खेल


भलिबल संघलाई जुनुको प्रश्नः बाबुआमाले नै नचिन्दा छोराछोरीलाई कस्तो लाग्ला?


लक्ष्मी जि.सी
काठमाडौं, जेठ २६

तनहुँबाट विद्यालयस्तरीय प्रतियोगितामा सहभागी भएर सुरु भएको उनको खेल जीवनले त्यसपछि क्षेत्रीय, गण्डकी अञ्चल, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरसम्मको यात्रा तय गर्यो।

नेपाली भलिबलले झण्डै ५ वर्षयता केही महत्वपूर्ण सफलता हासिल गरेको छ। 

२०७३ चैतमा नेपाली पुरुष टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय पदक जितेको थियो। टोलीमा माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोनमा कांस्य पदक जितेर फर्केको थियो।

४ दशक लामो अन्तर्राष्ट्रिय सहभागितामा पुरुष टोलीले जितेको त्यो पहिलो पटक थियो। त्यसको २ महिनापछि २०७४ जेठ ८ गते सरकारले भलिबलाई राष्ट्रिय खेलको मान्यता प्राप्त गर्यो।

पुरुष टोलीले सफलताका लागि वर्षौ प्रतीक्षा गर्नुपरेपनि नेपाली महिला भलिबल टोलीले भने सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक कांस्य पदक जितेको थियो।

volleyball old team2021

त्यसपछि पनि टोलीले त्यसलाई निरन्तरता दिने क्रममा दशौँ साग (२००६) र १२औँ साग (२०१६) मा पनि त्यसलाई निरन्तरता दिएको थियो।

त्यो पृष्ठभूमिलाई अझै उचाइ दिने क्रममा महिला टोलीले २०७६ मा भने दुई ऐतिहासिक सफलता दिलाएको थियो।

२०७६ को कात्तिक र मंसिरमा महिला टोलीले दुई सफलता हासिल गर्यो। कात्तिकमा बंगलादेशमा एभीसी सेन्ट्रल जोनमा च्याम्पियन बनेर फर्केको टोलीले मंसिरमा स्वदेशमा आयोजना भएको १३औँ सागमा रजत पदक जितेको थियो।

सन् १९८४ बाट सुरु भएको सागमा महिला टोलीले रजत जितेको त्यो पहिलो पटक थियो। अब महिला टोली केही महिनापछि एसियन च्याम्पियनसिप खेल्ने तयारीमा छ।

एकपछि अर्को सफलताको खुड्किलो चढ्ने क्रममा रहेको महिला भलिबलको पहिलो पुस्ता भने अहिले ओझेलमा छन्।

पहिलो पुस्ताका केही खेलाडी अहिले पनि कुनै न कुनै रुपमा भलिबलमा सक्रिय रहे पनि धेरै खेलाडीका बारेमा भने नेपाल भलिबल संघ पनि अनभिज्ञ छ।

पुरुष टोलीका पूर्वकप्तानहरु संघले यदाकदा सम्झेको देखिए पनि महिला टोलीका कप्तान वा खेलाडीलाई सम्झेको देखिन्न।

त्यही पहिलो पुस्ताको खेलाडीमध्ये एक हुन् जुनु ताम्राकार

भलिबल संघले पहिलो पुस्ताका खेलाडी र तिनको योगदानलाई भुलेकोमा दुःख लाग्ने ताम्राकार बताउँछिन्।

‘संघबाट पुराना खेलाडीको कदर भएजस्तो लाग्दैन, बेखबरजस्तै छ। पुराना खेलाडी नै चिन्दैन’, उनको गुनासो छ, ‘आफ्ना सबै खेलाडीबारे जानकारी हुनुपर्ने हो। कम्तीमा सबै खेलाडीको विवरण भए पनि राख्नुपर्ने हो। हाम्रो अभिभावक भनेको संघ नै हो।’

संघले आफ्ना खेलाडी नचिन्नु भनेको आमाबुबाले आफ्ना छोराछोरी नचिन्नुजस्तै भएको उनी बताउँछिन्।

‘आफ्ना बाबुआमाले नै नचिन्दा छोराछोरीलाई कस्तो महसुस होला?’ जुनुको प्रश्न छ।

junu volleyball2021z

को हुन् जुनु ताम्राकार?
ताम्राकार महिला भलिबल टोलीकाे पहिलो पुस्ताकी खेलाडी हुन्।

उनी नेपाली टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा एक सदस्य थिइन्।

तनहुँबाट विद्यालयस्तरीय प्रतियोगितामा सहभागी भएर सुरु भएको उनको खेल जीवनले त्यसपछि क्षेत्रीय, गण्डकी अञ्चल, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरसम्मको यात्रा तय गर्यो।

जुनुले तनहुँको खैरहनी माविबाट कक्षा ७ मा पढ्दा वीरेन्द्र शिल्ड प्रतियोगिता खेलेकी थिइन्।

हुन त उनको खेल जीवनको सुरुवात एथलेटिक्सबाट भएको थियो। तर पछि भलिबलमा लागिन्।

त्यहाँबाट सुरु भएको उनको भलिबल यात्राले राष्ट्रिय, अन्तर्राष्ट्रिय हुँदै अघि बढेर भलिबल प्रशिक्षकका रुपमा बिट मारेको थियो।

volleyball old team2021a

राष्ट्रिय टोलीदेखि प्रशिक्षकसम्म
खेलमा आबद्ध हुने हरेक खेलाडीले देशको प्रतिनिधित्व गर्ने सपना देखेको हुन्छ। ताम्राकारले नदेख्ने कुरै भएन। उनले त सपनामात्र देखिनन्, साकार पनि पारिन्।

‘सुरुमा म एथलेटिक्स खेलाडी थिएँ, त्यो बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतिभाको खोजी कार्यक्रम सुरु गरेको थियो। म त्यसमा छनोट भएँ’, उनी भन्छिन्।

तनहुँबाट क्षेत्रीय प्रतियोगिता खेल्दै राष्ट्रियस्तरसम्म पुगेकी उनले बैतडीमा सातौँ (२०४४) र स्याङ्जामा भएको आठौँ (२०४५) राष्ट्रिय महिला भलिबल प्रतियोगिता खेलेकी थिइन्।

त्यस्तै वि.सं. २०४३ सालमा क्षेत्रीय प्रतियोगिता खेलेकी थिइन्। ताम्राकारसँग ४ वटा क्षेत्रीय प्रतियोगिता खेलेको अनुभव छ।

एकपटक सन् १९८७ मा उनले देशको प्रतिनिधित्व गर्ने अवसर पाएकी थिइन्।

हेमा प्रधानको कप्तानीमा पहिलो पटक नेपाली टोलीले सन् १९८७ मा थाइल्याण्डको बैंकक पुगेर अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

नेपाली टोलीलाई सुरुमा चीन पठाउने भन्दै बन्द प्रशिक्षणमा राखिएको थियो। तर भलिबल संघले पत्र पठाउन ढिला भएपछि महिला टोलीले चीन जाने अवसर पाएनन्।

खेलाडीको मनोबल नघटोस् भन्नका लागि संघले टोलीलाई थाइल्याण्डको बैंककमा मैत्रीपूर्ण खेल खेल्न पठाएको ताम्राकारको सम्झना छ।

उनले भनिन्, ‘त्यो बेलामा खास के भएको हामीलाई थाहा हुने कुरा भएन। संघले चिठी पठाउन ढिला भएपछि बैंकक पठाएको भन्ने सुनेको थिएँ।’

प्रधानको कप्तानीमा ताम्राकारसहित टोलीमा सलिना श्रेष्ठ, निलम बज्राचार्य, शान्ति खड्का, आङ्दाम्जी शेर्पा, निर्मला गुरुङ, दिव्या गुरुङ, सुष्मा थापा, लता श्रेष्ठ, विमला जोशी, कौशिला खत्री, कमला थापा र इन्दिरा मल्ल थिए।

खेल जीवनपछि ताम्राकार २०४६ सालमा राखेपको कर्मचारी नियुक्त भइन्।

प्रशासन विभागमा जागिरे जीवन सुरु गरेकी उनलाई तत्कालीन सदस्यसचिव केशव स्थापितको पालामा सहायक प्रशिक्षकमा नियुक्ति दिइयो।

‘म प्रशासनमा हुँदा प्रशिक्षकमा पनि खुल्यो। नाम निकालेर २०४८ पछि सहायक प्रशिक्षकको रुपमा काम गर्न थालेँ’, उनी भन्छिन्।

त्यो बेलामा उनीसहित ४ जना मात्र महिला प्रशिक्षक थिए।

‘शान्ति गुरुङ मुख्य प्रशिक्षक, सलिना श्रेष्ठ प्रशिक्षक तथा कौशिला खत्री र म सहायक प्रशिक्षक थियौँ’, उनले थपिन्, ‘त्योअघि तेजु गुरुङ, मञ्जु गुरुङ प्रशिक्षक हुनुहुन्थ्यो। सलिना र कौशिला अहिले पनि प्रशिक्षकका रुपमा राखेपमा कार्यरत छन्।’

सहायक प्रशिक्षकमा नियुक्ति पाएपछि उनको सिन्धुपाल्चोक दरबन्दी तोकियो।

राखेपमा काजमै बसिन्। २०५८ संकटकालमा विदा नपाएपछि भने उनले राखेपको सहायक प्रशिक्षक पदबाट राजीनामा गरिन्।

त्यसको १ वर्षपछिबाट शुभतारा स्कुल सातदोबाटोमा भलिबल प्रशिक्षकको रुपमा कार्यरत रहेको उनको भनाइ छ।

junu tamrakar volleyball1

भलिबलले जुराएको जोडी
भलिबल खेलाडी दीपक ताम्राकारलाई जीवनसाथी पाउँदा जुनु ताम्राकार आफूलाई भाग्यमानी ठान्छिन्। दीपक पनि त्यति बेलाका भलिबल खेलाडी हुन्।

त्यसो त उनका श्रीमान मात्र होइन, जेठाजु केदार ताम्राकार पनि भलिबल खेलाडी हुन्।

जुनुका श्रीमान भन्छन्, ‘म वाग्मतीबाट र जुनु गण्डकीबाट खेल्ने। त्यो बेलामा जुनु काठमाडौंमा खेल्न आएकी थिइन्। सुरुमा जावलाखेलबाट खेल्थेँ। त्यहाँ हाम्रो देखादेख भएको हो। पछि एकअर्कालाई मन परायौँ अनि विवाहमा गर्यौंँ।’

पहिलो पटक कहिले भेट भयो भन्ने दुवैलाई राम्रो याद छैन।

जावलाखेलबाट सेटरको रुपमा खेलिरहेका दीपकलाई पुलिस क्लबले बोलायो।

२०४८ सालबाट ८ वर्ष उनले पुलिसबाटै खेले। त्यति बेला राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत शाह, राजेश कर्माचार्य, मधुकर थापा, हसंराज वाग्ले टोलीमा थिए।

दीपकले पनि जिल्ला र क्षेत्रीयस्तरबाट खेलेका थिए।

धनकुटामा २०५१, सोलुखुम्बुमा २०५३ र सुर्खेतमा २०५५ मा भएको राष्ट्रिय प्रतियोगिता खेले। गर्वसाथ उनी भन्छन्, ‘पुलिसबाट ८ वर्ष खेल्दा ७ पटक च्याम्पियन भएका थियौँ।’

खेलजीवनकै दौडानमा दीपकले पनि देशका लागि खेलेका थिए।

junu volleyball2021x
जर्सी नम्बर ८ मा जुनु ।

१९९५ मा भारतको मद्रासमा भएको पाँचौँ सागमा उनी टोलीका सदस्य थिए। त्यसपछि भने कहिलेकाहीँ मात्र उनले भलिबल खेले।

पुलिस क्लब छाडेपछि उनी विदेश हानिए। यसका बाबजुद उनी अहिले पनि भलिबलबाट टाढा छैनन्।

आफूले खेलेको जावलाखेल भलिबल क्लबको बोर्ड सदस्यका रुपमा रहेको उनी बताउँछन्।

भलिबल चट्टकै छाड्न नसकिने उनको भनाइ छ।

पछिल्लो समय भलिबलमा महिला टोलीले राम्रो गरिरहेको बताउँछन् दीपक।

‘पुरुष टोली पनि राम्रै छ। महिला टोलीले भने अझै राम्रो गर्न सक्छ। गर्ने ठाँउ धेरै छन्’, उनले भने।

जेठ २६, २०७८, बुधबार


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors