ad ad

घुमघाम


सिड्नीले मोहित बनायो

सिड्नीले मोहित बनायो

टंक चौलागाईं
भदौ १४, २०७६ शनिबार ८:३,

अस्ट्रेलियाबाट लिडर थिएटरका कलात्मक निर्देशक क्रिस्जोन ह्यानककले निम्तो पठाए।

फेसबुक म्यासेन्जरमा लेखिएको थियो, ‘हामी सिड्नीभन्दा १९५ किलोमिटर टाढाको गाउँमा बस्छौँ। तिमीहरुलाई रमाइलो लाग्दैन होला। पुरानो गाउँ हो। हामी त्यस्तो सम्पन्न छैनौँ।’ अस्ट्रेलियाको गाउँमा बस्ने भन्ने उनको मेसेजले मेरो मन झन् रोमाञ्चक बनाइदियो।

नेपालीको सपनाको देश। भिसाको लागि आवेदन दिएदेखि नै उत्साहित थियौँ हामी।

‘सिड्नीमा नेपालीहरु धेरै छन्। एक शो च्यारिटी गर्ने बन्दोबस्त मिलाउनु पर्छ’ मित्र प्रकेशले नाटकको रिहर्सल थाल्नुअघि नै भनेका थिए।

हुन त यो मेरो १२ औँ विदेश भ्रमण थियो। तर, यसपटक धेरै रहर र अपेक्षा अनि खै के–के’ले मन अलि बढी उत्साहित थियो। औधी रहर चाहिँ अस्ट्रेलियाबासी नेपाली भेट्ने हो। उनीहरुलाई नाटक देखाउने हो।

उता भएका साथीहरुसँग आफ्नो अपेक्षा राखेँ–‘सिड्नीमा भएका नेपालीहरुलाई हाम्रो नाटक देखाउनु पर्याे। एक शो च्यारिटी आयोजना गर्न सकिन्छ कि?’ दुई हप्तासम्म पनि साथीहरुले निर्णय दिन सकेनन्।

सहभागी बालबालिकाहरुका पनि कोही न कोही आफन्त थिए त्यहाँ। धेरैको सामान पुर्याइदिनु थियो। कसैको सामान ल्याइदिनु पनि थियो। धेरै बालबालिकाका आफन्तले सिड्नी, मेलबर्नमा बच्चालाई भेट्ने, सँगै राख्ने, घुमाउने, तालिका मिलाइसकेका थिए। तर, आफ्ना कोही थिएनन्। केही योजना थिएन। प्रस्ताव राखेका साथीहरुले पनि मौनव्रत लिए। त्यही पनि जानु न थियो।

साथीहरुले पक्कै सकारात्मक सन्देशले भरिएको मेसेज गर्नेछन्। मनमा आशा जीवितै थियो।
०००

काठमाडौंबाट यात्रा सुरु भयो। बिना कुनै कठिनाई बिहान सिड्नी ओर्लियौँ। क्रिस्जोन आफैं लिन आएका थिए। खुसीले छाति फुल्यो। बाटोमा उनले आफूले ल्याएका खानेकुरा सबैलाई दिए।

दिउँसै उनले हामीलाई गोलबर्नको लिडर थिएटरमा पुर्याए। सबै ‘होस्ट फ्यामिली’हरुसँग भेट गराए। भेटघाटपछि हाम्रा लागि व्यवस्था गरिएको घरमा गयौँ। थकाई मेट्न आराम गर्यौँ।

भोलिपल्ट क्यानबेरामा नाटक वर्कसप सुरु हुँदै थियो। हाम्रा १३ जना बालबालिका र उताका १७ जना बालबालिकाबीच वर्कसप सुरु भयो। नेपालको तर्फबाट प्रकेशले, अस्ट्रेलियाबाट क्रिस्जोन अनि ज्याकले वर्कसप चलाए। वर्कसपपछि मज्जाले क्यानबेरा घुम्यौं। त्यो दिन पनि त्यत्तिकै सकियो।

अर्काेदिन थिएटरमै वर्कसप थियो। त्यहाँ खानाको कुरा मुख्य विषय बन्यो। बिफ, ल्याम उनीहरुको मुख्य मेनु रहेछ। बिफ खाइएला भनेर खुब डरायौँ। तर, त्यसो भएन। त्यसदिन थिएटरमै नेपाली खाना खान पाएर हामी आश्चर्य पर्यौँ। तेस्रो दिनको वर्कसपमा सर्कस, मेकअप, नाटकसम्बन्धी थप कुरा जान्न पाइयो। अस्ट्रेलियन र नेपाली बच्चाहरु मिलेर गीत गाए। बाजा बजाए। तीन दिनमा सिकेका कुरा शो गरेर देखाए। मज्जा भयो।

मलाई भने सिड्नीबासी साथीहरुले मेसेजको जवाफ लेखिदिए हुन्थ्यो भन्ने लागिरह्यो।

‘महाराज, यहाँ एनआरएनको चुनाव चलिरहेको छ। सबैजना त्यसमै व्यस्त छन्। यहाँ सबै योजनामा चल्छन्। नेपालको जस्तो कहाँ हो र?’ भनेका थिए एक साथीले।

आयोजकहरु सबै कामधाम छाडेर हाम्रो सेवामा जुटे। स्नेही थिए सबैजना। एमिली ८ बहिनाको बच्चा बोकेर रातदिन हाम्रो स्याहारमा लागिरहिन्। लप्सीको अचार, राईस कुकर खोजेर भात पकाएर हामी सबैलाई हर्षित बनाइन्।

लिडर थिएटर दुई सय वर्ष पुरानो रहेछ। नेपालको पुरानो नाचघर जस्तो! तर, असाध्यै व्यवस्थित।

नाटक शो’को अघिल्लो दिन त्यहाँ मसला पसल चलाउने एक परिवार नै आयो। महिलाले अस्ट्रेलियनसँग बिहे गरेकी रहिछन्। अस्ट्रेलियनले पनि राम्रो नेपाली बोल्थे। उनकाअनुसार त्यहाँ सय जना नेपाली बस्दा रहेछन्।

उनीहरुलाई नाटक हेर्ने निम्तो दियौँ। ‘हामी प्रयास गर्छौं’ भक्तपुरकी ती महिलाले भनिन्। आफ्नो धेरै काम भएको पनि सुनाइन्।

एकछिनपछि जम्मा भएका सबै दर्शकलाई बाहिर थिएटरको ढोकामा ल्याइयो। एक आदिवासी गुरु आए। उनले आगो बालेर धुवाँ निकाले। त्यसमा हरियो सेउला हालेर धुवाँको मात्रा बढाए। धुवाँले सबै दर्शकलाई चोखाए। नेपालमा गहुँतले चोखाए जसरी। धुवाँ लिएर थिएटरभित्र पस्दा सबैले उनलाई पछ्यायौँ । यसरी महोत्सव उद्घाटन भएको घोषणा गरियो। त्यहाँ शुभकार्यमा धुँवाको महत्व विशेष रहेछ। यो प्रचलन रमाइलो लाग्यो।

प्रकेशले निर्देशन गरेको नाटक ‘उज्यालोतिर’ मञ्चन भयो। कलाकारकै आफन्त दुई जना नेपाली नाटक हेर्न आएछन्। अन्य विदेशीले नै हल खचाखच थियो। सबैले नेपाली भाषाको नाटक बुझे। खुसी लाग्यो।

छोटो समयमा नै सम्बन्ध दरिलो बन्यो। छुट्ने दिन आयो। ‘होस्ट फ्यामिली’ ‘आफ्नै फ्यामिली’ जस्तो भएछ! छुट्दा दुवैतर्फका केटाकेटी रोए। गोलबर्नको बसाई टुंग्याएर हामी सिड्नी गयौँ। टाउन हलमा लज बुक थियो। एमिली र क्रिस्जोनले साथ छाडेनन्। एमिलीले सानो बच्चा बोकेकी नै थिइन्। हाम्रो बास पक्का गरेर राति ८ बजेतिर उनीहरु गोलबर्न फर्किए। पछिसम्म पनि अवस्थाबारे जानकारी लिई राखे। भौतिक नाताभन्दा यसरी जोडिएको सम्बन्ध बलियो हुन्छ भन्ने प्रमाण हो यो।

राति नै भए पनि सिड्नीले मोहित बनायो। नेपालीको घरमा खाना खाने निम्तो थियो। ट्रेन चढेर खाना खान गयौँ।

भोलिपल्ट बिहानै सिड्नी घुम्न निस्कियौँ। घरहरु, बाटो, सिस्टम सबैले मोहित पारे। ट्रेन, भिक्टोरिया पार्क, डार्लिङ हार्बर सबैतिर नेपाली नै नेपाली भेटिए। तर, उनीहरुले कुनै आत्मियता देखाएनन्। बरु नदेखेझैं गरे। जसरी बानेश्वर चोकमा वा साझा यातायातामा भेटिएका अपरिचतले वास्ता गर्दैनन्। नमज्जा लाग्यो।

‘महाराज यहाँ सबै योजनामा चल्छन्’ भन्ने सिड्नी बस्ने साथीलाई सम्झिएँ। यो कस्तो सिस्टम? मनमा प्रश्न खलिरह्यो। यसैबीच ६ महिनाअघि त्यहाँ गएको भतिजसँग सिड्नी घुमाइदिन प्रस्ताव राखेँ। ऊ आफ्नो मान्छे भएकाले समय निकाल्छ भन्ने विश्वास थियो। सोचेजस्तै भयो।

‘अंकल, काम नै पाइँदैन। पाएको काम पनि नेपालीले नै नयाँ हो भनेर खोस्छन्’ भतिजले गुनासो पोख्यो, ‘खुट्टा तानातान छ यहाँ त।’

हामीलाई ओपेरा हाउस, ओपेरा हाउसबाट मेन्ली समुन्द्री तटमा पुर्यायो। खुबै रमायौँ। खेल्यौँ। तस्बिरहरु खिच्यौँ। साँझ डिनरका लागि रकडेल रेस्टुरा गयौँ। नेपालीको रेष्टुरेन्टमा आयोजकले हाम्रो लागि राम्रो तयारी गरिदिएका रहेछन्! एक त बच्चाहरु, त्यसमा पनि कोही कोही आफन्तकोमा गएका थिए। त्यसकारण पकाएका सबै नेपाली परिकार खान सकेनौँ।

भोलिपल्ट बिहानै मेलबर्नतिर लाग्यौँ। मेलबर्नमा पनि बच्चाहरुलाई भेट्न आउने आफन्तहरुको कमी थिएन। मैले पनि एकजना साथीलाई भेट्नु पर्छ भनेको हुँ। उनले आफ्नो बाध्यता सुनाए। मेले सोचे, उनी पनि सिस्टममा चलिरहेका होलान्। दुई दिन मेलबर्न सिटी घुम्यौँ। नेपाली रेष्टुरेन्टमा मःमः, छोएला, चटपटे खायौँ। नेपाली स्वादले मनै लोभ्यायो।

नेपालीहरु सँग बोल्ने रहर थियो। तर, उनीहरुलाई बोल्ने फुर्सद नै कहाँ थियो र? हरेक मानिस सिस्टममै दौडिएका थिए। सपनाको सहरसँग मोहित भएर आफ्नो उज्ज्वल भविष्यको कल्पनामा कुदिरहेका थिए सायद!

मलाई लाग्छ अस्ट्रेलियामा उनीहरुलाई सजिलो छैन भन्ने डलरको सपना देख्ने अभिभावकले पनि बुझ्नु जरुरी छ। अस्ट्रेलियामा डलर मात्रै छैन, प्रतिस्पर्धा पनि छ। विकृति छ। निरासा छ। बीच सडक चल्ने ट्रेनको घण्टीसँगै उनीहरु चल्नुपर्छ। ट्रेनकै यात्राका क्रममा आफ्नो निद्रा पूरा गर्नुपर्छ। तर, अस्ट्रेलियामा बस्ने नेपालीहरु लगनशील, सहनशील, किफायती, चतुर र सिर्जनशील छन्। त्यसैले उनीहरुलाई अस्ट्रेलिया पत्याएको छ।

अस्ट्रेलिया छाडे पनि त्यहाँको विकास, सिस्टम, स्वागत–सत्कारले लगाएको मोहनी छुटेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .