नेपाली फुटबल जगतमा कुनै समयका चर्चित राष्ट्रिय खेलाडी हुन् सुरेन्द्र तामाङ। नेपालमा हुने ठूला फुटबल प्रतियोगितामा उनको खेलकलाले सबैलाई आकर्षित गर्थ्यो।
तर, अहिले तिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका फुटबलर अहिले गुमनाम जस्तै भएका छन्।
लामो समयसम्म फुटबलमा बिताएका तामाङको खेल जीवनमा एउटा दुर्घटनाले पूर्णविराम लगाइदियो।
फुटबल खेल्न सिकिक्म जाने क्रममा आठ वर्षअघि सडक दुर्घटनामा घाइते भएपछि तामाङको खेलजीवन सुस्ताएको हो।
वि.सं. २०५७ सालमा थ्री स्टार क्लबसँग आवद्ध भएपछि सुरेन्द्रको फुटबल यात्राले व्यावसायिक मोड लिएको थियो।
सुरेन्द्रले १० वर्ष थ्री स्टारबाट खेल्दा सहिद स्मारक ए डिभिजन लिग जिताएका थिए। तर फुलबलका अन्तर्राष्ट्रिय खेलाडी तामाङ अहिले चिन्तित छन्।
सुनसरीका फुटबल प्रशिक्षक रहेक उनी खेल क्षेत्रमा लागेका खेलाडीको भविष्य सुनिश्चित नभएकोमा चिन्ता गर्छन्।
‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद' यो नेपाली खेलकुदको मूल नारा हो। तर, यो सबै नारामा मात्रै सीमित छन्। व्यवहारमा लागू भएको पाइँदैन,’ उनले गुनासो गरे।
राज्यले खेलाडीको भविष्यबारे नसोचेका कारण अहिले पनि अधिकांश धेरैको भविष्य अन्धकार रहेको उनले बताएका छन्।
‘सधैँ पदकको आशा गर्ने खेल पदाधिकारी खेल क्षेत्रको विकास र खेलकर्मीको सुनिश्चित भविष्यबारे गम्भीर भएको देखिँदैन’, उनले सुनाए।
झापाको दमकका पूर्वराष्ट्रिय भलिबल खेलाडी भीष्मराज उप्रेतीको कथा सुरेन्द्रकोभन्दा अझ दुख:दायी छ।
उनी त खेल जगतबाट परिवार चलाउन असम्भव भएपछि विदेशसमेत पलायन हुन बाध्य भए।
उनले महेन्द्र पुलिस क्लवबाट लामो समय भलिबल खेले। उप्रेतीले भलिबल खेल्दा तीनवटा साफ गेममा सहभागिता जनाए।
२०५३ सालमा भलिबलतर्फ उनी नेपालकै उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए। तर लामो समय भलिबल खेल्दा पनि उनले भविष्य नदेखेपछि वैदेशिक रोजगारीमा खाडी मुलुक गए।
तर, भलिबलबाट भविष्य सुरक्षित नबन्ने ठहरसहित उनी वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए। १० वर्ष दुबई बसेपछि फर्किएका उनी अहिले झापामा भोलेन्टियर प्रशिक्षकका रूपमा सक्रिय छन्।
‘राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्वसाथ राष्ट्रिय झण्डा उचाल्ने हामी कहिले सरकारको नजरमा पर्न सकेनौँ,’ उप्रेतीको दुखेसो छ, 'खेल जीवनभर आर्थिक अभावले पिरोलिरहनुपर्ने अवस्था छ।’
सधैँ खेलाडीबाट पदकको आशा गर्ने राज्यले आफूहरुबारे कहिले नसोचेको उनको गुनासो छ।
खेल जीवनका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको आधारमा राज्यले सुविधा दिनुपर्ने उप्रेती बताउँछन्।
'खेल खेलेर अहिले पनि बाँच्न गाह्रो छ', उप्रेती थप्छन्, 'खेलाडी विदेशिने क्रम रोक्ने हो भने खेलेर पनि जीवन निर्वाह गर्न सकिने अवस्था राज्यले बनाउनुपर्छ।'
सुरेन्द्र र भीष्मराज जस्ता कयौँ खेलाडी अहिले पनि आर्थिक संकटमा जेलिएका छन्। उनीहरू जस्तै थुप्रै खेलाडी र प्रशिक्षकले ‘खेलेर जीवन धान्न’ नसकेपछि विदेश पलायन भएको मोरङ जिल्लाकी कराँते प्रशिक्षक कुन्ती गुरुङ बताउँछिन्।
कराते प्रशिक्षकका रुपमा कार्यरत कुन्ति पनि राज्यले प्रशिक्षकका लागि उपलब्ध गराएको तलव सुविधाबाट अहिले पनि बाँच्न कठिन हुने उनी बताउँछिन्।
‘राज्यले खेलाडीलाई स्वदेशमै खेलेर बाँच्न सक्ने वातावरण बनाएको छैन,’ उनले भनिन्, 'अब पनि राज्यबाट खेलाडीको भविष्यबारे नसोचे खेल जगतका प्रशिक्षक र खेलाडीमा निरासा चुलिन्छ। धेरै प्रशिक्षक र खेलाडी पलायन हुने अवस्था आउन सक्छ।'
राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल राज्यले खेलाडीलाई निर्धक्कसाथ खेल्ने सक्ने अवस्था अहिले पनि बनिनसेको बताउँछन्।
खेल जगतलाई माथि उठाउन खेलाडीको व्यवसायिकतासँगै उनीहरूको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने उनको माग छ।
राष्ट्रिय खेलकुद परिषद्ले सानो बजेटबाट खेलाडीको जीवनयापनका लागि केही गर्न सक्ने अवस्था नरहेको दाहालले बताए।
उनले खेलाडीको जितमा आफ्नो भूमिका खोज्ने सरकारले खेलाडीहरुलाई यो क्षेत्रमै टिकाइराख्न पनि गम्भीर बन्नु पर्ने बताए।
प्रतिक्रिया