ad ad

खेल


विश्वकप फुटबल : पहिलो चरणका खेल सकिए, कुन टोलीको अवस्था कस्तो?

विश्वकप फुटबल : पहिलो चरणका खेल सकिए, कुन टोलीको अवस्था कस्तो?

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १०:३७, काठमाडौँ

विश्वकप फुटबलमा समूह चरणका पहिलो राउण्डका खेल सकिएको छ। शुक्रबार मध्यराति ब्राजिल र सर्वियाको खेलसँगै सबै टोलीले एक एक खेल खेलेका हुन्। 

समूह चरणमा तीन/तीन खेल खेलेपछि नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ। हरेक समूहमा चार चार वटा टोली छन्। समूहको पहिलो चरणको खेलमा ११ वटा टोलीले जित दर्ता गर्दा ११ वटा टोली हार्न बाध्य भएका छन्। 

१० वटा टोलीले बराबरी खेल्दा ११ वटा टोली अंकबिहिन भएका छन्। पूर्व विश्व विजेता अर्जेन्टिना र जर्मनी समूह चरणको पहिलो खेलमा पराजित भएका छन्। शनिबार अपरान्हबाट समूहकै दोस्रो चरणका खेल सुरु हुनेछन्। 
अहिलेसम्म कुन टिमको अवस्था कस्तो  

समूह–ए 

समूह ए मा नेदरल्याण्ड्स र इक्वेडरले जित दर्ता गर्दा आयोजक कतार र सेनेगल पराजित भएका छन्। समूहको पहिलो खेलमा नेदरल्याण्ड्सले सेनेगललाई र इक्वेडरले कतारलाई समान २–० ले पराजित गरेका हुन्। अब दोस्रो चरणमा सेनेगल र कतार तथा नेदरल्याण्ड्स र इक्वेडर भिड्नेछन्। 

समूह–बी 

समूह एमा इङ्ल्याण्डले इरानलाई ६–२ ले पराजित गरेको छ। वेल्स र अमेरिका १–१ को बराबरी खेलेका छन्। अब दोस्रो चरणमा वेल्स इरान तथा अमेरिका र इङ्ल्याण्ड भिड्ने छन्। यो समूहमा इरान मात्रै अंक बिहिन छ। 

समूह–सी


समूह सीको पहिलो खेलमा उपाधि दाबेदार मानिएको टोली अर्जेन्टिना पराजित भएको छ। साउदीले पुर्नरागमन जित निकाल्दै अर्जेन्टिनालाई स्तब्ध पारेको हो। अघिल्लो चरण प्रवेशका लागि समूहको दोस्रो खेल जित्नै पर्ने दबाबमा अर्जेन्टिना छ। अब अर्जेन्टिना र मेक्सीको तथा साउदी र पोल्याण्ड भिड्ने छन्। यसअघि पोल्याण्ड र मेक्सीकोले भने गोलरहित बराबरी खेलेका थिए। यो समूहमा अर्जेन्टिना तालिकाको अन्तिममा र साउदी शीर्षस्थानमा छ। 

समूह–डी

साविक विजेता फ्रान्सले यसपटक पनि शानदार सुरुवात गरेको छ। पहिलो खेलमा फ्रान्सले ४–१ गोलअन्तरले पराजित गरेको हो। यो समूहमा फ्रान्सले अष्ट्रेलियालाई पराजित गर्दा ट्युनिसिया र डेनमार्कले बराबरी खेले। अब दोस्रो खेलमा ट्युनिसिया र अष्ट्रेलिया तथा फ्रान्स र डेनमार्क भिड्ने छन्। यी दुई कडा प्रतिद्वन्द्वी हुन्। 

समूह–ई 

यो समूहका स्पेन र जापानले सुखद सुरुवात गरेका छन्। जापानले पूर्वविजेता जर्मनीलाई स्तब्ध पार्दै ३ अंक जोडेको छ। खेलमा पहिले पछि परेको अवस्थालाई उल्ट्याएर जापानले जित हात पारेको हो। यो जितसँगै जापानको अघिल्लो चरण पुग्ने संभावना बलियो बनेको छ। स्पेनले पनि पहिलो खेलमा फराकिलो जित दर्ता गर्यो। स्पेनले कोस्टारिकामाथि ७–० को जित हात पार्यो। अब दोस्रो खेलमा जापान र कोस्टारिका तथा स्पेन र जर्मनी भिड्ने छन्। यी खेलमा पनि जापान र स्पेन विजयी भए एक खेल बाँकी हुँदै समूह चरण पार गर्ने निश्चित हुनेछ। यो अवस्थामा जर्मनी पनि समूह चरणबाटै घर फर्किने छ। 

समूह–एफ 

पहिलो खेलमा बेल्जियमले ३ अंक जोड्दा क्यानडा अंकबिहिन छ। क्रोयासिया र मोरक्कोले भने १÷१ अंक जोडेका छन्। बेल्जियम र क्रोयसियालाई बलियो मानिए पनि मोरक्कोले क्रोयसियालाई रोकेको हो। बेल्जियमले पनि कठिन जित हात पार्यो। अब उसले मोरक्कोसँग खेल्नेछ। यो खेल जिते एक खेलअघि नै बेल्जियमले अघिल्लो चरणको यात्रा सुनिश्चित गर्नेछ। क्रोयसिया र क्यानडा दोस्रो खेलमा भिड्ने छन्।

समूह–जी

यो समूहमा ब्राजिल र स्विट्जरल्याण्डले समान ३ अंक हात पार्दा क्यामरुन र सर्विया अंकबिहिन छन्। स्विट्जरल्याण्डले क्यामरुनलाई १–० ले पराजित गर्यो। यस्तै ब्राजिलले सर्वियालाई २–० ले पराजित गरेको हो। यसअघिको विश्वकपमा पनि यी टोली एउटै समूहमा थिए र दुवै नकआउट चरणमा पुगेका थिए। अब समूहको दोस्रो खेलमा यी टोलीको भेट हुने छ। अर्को खेलमा सर्विया र क्यामरुन भिड्ने छन्। 

समूह–एच

यो समूहमा पोर्चुगलले घानामाथी कठिन जित दर्ता गर्दा दक्षिण कोरिया र उरुग्वेले गोलरहित बराबरी खेले। यो समूहमा सबैभन्दा सहज मानिएको टोली घानाले पोर्चुगल कडा टक्कर दियो। अब पोर्चुगल उरुग्वेसँग र कोरिया घानासँग खेल्ने छन्। पोर्चुगलले उरुग्वेलाई पराजित गरे एक खेल बाँकी हुँदै नकआउट चरणको यात्रा निश्चित गर्ने छ। तर कोरिया र उरुग्वेको टुंगो भने अन्तिम खेलबाट मात्रै लाग्ने छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .