विचार


६० वर्षअघि ब्रुनाई पसेको गोर्खा बटालियन अझै किन फर्किएन?

६० वर्षअघि ब्रुनाई पसेको गोर्खा बटालियन अझै किन फर्किएन?

ब्रुनाईको ब्रिटिस गोर्खा ब्रिगेडसँग ब्रुनाईका युवराज


माइकल पिल
बैशाख २१, २०८१ शुक्रबार ६:५३,

बेलायती साम्राज्यको अन्तिम दिन चलिरहेको थियो। ब्रुनाईका सुल्तान उमर अली सैफुद्धिनविरुद्ध विद्रोह भयो। त्यसलाई दबाउन सिंगापुरमा रहेका गोर्खा सैनिक ब्रुनाई लगियो। त्यसको ६० वर्ष बितिसक्यो। तर, बेलायती गोर्खा सैनिकको एउटा बटालियन अझै पनि यो सानो तेल निर्यातकर्ता मुलुकमा बसिरहेको छ। यो बेलायतको औपनिवेशिक ‘ह्याङओभर’ त हो नै, ब्रेक्जिटपछि आफूलाई विश्वशक्तिका रुपमा स्थापित गर्ने उसको प्रयासको चिह्न पनि हो।

ब्रुनाईमा अवस्थित गोर्खा ग्यारिसनको कमान अन्य बेलायती सैनिकसरह सम्हाल्ने गरिएको छ। तर, यसको खर्चबर्च उमरका छोरा तथा उत्तराधिकारी हसनअल बोल्किअले धानिरहेका छन्। यो असाधारण र अपारदर्शी व्यवस्था निकै लामो समयदेखि कायम छन्। साम्राज्यको पतनपछि बेलायतले आफ्ना सैनिक धेरै स्थानबाट फिर्ता गर्दा पनि ती सैनिक ब्रुनाईमै छन्। र, पछिल्लो समय एसियामा बेलायतले देखिनेगरी पुनः सैन्य उपस्थिति देखाउन थाल्दा यसको प्रासंगिता पनि बढेको छ।

गोर्खा सैनिकहरू नेपालबाट भर्ती गरिन्छन्। उनीहरू आज ब्रुनाईमा छन्, किनभने १९६२ मा निरंकुश राजतन्त्रविरुद्ध सुरु भएको विद्रोहलाई दबाउन यहाँ आएका थिए। त्यो विद्रोह इन्डोनेसियासँगको तनावसँग जोडिन्छ। त्यसबेला ब्रुनाई बेलायतको संरक्षणमा थियो। १९८४ मा पूर्ण स्वतन्त्रता प्राप्त नहुञ्जेल सो मुलुक सोही अवस्थामा रह्यो।

आफूलाई सघाएकामा सुल्तान यति कृतज्ञ थिए, उनले गोर्खा सैनिकलाई सधैँ त्यहाँ रहने अनुमति दिए। जसको खर्च राजपरिवारले आज पनि बोकिरहनुपरेको छ। ब्रुनाईमा रहेका सैनिक आफैँमा बेलायती साम्राज्यको विरासत हुन्। किनकि गोर्खाहरूले पहिले बेलायती साम्राज्यसँग लडे। र, पछि युद्ध कौशल र बहादुरीको कारण बेलायती सेनामै भर्ती भए।

‘२५ वर्षयता सो क्षेत्रमा बेलायती सेनाको सबैभन्दा ठूलो उपस्थिति भनेकै ब्रुनाईका गोर्खा हुन्,’ ब्रुनाईस्थित बेलायती सेनाका कमान्डर कर्णेल ह्युगो स्ट्यानफोर्ड टकले फेब्रुअरीमा भनेका थिए।

गोर्खा सैनिकलाई ब्रुनाईमा राख्न केकस्तो सम्झौता भएको थियो, त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यो विषय उल्लिखित बेलायतका कतिपय ऐतिहासिक दस्तावेजहरूलाई अझै पनि सेन्सर गर्ने गरिन्छ। यससम्बन्धी अन्य दस्तावेज त मुलुकको अभिलेखालयमै राखिएको छैन। यसबारे सरकारले पनि अति कम जानकारी दिएको छ। जसअनुसार सो गोर्खा बटालियन ब्रुनाईमा रहुञ्जेल उनीहरूको सम्पूर्ण तलब र बसोबासको लगभग सबै खर्च सुल्तानले तिर्छन्। यसका अलावा ब्रुनाईले एउटा बेलायती जंगल युद्धकलासम्बन्धी स्कुल पनि खोल्न दिएको छ। साथै पुमा हेलिकोप्टरले सुसज्जित बेलायती हवाई सेनाको एउटा टुकडीलाई पनि यहाँ रहन दिएको छ।

यदि वर्तमान सुल्तानले अहिले आन्तरिक आन्दोलनलाई दमन गर्न वा विदेशी शक्तिसँग लड्न आफूले तलब दिएका गोर्खा सैनिकलाई आग्रह गरे भने के हुन्छ, स्पष्ट छैन। दक्षिण चीन सागरमा यसै भौगोलिक खिचातानी चलिरहेको छ। चीनले लगभग सबै दक्षिण सागरमा दाबी गरेको छ। त्यसविरुद्ध राष्ट्रसंघीय अदालतले फैसला दिएको छ।

ब्रुनाईका राजा विश्वमै सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति हुन्। १९६७ मा २१ वर्षको उमेरमा उनी गद्दीमा बसेका थिए। १९६२ को विद्रोह दबाउन लागू गरिएको संकटकालीन अधिकार अझै पनि कायम छ। जसले उनलाई निरंकुश शासन गर्ने अधिकार दिएको अमेरिकी विदेश मन्त्रालयको २०२२ को मानवअधिकार रिपोर्टमा उल्लेख छ।

ब्रुनाईस्थित गोर्खा बटालियनको स्थिति पहिलेभन्दा विषम बनेको थियो। किनभने बेलायतले एसियाबाट आफ्ना सैनिक फिर्ता लैजान थालेको थियो। १९६० को दशकको अन्त्यतिर ह्यारोल्ड विल्सनको लेबर सरकारले ‘स्वेजभन्दा पूर्व’ नीति लियो। जसअनुसार युरोपबाहिर बेलायतको सैन्य उपस्थिति कटौती भयो। अनावश्यक रुपमा खर्चिलो तरिकाले अन्यत्र सैन्य शिविर राख्नुभन्दा आवश्यक पर्दा निश्चित ठाउँमा पुग्ने क्षमता विकास गर्नुलाई विल्सनले प्राथमिकतामा राखे।

त्यो नीतिलाई बेलायतले हालै उल्ट्याएको छ। खासगरी २०१६ मा भएको ब्रेक्जिटपछि। लगत्तै सरकारले ‘विश्वव्यापी बेलायत’ बनाउने घोषणा गरेको थियो। त्यही वर्षको डिसेम्बरमा तत्कालीन विदेशमन्त्री बोरिस जोनसनले बहराइनमा एउटा भाषण गरेका थिए, जसको सार थियो, ‘बेलायत फेरि स्वेजभन्दा पूर्वमा आयो।’ २०२१ मा प्रधानमन्त्री जोनसनको सरकारले विदेश नीतिलाई ‘इन्डो–प्यासिफिक’तर्फ ढल्कायो, जुन अहिले बेलायतको कूटनीतिक र सुरक्षा नीतिको केन्द्रीय मुद्दा बनेको छ।

रुसले युक्रेनमा गरेको आक्रमण र बेलायतको सैन्य खर्च तथा सार्वजनिक सेवा दुवैमा दबाब परिरहे पनि लन्डनको यो प्रतिबद्धता कायम छ। आउँदो वर्ष प्रिन्स अफ वेल्स नामक विमानवाहक युद्धपोतको नेतृत्वमा एउटा जहाजी बेडा इन्डो प्यासिफिकमा तैनाथ गर्ने योजनामा बेलायत छ। आफ्नो मुलुकभन्दा टाढा एसियामा बेलायती जहाज र सैनिक द्वन्द्वमा फस्ने जोखिमबारे भने निकै कम सार्वजनिक बहस भएको छ।

बेलायतको अन्तर्राष्ट्रिय सैन्य महत्वाकांक्षाको एउटा आधुनिक र सूक्ष्म रुप हो ब्रुनाईका सुल्तानसँग गरिएको असाधारण सम्झौता। दशकौँसम्म यो सम्झौता बेलायती साम्राज्यको तीव्र पतनलाई धीमा बनाउने एउटा असजिलो तरिका थियो। आज ब्रुनाईका गोर्खाहरूको कहानीले यो प्रश्नलाई पुनर्जीवित गरिदिएको छ– स्वदेशमै र युरोपमै समस्याहरूको चाङ लागिरहँदा के बेलायतले एसियामा सैनिक राखेर घाँटी नहेरी हाड निल्ने काम गरिरहेको छ?

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .