कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा राजा महेन्द्रको सालिक पुन: ठड्याइएको छ।
शनिबार राति स्थानीयहरूले महेन्द्रनगरको संविधान चोकमा राजा महेन्द्रको सालिक ठड्याएका हुन्।
२०६२/०६३ को आन्दोलनका क्रममा गणतन्त्रवादीहरूले तोडफोड गरेको राजा महेन्द्रको सालिक झण्डै दुई दशकपछि पुनःस्थापना गरिएको हो।
महेन्द्रको सालिक राखिएको स्थानमा स्थानीय युवाले सरसफाइका साथै विद्युत् जोडेर झकिझकाउ बनाएका छन्।
यसअघि राजावादीहरूले महेन्द्रको सालिक राख्न प्रयास गरेका थिए। तर गणतन्त्रवादीको चर्को विरोधले राख्न सकेका थिएनन्।
हालै पनि विरोधको सम्भावना देखिएपछि प्रशासनले केही दिनअघि सालिक राख्ने संविधान चोकमा ताला लगाएको थियो। सालिक पुनःस्थापना गर्ने पक्षको विरोधपछि ताला खोलिएको थियो।
महेन्द्रनगर सहर स्थापनामा राजा महेन्द्रले गरेको योगदानको सम्झनाका लागि सालिक पुनःस्थापना गरिएको उनीहरूले जनाएका छन्।
Shares

प्रतिक्रिया