सर्जियो रामोसको खेल करिअर र उनको सफलतालाई सम्झिन टाढा हेर्नै पर्दैन। उनको बायोडाटा उनकै शरीरमा गर्वसाथ खोपिएका छन्। उनको शरीरमा एकदमै कममात्रै ठाउँ बाकी छ जहाँ थप सफलताको कथा कोर्न सकियोस्!
उनको बायाँ हातमा ३५, १९ र ९०+ नम्बर खोपिएको छ। सेभियाबाट व्यावसायिक खेल सुरु गर्दा रामाेसको पहिलो जर्सी नम्बर थियो- ३५। १९औँ मिनेटमा उनले स्पेनका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
र, अतिरिक्त समय (९०+) रियलका लागि च्याम्पियन्स लिगको फाइनलमा उनले गरेको गोल कुन मड्रिडको समर्थकले बिर्सिएको होला र?
१४ मे २०१४ को दिन।
च्याम्पियन्स लिगको फाइनलमा रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडको सामना गर्दै थियो। डियागो गोडिनले ३६औँ मिनेटमा एट्लेटिकोलाई अग्रता दिलाइहाले। त्यसपछि निर्धारित ९० मिनेटमा पनि रियल १–० गाेलले नै पछि थियो।
जसै खेल इन्जुरी समयमा धकेलियो, ९२ मिनेट ४८औँ सेकेन्डमा रामोसले हेडरमार्फत गोल फर्काउँदै खेलमा रोमाञ्च थपिदिए। जुन रियलमा रामोसको आइकोनिक प्रदर्शन मानिन्छ। त्यसपछिको अतिरिक्त समयमा शानदार प्रदर्शनसँगै थप तीन गोल गर्दै रियलले दशौँ पटक च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल रह्यो।
सोही हातमा रामोसले आफ्ना चार छोराहरुको जन्ममिति, आमाबुबाको नाम खोपाएका छन्।
यता दायाँ हातमा रियल मड्रिडसँग अनुबन्धित भएको दिन (३१ अगष्ट २००५) र पाखुरामा स्पेनबाट विश्वकप जितेको ट्रफी खोपिएको छ। स्पेनका कप्तान समेत रहेका यी राइट ब्याकले २०१० मा विश्वकप जितेका थिए।
उनी रियल मड्रिडमा हुर्किए र रियल मड्रिड पनि उनीसँगै हुर्कियो। १६ वर्षसम्म मानिसका निजी जीवनमा कति परिवर्तन हुन्छ। तर रामोस मड्रिडमै टिकिरहे। जति धेरै हामीले रियलको फाउन्डेसनका रुपमा रामोसलाई बुझ्छौँ, त्यति धेरै उनी क्लबको अर्थ बुझ्थे।
तर अब उनी क्लबबाट विदा हुने निश्चित भइसक्यो। बिहीबार क्लबले त्यसको औपचारिक घोषणा गर्दै छ।
जब कुनै चक्र आफ्नो निष्कर्षमा पुग्छ त्यसबेला सुरुबाट सुरुवात गर्ने मानवीय स्वभाव हुन्छ। २००५ अगष्टको त्यस दिन रामोस भिन्नै थिए। अलग्गै, चुपचाप। १९ वर्षे उमेरमा उनले त्यस दिन रियलको सेतो जर्सी पहिरिए। त्यस दिनको मड्रिडको टोलीमा राउल, रोबर्टो कार्लोस, जिदाने, रोनाल्डो, बेकहम जस्ता खेलाडी थिए। तर पनि ती महान् खेलाडीहरुका अघि रामोस विचलित देखिएनन्।
स्टार खेलाडीहरुले भरिएको बेर्नाबेउ (रियलको मैदान)को उज्यालोमा थुप्रै प्रतिभावान खेलाडीहरु छायाँमा परेका छन्। तर रामोस जहिले पनि फल्दै–फुल्दै गए। उनलाई रोबर्टो कार्लोस र जिदानको छेउमै बस्ने र एक टोलीका रुपमा उनीहरुको बराबरीमा गनिने विश्वास थियो।
रामोसका लागि कुनै चुनौती ठूला थिएनन्, कुनै बाधाले उनी रोकिएनन्। असीमित जितको भोककै कारण उनले लाखौँ समर्थक कमाएका थिए। उनीमा व्यक्तिगत उपलब्धिका लागि होइन। रियल मड्रिडका लागि जित्ने भोक थियो।
क्लबले उनको विदाइमा लेखेको छ, ‘सर्जियो रामोस क्लबका तानाबानाका हिस्सा हुन्। उनको इतिहास मड्रिडको इतिहास हो। उनले रियल मड्रिडको लोककथामा आफ्नो नाम लेखाएका छन्।’
सेभियाबाट २००५ मा रामोस मड्रिड आएका थिए। त्यसयता उनले क्लबका लागि ६७० खेल खेले। १०१ गोल गरेका उनका नाममा पाँच ला–लिगा र चार च्याम्पियन्स लिगको उपाधि जिते। त्यतिमात्रै होइन उनका नाममा दुई कोपा डेल रे, तीन यूईएफए, चार क्लब विश्वकप र त्यति नै सुपर कोपा इस्पनाको उपाधि पनि छन्।
गत सिजन भने उनले २१ खेलमात्रै खेल्न पाए। अधिकांश समय चोटका कारण मैदान बाहिर रहे पनि मड्रिडलाई ला–लिगाको उपविजेता बनाउन र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउन उनको भूमिका नेतृत्वदायी रह्यो।
रामोसले आफ्नो १६ वर्षे मड्रिडको करिअरमा १२ विभिन्न प्रशिक्षकसँग खेले। भर्खरैमात्रै जिनेदिन जिदानले राजीनामा दिएपछि रियलले कार्लो एन्सीलोटीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। नयाँ प्रशिक्षकले उनलाई क्लबमै रहोस् भन्ने चाहेका थिए तर क्बलले रामाेसले चाहेजस्तो दुई वर्षका लागि सम्झौता गर्न मानेन। जुन अहिले रामाेस र मड्रिडबीचको सम्बन्धविच्छेदको कारण बनेको छ।
तर यस हिसाबले उनको विदाइ हुनु हुँदैनथ्यो। महामारी कारण स्टेडियम खाली छ। सोही कारण हजारौँ दर्शकहरुलाई हात हल्लाउँदै उनी बेर्नाबेउबाट विदाइ हुन पाउनेछैनन्। बेर्नाबेउको चमकदार उज्यालो र दर्शकहरुको चिच्चाहटबीच ठूल्ठूला उपलब्धिको हिस्सा बनेका रामाेसको विदाइ हुनुपर्थ्याे।
तर पनि उनी यस बेला विदा हुँदै छन्। उनले हामीलाई दिएका सयौं क्षणहरु छन् जो अनन्तकालसम्म हाम्रो मस्तिष्कमा ताजै रहिरहनेछन।
प्रतिक्रिया