घुमघाम


नेपालको ‘स्विट्जरल्यान्ड’ पुग्दा

नेपालको ‘स्विट्जरल्यान्ड’ पुग्दा

नवीन बराल
काठमाडौं, जेठ ३२

बिहानै हामी सिमिकोटबाट फेरि कर्णाली भेट्याउने यात्रामा अघि बढ्यौँ। खोँचमा बगिरेहेको कर्णालीलाई सिमिकोटभन्दा तलै छाडेर हामी अर्को बाटो हिँडेका थियौँ। जुन बाटो हिँडे पनि हाम्रो यात्रा घुम्दैफिर्दै कर्णालीमै पुग्थ्यो।

अगाडि बढ्दै जाँदा बन्दै गरेको कर्णाली करिडोरको बाटो भेट्याउन पुग्यौँ। यो करिडोर चीनको नाका र नेपालको राष्ट्रिय सडकसँग जोडिदो रहेछ।

सिमिकोटबाट बरगाउँ हुँदै झन्डै २५ किलोमिटरको यात्रापछि खापुनाथ गाउँपालिका आइपुग्छ। यहाँ आइपुगेपछि कर्णालीसँग हाम्रो फेरि भेट भयो। यात्राका क्रममा मानिसहरु कर्णाली राक्षस तालबाट आएको हुनाले यसको किनारमा मन्दिर नभएको किम्बदन्ती सुनाउथे।

हुम्लाको एक गाउँमा रहेको मन्छेको आकृतिको मुखुण्डो

हुम्लाको एक गाउँमा रहेको मन्छेको आकृतिको मुखुण्डो

सिमिकोटसम्मको यात्राका क्रममा हामीले कहीँ कतै मन्दिर देखेका थिएनौँ। मन्दिर नभेट्दा स्थानीयले भनेको साँचो हो कि जस्तो पनि लागेको थियो। तर, खापुनाथमा शिवको मन्दिर देखेपछि त्यो भ्रम हट्यो। जसरी यसअघि कर्णाली राक्षस तालबाट आएको होइन भन्ने भ्रम हटेको थियो।

खापुनाथबाट अघि बढिरहँदा कर्णालीलाई ‘वाइल्ड एन्ड सिनिक’ र ‘अनस्पाइल रिभर बैंक’को रुपमा देख्न पाउँदा मन आनन्दित भयो। कर्णालीको गडगडाहट, मनै लोभ्याउने सुन्दरता! यस्तो देख्दा साच्ची हाम्रो नेपाल कति सुन्दर छ है भन्ने भान हुन्थ्यो। कतै कर्णाली करिडोरका कारण नदीको सुन्दरतामा ह्रास त आउने होइन भन्ने पनि मनमा प¥यो।

उकाली–ओराली, भीर–पाखा गर्दै हामी गोप्चे गौँडामा पुग्यौँ। त्यसदिन त्यहीँ बस्यौँ।

बाटो बनाउँदा कर्णाली नदीमा  फालिएका ढुंगाहरु
कर्णाली नदीमा देखिएका गिट्टी

१८ औँ दिन निकै अचम्मको रह्यो। अल्लो र सिस्नोको झ्याङको यात्रा। निकै ठूलो गाँजाको झ्याङको बीचबाट पनि हिँड्नुपर्ने। मान्छे नै हराउने वा जंगली जनावरले आक्रमण गर्ने डर मनमा पालेर। कतिबेला यो झ्याङ सकिएला भनेको त दिनभर नै यस्तै झ्याङ हुँदै हिँड्नुपर्यो। न् अरु कुनै दृश्य देख्न पाइन्छ न त कर्णाली नै। मन खिन्न भयो।

याे पनि: तिब्बती सहरमा च्यांग्राको मःमः

बाटोमा बल्लतल्ल एउटा घर भेटियो। घरमा एक अधबैंसे पुरुषमात्र रहेछन्। घर अगाडि मृत मान्छेको मुकुन्डोजस्तो आकृति र घरको ढोका नजिकै भगवानको मूर्ति राखेका रहेछन्। भूत भगाउन यसो गरिएको शाही थरका ती अधबैंसले बताए।

त्यो घरलाई छिचोलेर हामी लालीबगर भन्ने ठाउँमा पुग्यौँ। त्यहाँ पाइनका रुखहरु पाइदा रहेछन्। कर्णालीतिर रुखहरु ढल्किएर निकै सुन्दर देखिएको थियो। सुन्दरता देख्दा त्यस ठाउँलाई नेपालको स्वीजरल्याण्ड नाम दिन मन लाग्यो। फैलिएको कर्णाली, बगर र आइल्याण्डजस्तो सुन्दर ठाउँ! साच्ची ‘वाइल्ड एन्ड सिनिक’ थियो त्यो ठाउँ।

मुगु र हुम्लाका बीचबाट बग्दै गरेको कर्णाली नदी

मुगु र हुम्लाका बीचबाट बग्दै गरेको कर्णाली नदी

यस्तो ठाउँमा ‘क्रिस्चियन’ धर्मको प्रचार गरेको देखियो। एउटा ठूलो ढुंगामा ‘यशु क्रिश’ लेखिएको थियो। क्रिश्चियन धर्म प्रचारक त्यहाँसमेत पुगेका रहेछन्! आफू हिन्दू धर्मावलम्बी भएका कारण यो देख्दा नरमाइलो लाग्यो।

त्यसदिन कर्णाली नदीको किनार (सर्किलदेउ)मा क्याम्प बनाएर बस्यौँ।

कर्णाली नदी किनारामा रहेको एक मन्दिर

कर्णाली नदी किनारामा रहेको एक मन्दिर

बिहानै सामान बोकेर हिँडिरहेका भेडा र खसीको ताँती देखियो। भेडाले ३–४ दिनको यात्रामार्फत खाद्यान्न (विशेषगरी चामल) बोक्दा रहेछन्। च्याङ्ग्रा र घोडालाई सामान बोकाएको त थाहा थियो तर भेडा र खसीलाई बोकाएको देख्दा अचम्म लाग्यो। गोरेटो बाटो हुँदै अगाडि बढ्दै जाँदा तिर्खा लागिरहेको थियो। कर्णाली नदीकै चिसो पानी पियौँ।

याे पनि: राक्षस ताल होइन कर्णाली नदीको मुहान (फोटो फिचर)

हिँड्दै गर्दा सर्केगाडमा पुग्यौँ। त्यहाँँ एउटा घर देखियो। थापा थरका श्रीमान्–श्रीमती मिलेर घरभन्दा अलि पर खाल्डोभित्र धान राख्ने काम गरिरहेका थिए। घरमा आगलागी वा चोरी भएमा राशन सुरक्षित हुन्छ भनेर त्यसो गरिएको रहेछ। दुई–तीन वर्षमा धान फेर्दा रहेछन्। हामी त्यहाँ पुग्दा उनीहरुले धान फेरिरहेका रहेछन् । उनीहरुको परम्परागत ज्ञान देखेर हामीलाई भने केही रमाइलो र नौलो लाग्यो।

खाल्डोभित्र धान राख्दै एक किसान

खाल्डोभित्र धान राख्दै एक किसान

यहाँसम्म आइपुग्दा भिरालो डाँडामा खेती गरेको देखियो। त्यहाँ घैया धान रोपिएको रहेछ। कर्णाली फेदमै भए पनि सिचाईको सुविधा भने थिएन। विद्युतको पहुँच नभएका कारण पनि होला।

सिमिकोटपछिको ठूलो सुविधा भएको सर्केगाडमा आइपुग्यौँ । त्यहाँ विद्यालय र केही पसलहरु रहेछन्। सोलार बत्तिको व्यवस्था पनि गरिएको रहेछ। जे होस्, सिमिकोटपछि हामीले भेटेका गाउँमध्य यो सुविधायुक्त गाउँ थियो।

एक महिला

एक महिला

हाम्रो यात्रा जारी छ। लोती खोला कर्णाली आएर मिसिने ठाउँ (सरिसल्ला) आइपुग्यौँ। ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत त्यहाँ बाटो निर्माण हुँदै रहेछ। सिमिकोट–सरिसल्ला (५१ किमी) कर्णाली करिडोरको काम पनि भइरहेको रहेछ। त्यसदिन हामी त्यहीँ बस्यौँ।

अर्को दिनको यात्रा पनि सल्ला, पाइन र सिउँडीलाई छिचाल्दै कर्णालीको छेवैछेउ हुँदै अघि बढ्यो। दिनभरको यात्रामा एउटा मात्र घर देख्यौँ। कर्णाली पनि खोचबाट बगेको थियो। निकै सुख्खा ठाउँ। बाटो पनि भिर खनेर बनाइएको। निकै डरलाग्यो । यसरी अचानक भूगोल परिवर्तन भएको देख्दा अचम्म लाग्यो।

खाद्यसामान बोकिरहेका च्याङ्ग्रा

खाद्यसामान बोकिरहेका च्याङ्ग्रा

बिस्तारै भूगोल परिवर्तन हुँदै गयो। खोलाको छेउँमा फाँटहरु देखिन थाले। मानिसलाई कृषि कार्यमा लागेको देख्न थालियो। कर्णालीको फेद र माथिल्लो डाँडामा पनि घरहरु देखिए। यो श्रीनगरभन्दा तलको बेसी गाउँ रहेछ।

बेसी गाउँ छेउ (कर्णाली किनार)मा आर्मीले बाटो खन्न थालेको रहेछ। बम हानेर बाटो बनाउँदै गरेकाले सबैतिर भत्किएको थियो। डोरी समाएर हिँड्नुपर्ने। अघिल्लो दिन एक व्यक्तिले तपाईंहरु त्यहाँ पुगेपछि अघि जान सक्नुहुन्न भनेका थिए। चट्टान फोरेर बनेको साँघुरो बाटो देख्दा मलाई पनि हो किजस्तो लाग्यो। तर, जसोतसो ज्यानको बाजी लगाएर झन्डै ३० मिटरको जोखिम पार गर्यौँ।

लक्ष्मी परियार हुम्ला .

लक्ष्मी परियार हुम्ला .

त्यस क्षेत्रमा बाटो बनाउँदाका सबै फोहर (बम हानेर फुटेका ढुंगा) कर्णालीमा फालिँदो रहेछ। स्थानीयहरु यसरी फोहर फाल्नाले माछाको वासस्थान बिग्रिएको गुनासो गरिरहेका थिए। साथै त्यसले कर्णालीको पानी पनि प्रदूषित बनाएको उनीहरुको भनाइ थियो। त्यसदिन हामी बाजुराको कवाडी पुगेर त्यहीँ बस्यौँ।

याे पनिकेरुङको तिब्बती क्लबमा ‘आज दिल हे पानी पानी’

अर्कोदिन ढोला चौरमा पुग्यौँ। यहाँबाट बाटो बनिसक्यो भने रारा ताल पनि जान सकिँदो रहेछ। राराबाट आएको पानी त्यहीँ आएर कर्णालीमा मिसिँदो रहेछ। त्यसदिन हामी दैलेखको राकम कर्णालीमा पुग्यौँ। यहाँ मानिसहरु खोलासँग धेरै अन्र्तक्रिया गर्दा रहेछन्। ठूलो माझी माछा मारेर जीविका चलाउँदो रहेछ। राकम कर्णाली अछाम, कालिकोट र दैलेखकको व्यापारिक केन्द्र रहेछ। सरकारले मध्यपहाडि लोकमार्गमा बनाउने १० वटा मेगासिटी निर्माणका लागि यस ठाउँलाई पनि छनोट गरेको छ।

जोखिम मोलेर निर्माणाधीन सडकखण्डमा पार गर्दै एक युवक

जोखिम मोलेर निर्माणाधीन सडकखण्डमा पार गर्दै एक युवक

हामी माथिल्लो कर्णाली जलविद्युत आयोजना स्थलतर्फ लाग्यौँ। त्यहाँ आयोजनाको कार्यालय रहेछ। केही स्थानीयलाई मुआब्जा बाँड्ने कामसमेत भएको रहेछ। हामीले आयोजनाका लागि ड्याम बनाइएको ठाउँ नजिकै क्याम्पिङ गयौँ। त्यहाँ सशस्त्र प्रहरीको ठूलै क्याम्प पनि रहेछ। स्थानीयहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गरौँ भन्ने नारा लेखेका बोर्डहरु पनि देखिए।

बाजुराको काप्री गाउँका महिलाहरु ओखलमा धान कुट्दै

बाजुराको काप्री गाउँका महिलाहरु ओखलमा धान कुट्दै

त्यसदिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि हामीलाई स्वागत गर्न आइपुग्नुभयो। उहाँ त्यसदिन हामीसँगै बस्नुभयो । कर्णालीको विकास कसरी गर्ने भन्नेमा आफ्नो धारणा पनि सुनाउनुभयो। हामीले पनि पर्यटकीय हिसाबले सम्भावनाका आधारहरु बतायौँ। 
क्रमशः...

 

बाजुरास्थित कणाृली करिडोर निर्माणमा रहेका स्काभेटर

बाजुरास्थित कणाृली करिडोर निर्माणमा रहेका स्काभेटर

 

एक महिला

एक महिला

 

सल्लाका रुख

सल्लाका रुख

जेठ ३२, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .