गालामा लामो दाह्री, शिरमा पगडी। खाइलाग्दो कलिलो जिउ। यस्तै हुलियाका उनी नेपाली सेनाको पोशाकमा सजिएका छन्।
सेनाको इतिहासमा दुर्लभ दृश्य हो, यो। उनी बाँकेको जानकी गाउँपालिका–२ बनकटुवाका २३ वर्षीय करन सिंह शिख हुन्।
शिख समुदायबाट नेपाली सेनामा प्रतिनिधित्व गर्दै करनले इतिहास रचेका छन्। शिख समुदायबाट सेनामा प्रवेशमा गर्ने पहिलो व्यक्ति बनेका करनलाई बधाई थाप्न भ्याइनभ्याइ छ।
अछामको श्री गोरख बक्स गण मंगलसेन ब्यारेकमा ९ महिने सैनिक तालिम पूरा गरेका छन्, उनले। सैनिकमा जागिरे भएका करनको ‘पोस्टिङ’ कपिलवस्तुको श्री शमशेर दल गणमा भएको छ।

सानैदेखि फौजी बनेर देशको रक्षा र सेवा गर्ने करनको चाहाना थियो। कक्षा १२ सम्मको अध्ययन पूरा गरेका उनी एक वर्षअघिसम्म नेपाल प्रहरीको असईको तयारीमा थिए।
प्रहरीको असई र नेपाली सेनामा भर्ना खुल्यो। तयारी गरिरहेकाले उनले असईको फारम भरे। साथीहरूले सेनामा पनि फारम भर्नु पर्छ भनेपछि करनले ९ जना साथीहरूसँगै नेपालगञ्जमा फारम भरे।
नेपालगञ्जमा फारम भरेका उनी विभिन्न चरण पार गर्दै अन्तवार्तामा पनि उत्तिर्ण भए। ०८१ साउन ६ गते नियुक्ति बुझेर उनी तालिमका लागि अछाम गएका थिए।
‘असईमा पास हुन सकिएन। सेनामा पनि फाराम भरेको थिएँ। यता प्रयास गरेँ। सबै चरण पास भइयो,’ करनले भने।

धर्मअनुसार दाह्री पाल्नु र शिरमा पगडी लगाउनु शिख समुदायका स्थानीयको पहिचान हो। तर यो पहिचान कायम राख्दै सैनिक तालिम पूरा गर्न करनले कम्ति संघर्ष गर्नु परेन।
‘फाराम भर्ने बेला दाह्री काट्नु नपर्ने र पगडी लगाउन मिल्ने भनिएको थियो। एकरुपता गर्न तालिममा काट्नु पर्छ भनियो,’ उनले भने, ‘त्यो नसकिने बरु जागिर छोड्छु भनेर निवेदन दिएँ।’
उनका अनुसार त्यसकै आधारमा जागिरबाट निकालिनु पर्ने अवस्था आएको थियो। करिब डेढ महिना काठमाडौँ बसेर सेनाको शीर्ष तहमा कुरा राखे।
धर्मअनुसार अन्य देशमा सेनाले पगडी र दाह्री पाल्ने गरेको सुनाएपछि करन त्यो गर्न पाउने भए। पछि फेरि अछाम गएर तालिममा सामेल भएका हुन्।
‘तालिम सहजै भयो। गाह्रो केही भएन। साथीभाइ सबैले सहयोग नै गरे,’ करन भन्छन्, ‘सानैदेखिको सपना पूरा हुँदा निकै खुसी छु।’

करन मध्यम वर्गीय कृषक परिवारमा जन्मिए। उनका बुवा लक्पत सिंह कृषि गर्छन्। बनकटुवामा लक्पतको ४ पुस्ता बितिसके। त्यहाँ उनको डेढ बिगाह जमिन छ। त्यसकै उब्जाउले वर्षभरी खाने र बिक्री गरेर घरखर्च जोहो गर्नुपर्छ।
लक्पत सिंहको ६ जनाको परिवार छ। श्रीमती जस्वन्ति कौरले खेतखलियामा लक्पतलाई सघाउँछिन्। करन परिवारका जेठो छोरा हुन्। उनका एक बहिनी र दुई भाइ छन्।
‘ऊ(करन)परिवारको सहारा हो। उसको सानैदेखि फौजी बन्ने इच्छा थियो, अभिभावकका रुपमा हामीले कुनै रोकटोक गरेनौँ,’ करनका बुवा लक्पत भन्छन्, ‘उसलाई आफ्नो रुचिको विषयमा लाग्न भनिरह्यौँ। आफ्नो मेहेनत र संघर्षले सफल भएको देख्दा निकै खुसी लागेको छ।’
वि.सं.२०५९ सालमा जन्मिएका करनले कक्षा ५ सम्मको अधययन गाउँकै विद्यालयमा गरे। त्यसपछि कक्षा ७ देखि कक्षा १० सम्मको अध्ययन उनले नेपालगञ्जको प्रभात मेमोरियल हाइस्कुलबाट गरे।
वि.सं. २०७८ मा युनाइटेड एजुकेशन एकेडेमी, नेपालगञ्जबाट उनले व्यवस्थापन संकायको लेखा विषयमा कक्षा १२ उत्तिर्ण गरे।
‘पहिलो प्रयासमै सफलता मिल्यो। सँगै फारम भरेका अन्य ९ जना साथीहरू पनि सैनिक बने,’ करन भन्छन्, ‘एउटा सपना पूरा भएकोमा गौरव लागेको छ। देशको रक्षाको लागि काम गर्छु।’
Shares

प्रतिक्रिया