सुदूरपश्चिम


पहिलेकै पत्नीको नाम राखेर कान्छी श्रीमतीको नागरिकता बनाएपछि...

पहिलेकै पत्नीको नाम राखेर कान्छी श्रीमतीको नागरिकता बनाएपछि...

प्रतिकात्मक तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार ६:५०, बैतडी

दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाका किस्मती चन्द र गम्भीर चन्द छन्। 

किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो। श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीका आधारमा गम्भीरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। 

बैतडीबाट लिएको पहिलो नागरिकतामा नाम किस्मतीदेवी चन्द, ना.प्र.न.७३३०१३/४३४, जारी मिति २०६३/१०/८ बैतडी, जन्ममिति २०४६/५/२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ। 

यसैगरी कञ्चपुरबाट लिएको दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्म मिति २०३९/११/१०, ना.प्र.न. ७५१००१/१३१२६, जारी मिति २०६७/४/२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ। 

दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबर्जस्ती पुरानै श्रीमतीको विवरण राखेर नागरिकता बनाएको खुल्न आएको छ। गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमतीका रूपमा किस्मतीलाई भित्र्याएको र पहिलाकै श्रीमती कलावतीको नामबाटै किस्मतीको कञ्चनपुरबाट नयाँ नागरिकता बनाएका हुन्। 

ती कलावतीलाई दैनिक कुटपिट गर्ने गरेको र चार छोरा आफैँसँग राखेर घर निकाला गरेका हुन्। अहिले दोहोरो नागरिकता लिने र लिन बाध्य पार्ने दुवै जनाबारे अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। उनले भने, ‘दुवैजनालाई पक्राउ गर्न भनेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खबर आएको र त्यसपछि हामीले उनीहरूको खोजतलास गरेका थियौँ। अहिले उनीहरू कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन्।’ 

बैतडीको भन्दा कञ्चनपुरको नागरिकतामा सात वर्ष उमेर बढाएर बनाएको पाइएको र निजको नाम र श्रीमान्‌को नाम पनि फरक रहेकाले प्रहरीले मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad