अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा चाइनिज ताइपेविरुद्ध २-० को सानदार जित हात पारेको छ।
फिफा वरियतामा नेपालभन्दा ३० स्थानमाथि रहेको ताइपेलेलाई छनोटमा नेपालले दोस्रो पटक स्तब्ध पारेको हो। यसअघि नेपालले पहिलो लेगमा ताइपेलाई २-० गोल अन्तरले नै उसैको घरेलु मैदानमा हराएको थियो।
खेलको चौथो मिनेटमा नै फरवर्ड अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए। ताइपेका खेलाडीले पेनाल्टीबक्स भित्र ह्यान्ड गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई अन्जनले गोलमा परिणत गरे।
यो सँगै अन्जनले विश्वकप छनोटमा तेस्रो गोल गर्न सफल भएका छन्। ताइपेविरुद्धको पहिलो खेलमा पनि अन्जनले नै दुई गोल गरेका थिए।
८१ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो। नेपालका लागि नवयुग श्रेष्ठले सुमन अर्यालको पासमा गोल गरेका थिए।
अब नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ। एसियाको पावर हाउसका रुपमा रहेको अष्ट्रेलिया फिफा वरीयताको ४१औँ स्थानमा छ भने जोर्डन ९५औँ स्थानमा छ।
जितसँगै नेपालले अंकतालिकामा ६ अंक जोडेको छ। शीर्षस्थानको अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ। नेपालभन्दा पछि रहेको चाइनिज ताइपेई अंकविहीन छ।
विश्वकप छनोटमा कुवेतसँग पहिलो खेलमा ७–० को हार व्यहोरेको नेपालले दोस्रो खेल पनि १–० ले गुमाएको थियो। अन्य खेलमा नेपाल अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो।
यता समुह चरणमा चाइनिज ताइपेले कुनै जित निकाल्न सकेको छैन। जोर्डनसँगको पहिलो खेल २–१ गुमाएको चाइनिज ताइपेले दोस्रो भेटमा ५–० को फराकिलो हार भोगेको थियो। यस्तै अष्ट्रेलियासँग ७–१, कुवेतसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो।
प्रतिक्रिया