ad ad

खेल


दशकपछि कञ्चनपुरमा राष्ट्रियस्तरको प्रतियोगिता हुँदै

दशकपछि कञ्चनपुरमा राष्ट्रियस्तरको प्रतियोगिता हुँदै

नेपालखबर
असार २, २०७६ सोमबार १२:९,

यही असार ४ गतेदेखि महेन्द्रनगरमा सञ्चालन हुन गइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारी लगभग सकिएको छ। झण्डै ८ वर्षपछि कञ्चनपुरमा हुन लागेको राष्ट्रियस्तरको प्रतियोगिता प्रधानमन्त्री कप महिला क्रिकेटको तयारी अन्तिम चरणमा पुगेको हो।

यही असार ४ गतेदेखि हुन लागेको चौथो संस्करणको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको अधिकांश तयारी पुरा भएको महाकाली स्पोर्ट सोसाइटीका अध्यक्ष सुमन भट्टले बताए। खेल महेन्द्रनगरको स्थानीय खुलामञ्च र कबर्ड हल मैदानमा हुने छन्। प्रतियोगिताका लागि मैदान सम्याउनेदेखि अन्य तयारी पुरा भएको अध्यक्ष भट्टले बताए।

राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा आयोजना हुने प्रतियोगिता सञ्चालनको सबै जिम्मा स्थानीय महाकाली स्पोर्ट सोसाइटी हो। २०६८ सालको छैटौं राष्ट्रिय खेलकुद पछिको पहिलो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेकोले कञ्चनपुरका खेलाडी र खेलप्रेमी निकै खुसी छन्। स्थानीयकै अग्रसरतामा एक महिनादेखि खेल मैदान व्यवस्थित पार्ने काम भएको अध्यक्ष भट्टले बताए।

क्रिकेट खेलाडी उत्पादनको महत्वपूर्ण थलो मानिने कञ्चनपुरबाट थुप्रै खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सहभागि छन्। तर, यहाँ राष्ट्रियस्तरका प्रतियोगिता खासै हुन्नन्। त्यसैले पनि यसपालीको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता भव्य बनाउन कञ्चनपुरका खेलप्रेमी आतुर देखिन्छन्। असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ।

प्रतियोगिताको बिजेता टोलीले ५ लाख, उपबिजेता टोलीले ३ लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको ‘वोमन अफ द सिरिज’ले ३० हजार, ‘वेस्ट ब्याट्सवोमन’ र बलरले समान १५ हजार र ‘वोमन अफ द म्याच’ले २५ सय नगद रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउने भएका छन्।

प्रतियोगिताको प्रमुख प्रायोजकमा अष्ट्रेलियाको मिराई एजुकेसन एण्ड भिजा सर्भेज र सपोटेर्डका रूपमा एनसेल प्राइभेट लिमिटेड रहेको आयोजकले जनाएको छ। प्रतियोगिता आयोजना गर्न झण्डै ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगितामा सहभागी ८ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ रहेका छन्। समूह ‘बि’मा प्रदेश १, २, प्रदेश ३, र कर्णाली प्रदेश रहेका छन्। प्रतियोगिताको पहिलो उद्घाटन खेल सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशकाबीच हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .