कारोबार


उद्यमी व्यवसायी भन्छन् : नेपालमा लगानीको वातावरण खुला भएको महशुस भयो

उद्यमी व्यवसायी भन्छन् : नेपालमा लगानीको वातावरण खुला भएको महशुस भयो

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १८:४२, काठमाडौँ

तेस्रो लगानी सम्मेलन सुरु भएसँगै स्वदेशी उद्यमी व्यवसायीहरुले सम्मेलनमा भएको सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन्।

सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उद्देश्यले सुरु भएको लगानी सम्मेलन सुरु भएसँगै नेपाली उद्योगी व्यवसायीहरुले सरकारले नीतिगत सुधार गरी नीतिगत स्थिरता कायम गरे लगानीको गन्तव्य बन्नसक्ने अवस्था देखिएको बताए। 

स्वदेशी उद्यमी व्यवसायीहरुले सरकारले स्वदेशी तथा विदेशी लगानीको लागि आवश्यक नीतिगत सुधारहरु गर्न अझै धेरै आवश्यक रहेको बताए। उनीहरुले लगानी सम्मेलनमा लगानीकर्ताहरुको उपस्थिति उत्साहजन भएको भन्दै राम्रो लगानी प्रतिवद्धता आउने अपेक्षा गरे । उनीहरुले सरकारले राष्ट्रिय पुँजी निर्माण र विदेशी लगानीको वातावरण बनाउने लगानीमैत्री स्थिर कानून बनाउन आवश्यकता देखिएको बताए। 

उनीहरुले अध्यादेशमार्फत ९ वटा कानूनमा संशोधन गरी कानुनी सुधारमा सरकारले प्रतिबद्धता जनाए पनि अझै धेरै नीतिगत अफ्ठ्याराहरु रहेको बताए। व्यवसायीहरुले विगतका लगानी सम्मेलन जस्तो प्रतिवद्धता मात्रै जनाउने तर राज्यले चासो नदिने गरेको भन्दै सम्मेलन सकिएसँगै प्रतिवद्धता भए अनुसार कार्यान्वयनको लागि तदारुकता देखाउन जरुरी रहेको बताए। 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनमाको सुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बताए। उनले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिए। उनले लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युतको बारेमा चर्चा गरेकाले जलविद्युतमा लगानीमैत्री वातावरण बन्ने विश्वास बढेको बताए। 

उनले जलविद्युतमा सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउन सके ह जलविद्युतमा लगानी आउने वातावरण देखिएको बताउनु भयो । उनले सरकारले यसलाई मध्यनजर गरेर तत्काल जलविद्युतमा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराए २८ हजार मेगावट विद्युत उत्पादनमा सहज हुने बताए। 

सरकारले सम्मेलन सकिएपछि पनि लगानीका लागि भएका प्रतिवद्धता कार्यान्वयनमा जुट्न आवश्यक रहेको बताए।

उनले भने, ‘लगानी सम्मेलनमाको सुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण रहेको देखिएको छ । अब नेपालमा लगानी गर्नुपर्छ भन्ने अवस्था देखिएको छ । लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युत भनेका छन् । नेपालका जलविद्युतको स्कोप छ त्यसको लागि सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउने हो भने जलविद्युतमा लगानी आउने रहेछ भन्ने अवस्था देखिएको छ।’

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको बताए। उनले सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भुमिका कम पाएको बताए। उनले धेरै क्षेत्रमा लगानी गरेका गैरआवासीय नेपालीहरुलाई अझ अन्य क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न जरुरी रहेको बताए। 

उनले विदेशी लगानीकर्तालाई आकर्षण गराएर यो सम्मेलनले मुलुकमा लगानीको वातावरण खुला छ भन्ने वातावरण बनाउन सक्नुपर्ने बताए। उनले विकसित देशहरुका लगानीकर्ताहरुलाई लगानीको लागि प्योकजमा सहुलियतहरु दिएर ठूला लगानीकर्ताहरु ल्याउने वातावरण सरकारले गर्न जरुरी रहेको बताए। उनले अफ्रिकाका मुलुकहरुबाट सिकेर अझै लगानीको लागि विदेशी लगानीकर्ताहरुलाई बोलाउन सक्नुपर्ने उल्लेख गरे। उनले लगानीलाई सुरक्षित गर्न सरकारले बलियो कानून निर्माण गर्नुसक्नुपर्ने पनि उल्लेख गरे।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले लगानी सम्मेलनले आगामी दिनमा मुलुकमा राम्रो लगानीको सम्भावना आउने अवस्था देखिएको बताए। उनले लगानी आउने वातावरणको लागि सरकारले आझै पनि कानूनी तथा नीतिगत सुधार गर्न आवश्यक रहेको बताए। 

लगानी सम्मेलनलाई लगानी सम्मेलनको रुपमा मात्रै नभएर लगानी भित्र्याउने माध्यमको रुपमा राज्यले लिन आवश्यक रहेको बताए। उनले नेपाल सरकार र नेपाली उद्योगीहरुले लगानी गर्न नसक्ने क्षेत्रमा विदेशी लगानी ल्याउनु आवश्यक रहेको बताए। उनले सरकारको वैदेशिक लगानीको नीति अनुसार लगानी आउने वातावरण नभएको भन्दै नीतिलाई सुधार गरेर सहज बनाउन आवश्यक रहेको बताए।
व्यवसायीहरुले मुलुकमा लगानी भित्र्याउनको लागि ८ वटा कानून संशोधन गरेर मात्रै नपुग्ने भन्दै अझै अन्य कानूनहरु परिमार्जन गर्न जरुरी रहेको जनाएका छन् । उनीहरुले राजनीतिक दल र सरकारले विदेशी लगानी र स्वदेशी पुँजी निर्माणको लागि दीर्घकालिन कानून बनाउनु पर्नेमा  जोड दिए। 

उनीहरुले तत्कालको लागि अध्यादेश ल्याएर मात्रै स्वदेशी र विदेशीहरुले लगानीको सुरक्षित वातावरण महशुस गर्ने भन्दै सरकार परिवर्तन भएपनि लगानी सुरक्षाको लागि स्थायी कानून छ भन्ने सन्देश दिनुपर्ने बताए । सरकारले एकद्वार प्रणालीमा सर्भिस दिने वातावरण उद्यमीहरुलाई दिए मात्रै नेपाली र विदेशी लागनीकर्ता उत्साहित भएर लगानी गर्ने जनाए । न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .