सुदूरपश्चिम


जो धेरैपटक सुधारगृह बसे, अहिले आफैँ चलाउँछन् सुधारकेन्द्र

जो धेरैपटक सुधारगृह बसे, अहिले आफैँ चलाउँछन् सुधारकेन्द्र

गोकुल जोशी
असार २२, २०८२ आइतबार १७:५३, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारीको एक शान्त कुनामा छ- नयाँ गन्तव्य नेपाल सुधार केन्द्र। बाहिरबाट हेर्दा यो एउटा सामान्य घरजस्तो लाग्छ। तर, भित्र पस्दा यहाँको वातावरण केही फरक महसुस हुन्छ। 

यहाँ मानिसहरू परिवर्तनको यात्रामा छन्। त्यस यात्राका अगुवा हुन् गोकर्णदेव अवस्थी। भीमदत्त नगरपालिका–६ का गोकर्ण सुधारगृह सञ्चालन गरिरहेका छन्। 

यो ठाउँसम्म आइपुग्न उनले लामो र पीडादायक यात्रा तय गरेका छन्। इन्जिनियरिङ पढेका अवस्थीको जीवन एक समयसम्म सामान्य थिएन। कक्षा १२ पढ्दै गर्दा उनी मद्यपान गर्न थाले। पछि यो नै लत बन्यो। 

‘साथीको लहलहैमा लागेर मद्यपान गर्न थाले, सुरुमा रमाइलो लाग्थ्यो, पछि त्यो रमाइलोले मेरो जीवन अस्तव्यस्त बनायो,’ उनले भने, ‘१५–२० वर्ष मद्यपान गरे। जसबाट जीवन लथालिङ्ग बन्यो।’ 

मद्यपानको लत छुटाउन धेरै पटक काठमाडौँ र कैलालीका सुधारगृहमा बसेको उनले बताए। 

उनी २०६९ सालदेखि सुधारगृहमा उपचार गराउन थालेका थिए।

‘धेरै पटक सुधारगृह बसेँ, केही समय ठीक हुन्थ्यो, फेरि लतमा फर्किन्थेँ,’ उनी भन्छन्, ‘पछि यसलाई मैले रोगको रुपमा लिएँ, रोग हो भने उपचार हुन्छ भन्ने विश्वासले म बिस्तारै सुध्रिएँ।’ 

मद्यपानको लतबाट मुक्त भएपछि सुधारगृह सञ्चालन गर्ने योजना बनाएको अवस्थी बताउँछन्।

‘२०८० सालमा नयाँ गन्तव्य नेपाल सुधारगृह दर्ता लगायतको प्रक्रिया पूरा गरेर २०८१ सालदेखि सञ्चालनमा ल्याएका हौँ,’ उनले भने। 

अहिले अवस्थी जीवन सामान्य बनेको छ। घरपरिवारमा आशा पलाएको छ। धेरै युवाहरूको जीवन सुधार्न लागि परेका छन्। 

‘मद्यपान गर्दा परिवार, समाज, साथीभाईबाट अपहेलित भए, मद्यपान छोडेर सुधारगृह सञ्चालन गरेपछि सबै खुशी छन्,’ उनले भने। 

सुधारगृहमा बसेका दर्जनौँ युवालाई लागुऔषधको दुव्र्यसनबाट मुक्त गराएको उनले बताए। उनका अनुसार सुधारगृहमा उपचार गराएका कतिपय युवाहरु वैदेशिक रोजगारीमा समेत गएका छन्। 

‘हामी योग, ध्यान, परामर्श र आत्मप्रेरणाका कथाहरु सुनाएर दुव्र्यसनबाट मुक्त गराउँछौँ,’ उनले भने, ‘अभिभावक र समाजको सहयोगबाट दुव्र्यसन रोकथाम गर्न सकिन्छ।’ 

साथीभाइको प्रभाव, चलचित्रका दृश्य, मनोरञ्जनका रुपमा सुरुवातलगायतका कारण युवाहरु दुव्र्यसनमा लागिरहेको अवस्थीले बताए। 

‘अभिभावकले बालबालिकाको हेरचाह गर्नु आवश्यक छ। प्रारम्भिक लक्षण देखिँदैमा ध्यान दिनुपर्छ,’ उनले भने।

नयाँ गन्तव्य नेपाल सुधार केन्द्रमा अहिले १६ जनाको उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad