कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत मात्रै प्राप्त गरे।
यस्तै नेकपाका प्रेमबहादुर आलेले ७ हजार ८८६ र एमालेका यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरेका छन्।
योसँगै कांग्रेस-एमालेले जितिरहेको कैलाली ५ मा रास्वपा उदाएको छ।
डोटीबाट लगातार तीन चुनाव जितेर निर्वाचन क्षेत्र फेरेका पूर्वमन्त्री आले चौथोपटक संसद् यात्रा गर्नबाट रोकिएका छन्।
कैलाली ५ मा ०७९ मा कांग्रेस र ०७४ मा एमालेले चुनाव जितेका थिए।
यस निर्वाचन क्षेत्रमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी उपमहानगरपालिका समेत पर्छ।
कांग्रेसको गढ नै मानिने यो क्षेत्रमा रास्वपाका उम्मेदवार चन्दले १९ हजार ९९५ मतान्तरले कांग्रेसका शाहलाई हराएका हुन्।
चन्द प्राध्यापन पेसा छाडेर राजनीतिमा होमिएका हुन्। १७ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्र पढाइरहेका उनी राजीनामा दिएर रास्वपामा आबद्ध भएका थिए।
गौरीफन्टा नाका स्तरोन्नति गर्दै भैरहवा र वीरगन्जजस्तो बनाउने योजना उनले चुनावी एजेन्डामा राखेका थिए।
यस्तै सेती प्रादेशिक अस्पताललाई दुई सयभन्दा बढीमा स्तरोन्नति गर्ने, फाप्ला क्रिकेट स्टेडियम निर्माण गर्ने उनको योजना छ।
Shares

प्रतिक्रिया