कोपा अमेरिकामा कोलम्बियाले अर्जेन्टिनालाई २-० ले स्तब्ध पारेको छ।
आइतबार बिहान भएको खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभेन जापाटाले गोल गरे। हारसँगै लियोनल मेस्सीको देशका लागि पहिलो मुख्य उपाधि जित्ने धोकोमा समेत धक्का पुगेको छ।
पहिलो हाफ गोलरहित भएपनि मार्टिनेजले दोस्रो हाफको ७२औं मिनेटमा कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए। जापाटाले खेल सकिन ३ मिनेट बाँकी रहँदा दोस्रो गोल गर्दै कोलम्बियाको जित निश्चित गरे।
अर्जेन्टिनाबाट पाँचपटकका बालोन डि ओर विजेता मेस्सीसँगै सर्जी अगुरो, इन्जिल डि मारिया पनि मैदान उत्रिएपनि टोलीलाई योगदान दिन सकेनन्। यता कोलम्बियाका स्टारहरु जेम्स रोड्रिगेज, राडामेल फाल्को र जोन काउड्रडोले पनि आफ्नो प्रभाव देखाउँन सकेनन्।
तर, परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका मार्टिनेज र जापाटाले गोल गर्दै कोलम्बियालाई विजयी सुरुवात दिलाए।
प्रतिक्रिया