ad ad

खेल


बलियो नेदरल्याण्ड्ससँग भिड्दै आत्मविश्वासी सेनेगल, कसले मार्ला बाजी?

बलियो नेदरल्याण्ड्ससँग भिड्दै आत्मविश्वासी सेनेगल, कसले मार्ला बाजी?

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:५५, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार समूह एका दुई टोली नेदरल्याण्ड्स र सेनेगलबीच प्रतिस्पर्धा हुँदै छ।

कतारको दोहास्थित अल थुमामा स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। सन् २०१८ को विश्वकप फुटबलमा छनोट असफल भए पनि नेदरल्याण्ड्स लगातार दोस्रोपटक यूईएफए नेसन्स लिगको फाइनलमा पुगेको थियो। 

सेनेगलको टोलीका महत्वपूर्ण खेलाडी साडियो माने चोटको कारण विश्वकपबाट बाहिरिएका छन्। सोमबारको खेलमा सेनेगलका लागि मानेको अभाव खड्किन सक्छ। 

नेदरल्याण्ड्स


डच टोली नेदरल्याण्डलाई समूह ए को बलियो टोलीको रुपमा हेरिएको छ। सन् २०१८ मा छनोट चरण पार गर्न नसकेपछि नेदरल्याण्डले विश्वकप गुमाएको थियो। सन् २०१० को विश्वकपको फाइनलमा स्पेनसँग १–० ले पराजित हुँदै नेदरल्याण्ड उपविजेतामा सीमित भएको थियो।

नेदरल्याण्डले सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको थियो। डच टोलीले विश्वकपमा सबैभन्दा धेरै फाइनल खेल्ने टोलीको कीर्तिमान आफ्नो नाममा गराएको छ। नेदरल्याण्ड सन् १९७४मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना र २०१० स्पेनसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। 

नेदरल्याण्डले अहिलेसम्म १९३४, १९३८, १९७४, १९७८, १०९०, १०९४, १०९८, २००६, २०१० र २०१४ मा सहभागिता जनाएको थियो। 
१९३० को पहिलो संस्करण सहभागी नभएको नेदरल्याण्ड त्यसपछिका दुई संस्करण अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। १९५० देखि १९७० सम्म सहभागी नभएको नेदरल्याण्डले १९७४ र १९७८ को फाइनल खेल खेलेको थियो।

त्यसपछिका दुई संस्करण सहभागी नभएको डच टोली १९९० मा अन्तिम १६ सम्म पुगेको थियो। विश्वकपमा उतारचढावपूर्ण यात्रा तय गरेको नेदरल्याण्डले १९९४ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसपछिको एक संस्करण सहभागी नभएको नेदरल्याण्ड २००६ मा अन्तिम १६ सम्म पुगेको गियो।

२०१० को फाइनल खेलेको नेदरल्याण्डले २०१४ मा तेस्रो स्थानका लागि स्पर्धा गरेको थियो। २०१८ मा सहभागी नभएको यो टोलीलाई २०२२ मा यो समूहको विजेताको रुपमा हेरिएको छ। 

यो समूहबाट कोडी गाक्पो, जाभी सिमोन्स र स्टिफन बर्गविजन विश्वकपमा आफ्नो प्रभाव देखाउन उत्साहित छन्। डच टोलीलाई कप्तान भर्जिन भान डाइकसँगै डेन्जेल डम्फ्रिज, स्टेफन डे भ्रिज र म्याथिज्स डे लिग्ट जस्ता अनुभवी खेलाडीको साथ छ। 

नेदरल्याण्ड्सको टोली
गोलकिपर : जस्टिन बिज्लो, एन्ड्रिस नोपर्ट, रेम्को पासवीर

डिफेन्डर : भर्जिल भान डाइक, नाथन एके, डेली ब्लाइन्ड, जुरियन टिम्बर, डेनजेल डम्फ्रिज, स्टेफान डी भ्रिज, माथिज्स डे लिग्ट, टायरेल मलासिया, जेरेमी फ्रिमपोङ

मिडफिल्डर : फ्रेन्की डी जोंग, स्टीभन बर्घुइस, डेभी क्लासेन, ट्युन कूपमेनर्स, कोडी गाक्पो, मार्टेन डे रुन, केनेथ टेलर, जाभी सिमोन्स।
फरवार्ड स् मेम्फिस डिपे, स्टिभन बर्गविजन, भिन्सेन्ट जान्सेन, लुउक डे जोङ, नोआ लाङ, वाउट वेघोर्स्ट

प्रशिक्षक : लुइस भ्यान गाल

सेनेगल


अफ्रिका कप नेसन्स कप विजेता सेनेगल उच्च मनोबलका साथ विश्वकपमा स्पर्धा गर्दै छ। अफ्रिकन च्याम्पियन टोलीले नै विश्वकपको यात्रा तय गरेको हुँदा सेनेगललाई बलियो टोलीको रुपमा हेरिएको छ। सेनेगलका शीर्ष खेलाडीसँग युरोपियन्स लिग खेलेको अनुभव छ। 

शल्यक्रिया गरेर टोली बाहिर रहेका बोउना सर र साडियो माने टोली बाहिर हुँदा सेनेगललाई धक्का लागे पनि अन्य टोलीलाई चुनौती दिन आफ्नो टोली  तयार रहेको प्रशिक्षक ओलिउ किसेले बताएका छन्। तर साडियो मानेको अभावका कारण त्यसको असर अग्रपंक्तिमा देखिन सक्नेछ। 

सेनेगलले अहिलेसम्म सन् २००२ र २०१८ गरी २ पटक मात्र विश्वकप खेलेको छ। विश्वकपमा ८ खेल खेल्दा ११ गोल गरेको छ। विश्वकपमा सेनेगलको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको सन् २००२ मा क्वार्टरफाइनलमा पुग्नु हो। त्यसपछिका ३ विश्वकपमा सहभागी नभएको सेनेगलले सन् २०१८ मा पहिलो चरणसम्मको यात्रा तय गरेको थियो। 

सेनेगलसँग चेल्सीका कालिडो कौलिबाली र गोलरक्षक एडवार्ड मुन्डी छन्। बलियो डिफेन्सिभ लाइन भएको सेनेगल यसलाई नै मुख्य हतियारको रुपमा प्रयोग गर्ने दाउमा छ। 

सेनेगलको टोली 
गोलकिपर : एडुआर्ड मेन्डी, अल्फ्रेड गोमिस, सेनी डियाङ

डिफेन्डर : बोउना सर, सालिउ सिस, कालिडो कौलिबाली, पापे अबाउ सिस्से, अब्दु डियालो, इब्राहिमा एम्बे, अब्दुलाये सेक, फोडे बल्लो टोरे, चेखाउ कौयाते

मिडफिल्डर : पापे माटर सर, पापे गुए, नामपालिस मेन्डी, इड्रिसा गाना गुएए, मुस्ताफा नेम, एम। लुम एनडिया, जोसेफ लोपी

फरवार्ड : इस्माइला सर, बाम्बा डिएङ, केइटा बाल्डे, हबिब डायलो, बोउले दिया, फामाराडिडियो, मामे बेबे थियाम 
प्रशिक्षक स् ओलिउ किसे

हेड टु हेड 
नेदरल्याण्ड्स र सेनेगल अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक भिड्न लागेका हुन्। सन् २०२२ मा नेतरल्याण्ड्सले कुनै पनि खेल हारेको छैन।

सन् २०२० को युरोकपको अन्तिम १६ मा चेक रिपब्लिकनसँग हारेयता नेदरल्याण्ड्स लगातार १५ खेलमा अपराजित छ। त्यस्तै सेनेगलले पनि पछिल्ला पाँचमध्ये चार खेलमा जित र एक खेल बराबरी खेलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .