बिहान सबेरै उठेर भैँसी दुहुन्छन्। बाख्रा र भैँसीलाई आहार दिन्छन्। दुध लिएर बिक्रीका लागि बजार निस्किन्छन्। त्यसपछि कार्यालय जान्छन्। कार्यालयबाट फर्केपछि बेलुका फेरि बाख्रा र भैँसीकै स्याहारमा जुट्छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ४१ वर्षीय जयसिंह धामीको यस्तै व्यस्त दैनिकी छ। सहकारीका कर्मचारीसंगै धामीले गाउँमा नमूना किसानको परिचय पनि बनाएका छन्।
उनी साना किसान कृषि सहकारी संस्थाका शाखा प्रबन्धक हुन। उनले बाख्रा र भैँसी पालन पनि गरेका छन्।

‘अवलोकन भ्रमणका क्रममा निस्केपछि त्यहाँ गरेको कृषि देखेपछि केही गर्ने सोच आयो,’ उनी भन्छन्, ‘गाउँका अरु कृषकले पनि केही सिकुन् भनेर नौकरीसँगै पशुपालनमा पनि लागेँ।’
दुई दशकदेखि सहकारीमा कार्यरत रहदा कृषकहरुसँगै अवलोकन भ्रमणमा देशका विभिन्न ठाउँमा पुगे। जहाँ उनले उच्च शिक्षा आर्जन गरेकाहरुले पनि कृषि र पशुपालनलाई मुख्य पेशा बनाएको देखे। उनीहरूबाटै प्रेरित भएर पशुपालनमा जुटेको उनी बताउँछन्।
धामीले खोरमा विभिन्न जातका ४७ बाख्रा पालेका छन्। ५ वटा भैँसी छन्। दैनिक ३० लिटर भन्दा बढी दुध बिक्री गर्ने गरेको उनको भनाइ छ। वर्षमा ३० बढी खशी बोका बिक्री हुने गर्छन्।
उनका अनुसार बाख्रा र भैँसीबाट वार्षिक अढाई/तीन लाख रुपैयाँ बचत हुन्छ।

‘घर परिवारका सबैजना यसमा जुटेका छौँ, दुई जना कामदार पनि राखेका छौँ,’ उनी भन्छन्, ‘मासिक १५ हजार तलब दिइएको छ। सबै खर्च कटाएर वर्षमा तीन लाखसम्म बच्छ।’
धामीले वि.संं. २०७० देखि बोयर र जमुनापारी जातका १५ बाख्राबाट पशुपालन थालेका थिए। विस्तारै माउ बाख्रा थप्दै गए। भारतबाट पनि जमुनापारी जातका बोका ल्याए।
भारतबाट ल्याएर मुर्रा जातका भैँसी पालन पनि गरेका छन्, धामीले। उनका अनुसार जसको एउटैको मूल्य एक लाख बढी पर्छ। बाख्रा र भैँसीसँगै उनले बंगुर पालन पनि गरेका थिए। उनलाई बंगुर पालन फापेन।
रोगका कारण एकै रातमा १५ बंगुर मरेपछि घाटा लागेर उनले बंगुर पालन छोडे। उनीसँग १५ कट्टा जमिन छ। त्यसैको उत्पादनले भैँसी र बाख्रालाई घाँस, भुसा र पराल पुग्दैन।
त्यसैले गाउँमै दुई विघा जमिन पनि लिजमा लिएको धामी बताउँछन्। प्रतिविघा ५० हजार भाडा तिर्ने गरेका छन्।
धामीकी श्रीमती देवकी नजिकैको गाउँकै उदयदेव माध्यमिक विद्यालयमा वाल विकास शिक्षिका हुन्। उनले पनि स्कुलबाहेकको समयमा खोरमा श्रीमानलाई सघाउँछिन्।

धामी दम्पतीका एक छोरी र छोरा छन्। छोरा स्नातक तहमा र छोरी इण्टरमा अध्ययनरत छिन्। १५ लाख ऋण काढेर पशु पालनमा लागेका धामीले व्यवसाय बढाउदै लगेका छन्।
सुरुमा खोर निर्माण तथा बाख्रा र भैँसी खरिदका लागि ऋण काढेका थिए। त्यसपछि बाख्रा र भैँसी पनि बढाए खोर पनि स्तरोन्नति गर्दै लगे। अहिले ५० लाख बढी ऋण रहेको धामीले बताए। प्रदेश सरकारको कृषि मन्त्रालयले कृषि ऋणमा दिने व्याज अनुदान पाएका छन्।
‘अहिले वास्तविक किसानले धैरै अनुदान पाउँदैन, अग्रिम कमिसन दिन सके मात्रै हो पाउने,’ धामी भन्छन्, ‘अनुदान बजेटमै तोकेर आउँछ, किसानको पहुँच नै हुँदैन।’
उत्पादनका आधारमा अनुदान दिने व्यवस्था हुन सके वास्तविक किसानसम्म अनुदान पुग्न सक्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया