बागमती


हेटौँडामा बागमती प्रदेशस्तरीय युवा सम्मेलन सुरु

हेटौँडामा बागमती प्रदेशस्तरीय युवा सम्मेलन सुरु

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार २१:२२, काठमाडौँ

बागमती प्रदेशमा युवा सम्मेलन हेटौंडामा आजदेखि सुरु भएको छ। युवा सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्‍घाटन गरे।

उद्‍घाटन हुनुअघि शुक्रबार बाजा र झाँकीसहित हेटौंडा बजार परिक्रमा गरिएको थियो। बागमती प्रदेशका युवालाई सशक्तिकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्य सहित हेटौँडामा युवा सम्मेलन गरिएको हो।

आजदेखि सुरु भएको युवा सम्मेलन यही वैशाख ३० गतेसम्म चल्ने छ।

बागमती प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनमा सहभागिता रहेको बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए। सम्मेलनमा १८ देखि ३० वर्ष उमेर समूहका २ सय भन्दा बढी युवाको सहभागिता छ।

प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गरेको हो। जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइएको छ।

जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइएको चौलागाईले बताए।

सम्मेलनमा सहभागी समावेशी अवधारणामा छनोट गरिएको छ। प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रदेश सरकारले युवाको वृहत् हितका लागि सम्मेलन गरेको बताउँदै युवा प्रदेश नीतिका विषय, एआई, साइबर अपराध लगायतका विषयमा पनि छलफल गरिने उनको भनाइ छ। युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ।

प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने कार्यक्रम शुरु भएसँगै  ‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने उपाध्यक्ष चौलागाईले बताए।

सम्मेलनमा पत्रकार टिकाराम यात्री, विश्वनाथ कोइराला सांसद महेश बर्तौला, माधव सापकोटा र सुशिला थिंग लगायताको सहभागिता रहने आयोजकले जनाएको छ।

सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तिकरण भन्ने मूल नाराका साथ हुने सम्मेलनमा सहभागीलाई पर्यटकीय क्षेत्रको भ्रमण समेत गराइने छ।

तीन दिनसम्म चल्ने कार्यक्रमका लागि २० लाख बजेट विनियोजन गरिएको छ। कार्यक्रमका लागि हिजोनै सहभागीहरू हेटौँडा आइपुगेका थिए। ११ बुँदे घोषणा पत्र जारी गर्दै पहिलो युवा सम्मेलन सकिएको थियो भने ७ वटा बुँदा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको युवा परिषद्को दाबी छ।

आजको उद्‍घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल लगायतकाको आतिथ्यता रहेको छ।

कार्यक्रम युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .