बागमती


बागमतीकी बिनाविभागीय मन्त्री भन्छिन् : अब धेरै दिन कुर्दिनँ

बागमतीकी बिनाविभागीय मन्त्री भन्छिन् : अब धेरै दिन कुर्दिनँ

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १४:४०, हेटाैँडा

बागमती प्रदेशकी बिनाविभागीय मन्त्री रमा आलेमगरले योजना बनाउनुपर्ने बेला हात बाँधेर बस्नुपरेको दुखेसो गरेकी छन्।

लामो समयसम्म विभागीय जिम्मेवारी नपाउँदा योजना बनाउने मुख्य समयमा खाली हात बस्नुपरेको गुनासो उनले गरेकी हुन्।

गत चैत १९ गते आलेमगरलाई बिनाविभागीय मन्त्रीमा नियुक्ति दिँदा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक हप्ताभित्रै मन्त्रालयको जिम्मेवारी दिने आश्वासन दिएका थिए।

तर एक महिना बित्दा पनि यसमा मुख्यमन्त्रीले चासो नदेखाएको गुनासो आलेमगरले गरिन्।

‘मुख्यमन्त्रीज्यूले एक हप्ताभित्रै जिम्मेवारी दिने भन्नुभएको थियो’, मन्त्री आलेमगरले भनिन्, ‘अन्य १२ जना मन्त्रीज्यूहरूलाई योजना टिपोट गर्दा फुर्सद छैन होला। म भने यस्तो महत्त्वपूर्ण समयमा पनि फुर्सदमा छु।’

उनले थपिन्, ‘मन्त्री भएको एक महिना बित्यो। मेरो धैर्यको बाँध टुटिसक्यो। अब धेरै दिन कुर्दिनँ।’

नेकपा एकीकृत समाजवादीकी मन्त्री आलेमगर काठमाडौँ निर्वाचन क्षेत्र १० (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

१२ मन्त्रालय रहेको बागमतीमा मन्त्रीको संख्या १३ पुगेपछि मन्त्री व्यवस्थापनमा चुनौती देखिएको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ भने मन्त्रालय थपेर भए पनि केही दिनभित्रै जिम्मेवारी दिइने दाबी गर्छन्।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका श्रेष्ठले मन्त्रालय फुटाउने गृहकार्य सुरु भइसकेको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .