ad ad

खेल


इंग्ल्यान्डविरूद्ध स्कटल्यान्ड: पुराना दुस्मनबीचको १००औँ भीडन्त

इंग्ल्यान्डविरूद्ध स्कटल्यान्ड: पुराना दुस्मनबीचको १००औँ भीडन्त

नेपालखबर
असार ४, २०७८ शुक्रबार ११:१०,

जति-जति इंग्ल्यान्डविरुद्धको खेल नजिकिन्छ त्यति-त्यति चर्को गतिमा स्कटिसहरु ‘द ब्याटल्स अफ नेभिल्स क्रस’लाई सम्झिन्छन्।

सन् १३४६ अक्टोबरको त्यस युद्धमा इंग्ल्यान्डका सेनाले तत्कालीन स्कटिस राजा डेविड द्वितीयलाई बन्दी बनाउँदै लण्डन पुर्याएका थिए। जुन स्कटिसको लज्जास्पद हारका रुपमा इतिहासमा दर्ज छ।

हरेक फुटबल खेलमा स्कटिसहरु त्यो हारको बदला खोज्छन्। मैदानमा इंग्ल्यान्डलाई हराउँदै त्यो पुरानो घाउमा मल्हम लगाउने उनीहरुको सपनाकै कारण विश्व फुटबलमा यी दुई देश चिरप्रतिद्वन्द्वी बन्दै आएका छन्।

जारी युरोकपमा यिनै दुई टोली शुक्रबार राति पुनः आमनेसामने हुँदै छन्। यी पुराना दुस्मनहरुबीचको यो १००औँ भीडन्त समेत हो। खेललाई आफ्नो पक्षमा पार्दै इतिहास रच्ने दाउमा दुवै टोली छन्।

सन् १८७२ मा फुटबल मैदानमा इंग्ल्यान्ड र स्कटल्यान्डबीच पहिलो भेट भएकाे थियो। त्यसयता उनीहरुबीच हरेक खेलमा कडा प्रतिद्वन्द्विता देखिएको छ।

भलै यी दुई देशबीचका भीडन्तमा इंग्ल्यान्ड ४८–४१ ले अघि होस्, क्षेत्रफल र आर्थिक हिसाबले निकै पछि रहे पनि स्कटल्यान्डले आफ्नो पुरानो शत्रु इंग्ल्यान्डमाथि फुटबलको माध्यमबाट सधैँ वजनदार मुक्का प्रहार गर्दै आएकाे छ।

No description available.

दुवैबीच यस्ता अनगिन्ती ऐतिहासिक खेल भएका छन् जसले विश्वमा यिनीहरुको प्रतिद्वन्द्विता दर्शाउँछ।

इंग्ल्यान्डले भर्खरै १९६६ को विश्वकप जितेको थियो। इंग्ल्यान्डको उक्त खुसीलाई अर्को वर्ष लण्डनको प्रसिद्ध वेम्बली स्टेडियममा हराउँदै स्कटल्यान्डले खल्लो बनाइदियो।

सन् १९७७ को होम च्याम्पियनसिपमा पुनः वेम्बलीमै स्कटल्यान्डले इंग्ल्यान्डलाई हराउँदा स्टेडियमबाट हजारौं स्कटिस समर्थकहरु मैदानमा उत्रिँदै खुसी मनाएका थिए।

१९९६ को युरोकपमा इंग्ल्यान्डले स्कटल्यान्डलाई २–० ले हराउँदै त्यसको बदला पनि लियो।

विश्वकप जितेपछि इंग्ल्यान्डले ३० वर्षपछि आयोजना गरेको त्यो नै ठूलो प्रतियोगिता थियो। यही खेलमा दोस्रो गोल गरेपछि इंग्ल्यान्डका पल गैस्कोइग्नेले गरेको सेलिब्रेसन ‘डेन्टिस्ट चेयर’का नामले फुटबलमा प्रसिद्ध छ।

England vs Scotland will rekindle their auld rivalry at Euro 2020, 25 years  after a Euro 96 classic - ABC News

उक्त खेलपछि इंग्ल्यान्ड र स्कटल्यान्ड युरोकपमा पहिलोपल्ट शुक्रबार राति १००औं खेलमा भिड्नलागेका हुन्।

सन् २०१८ को विश्वकप सेमिफाइनलमा हारको बदला लिँदै जारी युरोकपमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै सुखद यात्रा सुरु गरेको थियो।

स्कटल्यान्डले भने पहिलो खेलमै चेक रिपब्लिकसँग २–० हारको अप्रत्याशित नतिजा निकाल्यो।

वेम्बली स्टेडियममा यी दुई टोली ३२ पटक खेलेका छन्। ती खेलमा स्कोर निस्किएकै छ। हालसम्म कुनै पनि खेल गोलरहित बराबरीमा सकिएको छैन।

सन् २००० यता भएका खेलमा भने औसतमा यी दुईबीचको खेलमा चार गोल भएकाे छ।

स्कटल्यान्डविरुद्धको खेलमा जित्दै ग्यारेथ साउथगेटको टोली अन्तिम १६ मा स्थान पक्का गर्न चाहन्छ।

यता स्टिभ क्लार्कको टोली स्कटल्यान्डलाई पनि जित नै चाहिएको छ। इंग्ल्यान्डसँग पराजित भयो र यही समूहको क्रोएसियालाई पनि चेक रिपब्लिकले हरायो भने स्कटल्यान्डले समूहको शीर्ष दुईमा रहँदै अन्तिम १६ मा स्थान बनाउने मौका गुमाउनेछ।

यद्यपि समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीले पनि अन्तिम १६ मा स्थान बनाउने भएकाले त्यो मौका भने ऊसँग हुनेछ।

पछिल्लो इतिहासले पनि स्कटल्यान्डलाई साथ दिएको छैन। पछिल्ला ११ खेलमा उनीले इंग्ल्यान्डलाई १ खेलमा मात्रै हराउनसकेका छन्। जुन खेल १९९९ नोभेम्बरमा वेम्बली स्टेडियममै थियो।

Harry Maguire: England manager Gareth Southgate says defender is a doubt  for the first game of Euro 2020 | Football news - Insider Voice

यता इंग्ल्यान्डका रक्षक ह्यारी मागुइरे चोटमुक्त भएसँगै उसले ठूलो राहत महसुस गरेको छ। प्रशिक्षक साउथगेटले मागुइरेलाई स्कटल्यान्डविरुद्ध मैदानमा उतार्ने बताइसकेका छन्। उसका रहिम स्ट्रर्लिङ पनि उच्च लयमा देखिएका छन्। उनले इंग्ल्यान्डका लागि क्रोएसियाविरुद्धको खेलसहित १७ खेलमा १९ गोल गरिसकेका छन्।

२०२१ मा इंग्ल्यान्डले खेलेका सबै ६ खेलमा जित हात पारेको छ। तर हालसम्म वर्षको सुरुवातबाट इंग्ल्यान्डले लगातार ७ खेल जित्नसकेको छैन। स्कटल्यान्डविरुद्ध शुक्रबार राति उसलाई त्यो इतिहास रच्ने मौका समेत हुनेछ। 

यो पनि: इंग्ल्यान्डविरूद्ध स्कटल्यान्ड: पुराना दुस्मनबीचको १००औँ भीडन्त

यो पनि: हंगेरीविरुद्धको खेलमा रोनाल्डोले तोडेका ६ रेकर्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .