खेल


दुई हारलाई बिर्सिएर जितको लय समात्न तयार नेपाली क्रिकेट

दुई हारलाई बिर्सिएर जितको लय समात्न तयार नेपाली क्रिकेट

नेपाली टोली। तस्बिर : क्यान


लक्ष्मी जि.सी
बैशाख १३, २०८१ बिहिबार १५:२३, काठमाडौँ

पारस खड्काले आफू कप्तान हुँदा कुनै बेला राष्ट्रिय टोलीको खेल प्रदर्शनबारे भनेका थिए– जितमा सबै कमजोरी छोपिन्छ। हारमा सानो गल्तीको पनि चर्चा हुन्छ।

उनी अहिले घरेलु क्रिकेटको कार्यकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) को सचिव छन्। र, अहिले पनि खड्काको धारणा उही नै छ।  

ओमानमा हालै मात्र एसीसी प्रिमियर कप सम्पन्न भयो। प्रतियोगितामा नेपाली टोलीले राम्रो सुरुवात गरे पनि सेमिफाइनलबाट माथि उक्लिन सकेन। हङकङसँग हारेपछि तेस्रो स्थानबाट पनि वञ्चित भयो। 

त्यही अन्तिम दुई खेलको नतिजाले नेपाली टोलीले जित्न बिर्सिएजस्तो टिप्पणी हुन सुरु भइसकेको छ। 

साबिक विजेताका रुपमा ओमान यात्रामा निस्केको नेपाली टोली चौथो हुँदै अहिले स्वदेश फर्किसकेको छ। दुई हारले नेपाली टोली दुई ठूला अवसर गुमाएको छ। 

सेमिफाइनलमा युएईसँग ६ विकेटले पराजित भएसँगै लगातार दोस्रो पटक एसिया कप खेल्ने चाहना पूरा हुन पाएन। ओमानलाई हराउँदै च्याम्पियन बनेको यूएई एसिया कपको लागि छनोट भएको छ। 

त्यसपछि अर्को अवसर इमर्जिङ एसिया टिम्स एसिया कपको मौका पनि नेपाली टोलीले गुमाएको थियो। प्रिमियर कपको तेस्रोसम्म हुने टोलीले एसिया टिम्स खेल्न पाउने थियो। तर त्यसमा पनि नेपाल हङकङसँग ४ विकेटले पराजित भयो।

दमदार सुरुवात, खल्लो अन्त्य 
प्रिमियर कपमा नेपालले दमदार सुरुवात गरेको थियो। समूह चरणका चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको क्रिकेट टोलीले त्यसपछिका दुई खेलमा खराब प्रदर्शन गर्यो।  

सफलतामा टोलीले वाहवाही पाए पनि दुई खेलमा पराजित भएपछि समर्थकले हेर्ने नजर नै बदलिएको छ। सामाजिक सञ्जालमा नेपाली टोलीको आलोचना सुरु भएको छ। 

घरेलु मैदानमा आयरल्यान्डसँग दुई खेलको सिरिज जित्दै नेपाली टोली भारतको गुजरात पुगेको थियो। त्यहाँ नेपालले एसएमएस कप फ्रेन्डसिप कपको उपाधि जित्दै टोली ओमान पुगेको थियो। 

प्रिमियर कपको साबिक विजेता समेत रहेको नेपाललाई प्रिमियर कपको उपाधि दाबेदारको रुपमा समेत हेरिएको थियो। तर सेमिफाइनलबाटै बाहिरिएपछि क्रिकेट समर्थक टोलीको प्रदर्शनबाट निराश बनेका छन्। 

प्रिमियर कपबाट बाहिरिएपछि टोलीका कप्तान रोहित पौडेलले पछिल्लो डेढ वर्षमा टोलीको बलियो पक्ष ब्याटिङ देखिए पनि पछिल्लो खेलमा केही कमजोरी भएको स्वीकारे। लिग खेलमा राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन नसकेको र दीपेन्द्र सिंह ऐरीबाहेकले जिम्मेवार ब्याटिङ गर्न नसकेको समेत खुलेर बताए। 

टोलीमा एउटा खेलाडीलाई मात्र दोष दिनु राम्रो नहुने भन्दै दीपेन्द्रबाहेक अन्य खेलाडीले राम्रो गर्न नसकेको बताए।

‘दुई हारले आत्तिनुहुँदैन’
विश्वकपअघिको हारले विश्वकपमा असर गर्न नहुने विश्वास कप्तान पौडेलको छ। विगतमा जे भए पनि त्यसले भविष्य निर्धारण नगर्ने भन्दै पौडेल वर्तमानमा रहनुपर्ने बताउँछन्। 

‘पछिल्लो डेढ वर्ष टोलीको प्रदर्शनले सफलता मात्र देखिएकाले अपेक्षा धेरै भएको छ’, उनले भने, ‘दुई हारले आत्तिनुहुँदैन।’ 

नेपाली टोलीको बेन्च बलियो रहेकाले अन्य खेलमा विकल्प प्रयोग गरिने उनको भनाइ छ। विश्वकपअघि वेष्ट इन्डिजविरुद्धको खेलमा आयरल्यान्ड एसँग राम्रो गरेको खेलाडीलाई पनि मौका दिने भन्दै सबै खेलाडीले मौका पाउने बताए। 

पछिल्लो समय ओडीआईको प्रिमियर कप र एसिया कप खेल्दै नेपाली टोलीले समर्थकमा थप उत्साह थपेको थियो। 

क्रिकेट समूहगत खेल हो। यसमा व्यक्तिगत खेलाडीको प्रदर्शन गौण हुने गर्छ। तर खेलाडीले यसपटक पनि विश्व कीर्तिमानी प्रदर्शन गरेका छन्। 

राष्ट्रिय टोलीका अर्का सदस्य सोमपाल कामी खेलमा नतिजा नै सबैथोक हुने भए पनि हार्दैमा आफूमा अविश्वास गर्न नहुने बताए। उनी टोलीका तीव्र गतिका बलर हुन्। 

‘पछिल्लो समय टोलीले राम्रो खेलेको छ तर हारलाई इग्नोर गरेर मोटिभेट गर्दै अघि बढ्नुपर्छ’, उनले भने, ‘प्रिमियर (कप)मा नतिजा नआए पनि प्रदर्शन राम्रो छ।’ 

विश्वकपअघिको नतिजा विगत भइसकेको खेलाडीहरु बताउँछन्। 

एसिया कपमा नपुग्दा ठूलो अवसर गुमाए पनि त्यसलाई बिर्सेर २०२३ मा जसरी टोलीले खेलेको थियो। त्यही लयलाई निरन्तरता दिन खेलाडीहरु तयार देखिएका छन्। 

सुधारको आश
एक समय धरमराएको नेपाली क्रिकेटलाई मोन्टी देसाईको आगमनले ब्युँताएको थियो। त्यसयता नेपालले शानदार प्रदर्शन गर्दै आइरहेको छ। 

मोन्टीको प्रशिक्षणमा नै नेपाली टोलीले १० वर्षपछि टी २० क्रिकेटको ढोका खोलेको थियो। टी २० विश्वकपको तयारीमा रहेको नेपालले शनिबारदेखि वेस्ट इन्डिज ‘ए’सँग सिरिज खेल्दै छ। 

वार्षिक क्यालेन्डर सार्वजनिक गरेर टोलीलाई व्यस्त राखेको क्यानले बलिङ प्रशिक्षकसमेत ल्याएको छ। यसले टोलीको प्रदर्शन थप सुधार हुने अपेक्षा गरिएको छ। 

हारजित खेलको हिस्सा हो। घरेलु मैदानमा अधिकांश खेलमा सफलता दिलाएको नेपाली टोलीले विदेशी भूमिका पनि उच्च प्रदर्शनलाई निरन्तरता दिन आवश्यक छ। 

टोलीको छवि बदल्ने जिम्मेवारी पनि क्रिकेट टोलीकै हो। सफल नतिजालाई निरन्तरता दिन सुरु गर्नेबित्तिकै समर्थकहरु टोलीको चर्चा सुरु गर्नेछन्। 

त्यति बेला खड्काले भनेजस्तै जितमा सबै कमजोरी छोपिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .