले नेपालमा लगानी वातावरण राम्रो हुँदै गएको बताए। उनले सरकारले ९ वटा ऐन नै संशोधनतर्फ लगेर वातावरण बनाएको सम्मेलनको फोरममा नै जानकारी दिए।

डा. वाग्लेले चीन र भारतसँग भौगोलिक हिसाबले नजिक रहनु लगानीको लागि उपयुक्त रहेको उल्लेख गरे। 

२. दुई हस्ताक्षर
पहिलो दिन नै दुईवटा समझदारी भएका छन्। बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। डेटा सेन्टर, क्लाउड सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दई पक्षीय सहमति भएको हो। बीएलसी ग्रपको अध्यक्ष वसन्त चौधरी छन्।

योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। डेटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि लगानी सम्मेलनमा यस विषयमा खुलाइएको छैन। 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा मलेसियाली उद्योग वाणिज्य महासंघबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो।

३. लगानीकर्ताको चासो 
लगानी बोर्डले सोकेस गरेका सबै आयोजनामा लगानीकर्ताहरुले चासो देखाएका छन्। सम्मेलनमा प्रस्तुत १ सय ५४ वटा आयोजनामा नै लगानीकर्ताहरुले लागत प्रतिफल, भएका अध्ययनहरुको चरणहरुको विषयमा ध्यान दिएका छन्।

आशयपत्र माग गरिएका आयोजनाहरुमा त एकै आयोजनामा धेरै लगानीकर्ताहरुले समझदारी गर्ने हिसाबमा चासो देखाएको लगानी बोर्डले जनाएको छ। जसअनुसार लगानी सम्मेलनमा नै धेरै आयोजनामा समझदारी हुने देखिएको छ।

४. थपिए आयोजनाहरु
लगानी सम्मेलनको लागि आयोजकले १ सय ४८ वटा आयोजना देखाउने तयारी गरेको थियो। तर नेपालमा केही दिनदेखि नै आइसकेका लगानीकर्ताहरुले महत्वपूर्ण आयोजनाहरुबारे चासो राखे।

सोसँगै सम्मेलनमा ६ वटा आयोजना थप गरेर १ सय ५४ वटा प्रस्तुत गरिएको छ। जसमा नेपालको गेम चेन्जर मानिएको निजगढ विमानस्थल समेत छ। 

उक्त आयोजनामा भारतीय लगानीकर्ता अदानी ग्रपको समेत चासो छ। 

५. लगानी सहजीकरण अध्यादेश
सरकारले लगानी सम्मेलन गरिरहँदा राष्ट्रपतिबाट लगानी सहजीकरण अध्यादेश जारी भयो। जसले लगानीकर्तालाई नेपाल सरकार लगानीमैत्री वातावरण बनाउन तत्पर छ भन्ने सन्देश गएको छ। 

अध्यादेशले ९ वटा ऐन संशोधन भएका छन्। खासगरी अन्तर्राष्ट्रिय लगानीका लागि बाधक भएको प्रक्रिया, नियमलाई सरल बनाउने भन्दै सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। 

दुई दिने सम्मेलन नेपाल सरकारको आयोजनामा भइरहेको हो। सम्मेलनका सहआयोजकमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स रहेका छन्। 

पहिलो दिन तिनका अध्यक्षहरू क्रमशः चन्द्रप्रसाद ढकाल, राजेश कुमार अग्रवाल, कमलेश कुमार अग्रवालले पनि सम्बोधन गर्दै लगानीका लागि आह्वान गरेका थिए। यसबाहेक चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष तथा महाप्रबन्धक सुशील शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायतले सम्बोधन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .