ad ad

खेल


नेपाल सुपर लिगमा एफसी चितवनको दुर्भाग्य

नेपाल सुपर लिगमा एफसी चितवनको दुर्भाग्य

लक्ष्मी जि.सी
बैशाख २९, २०७८ बुधबार ८:१३,

नेपालकै पहिलो सुपर लिग फुटबल अहिले अन्तिम चरणमा आइपुगेको छ।

४ टोली प्ले–अफमा पुग्दा ३ टोली पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र एफसी चितवन पहिलो चरणबाटै बाहिरिए।

बाहिरिने टोलीको अंक तुलनात्मक रुपमा सन्तोषजनक नै थियो। तर, सबैभन्दा अनपेक्षित प्रदर्शन भने पहिलो संस्करणमा एफसी चितवनकै रह्यो। कारण जेसुकै भए पनि टोली एउटा पनि जित दर्ता गर्न नसक्दा निराश हुनु स्वाभाविक थियो।

काठमाडौं रेजर्सले सर्वाधिक ४ खेलमा जित निकालेर शीर्ष स्थानमा रहेर प्ले–अफमा स्थान बनाउँदा चितवनले भने एउटा पनि जित निकाल्न सकेन।

fc chitwan2021 story8

एक खेल पनि नजित्ने चितवन एक्लो टोली रह्यो। ६ खेलमा ४ खेलमा पराजित भएको चितवनको २ खेलमा बराबरी नतिजा निस्केको थियो। बुटवल टोलीले लुम्बिनी एफसीसँग २–२ र ललितपुर सिटी एफसी १–१ को बराबरी खेलेको थियो।

चोटको समस्या
चितवनको दुर्भाग्य भने तयारीका क्रमबाट सुरु भइसकेको थियो। अक्सनबाट लिइएका युवा खेलाडी त्रिभुवन आर्मी क्लबका विकास तामाङले चोटका कारण नाम फिर्ता लिए।

उनको ठाउँमा आर्मीकै जितेन्द्र कार्कीलाई लिइयो। त्यसपछि पहिलो खेलमा आर्मीकै अर्का खेलाडी विकास खवास घाइते भए।

उनको सट्टा फरवार्ड जर्ज प्रिन्स कार्कीलाई राखियो। पहिलो खेलमै प्रभाव जमाएका जर्ज प्रिन्स त्यसपछिका खेलमा गोल गर्न असफल भए।

त्योभन्दा पनि बढी अपेक्षा गरिएका मार्की खेलाडी समेत रहेका आर्मीकै भरत खवासको चोट चितवनका लागि महंगो साबित भयो।

चोटकै कारण उनले स्वाभाविक प्रदर्शन गर्न सकेनन्, जसको प्रत्यक्ष असर टोलीमा पर्यो। सबैभन्दा अनुभवी र आशा गरिएका खेलाडीबाटै स्वाभाविक प्रदर्शन नभएपछि पहिलो खेलबाट टोलीको प्रदर्शनमा असर देखिएको थियो।

fc chitwan2021 story1

भरतले ६ खेलमध्ये ३ खेल मात्र खेले। त्यो पनि पूरा समय खेल्न सकेनन्। ललितपुरविरुद्ध सुरुवाती रोजाइमा खेल्दै ८७औँ मिनेटमा मैदानमा बिताए।

तर उनको प्रभाव कमै देखियो। सोही खेलमा चोट बोकेका उनले बुटवल लुम्बिनी, धनगढी एफसी र पोखरा थन्डर्सविरुद्धको खेलमा बेन्चमै रहे। विराटनगरसँगको खेलमा उनी ३८औँ मिनेटमा बाहिरिए।

ह्यामेस्ट्रिङ समस्याले गर्दा पहिलो खेलबाटै आफूले शतप्रतिशत दिन नसकेको भरतले स्वीकारे।

‘टिमले कप्तान साथै मार्की खेलाडीका रुपमा जति मबाट अपेक्षा गरेको थियो, त्योअनुरुप प्रदर्शन गर्न सकिन। लिगभर चोटसँग जुधिरहेँ’, उनले भने, ‘हामीले अक्सनबाट जुन टिम बनाएका थियौँ। त्योअनुरुप टिम बन्यो तर मसहित टोलीका केही मुख्य खेलाडी घाइते भएको कारण हामी प्ले–अफमा पुग्न सकेनौँ।’

fc chitwan2021 story2

जम्न नसकेका विदेशी खेलाडी
प्ले–अफमा पुग्ने टोलीमा विदेशी खेलाडीको प्रभाव राम्रो देखिएको छ। तर, चितवनका विदेशी खेलाडीले भने औसतको प्रदर्शन गरे। त्यसको मार पनि टोलीमा पर्यो।

युरोपका अनुभवी फरवार्ड गोरान जोकोभिचलाई अनुबन्ध गर्दा टोलीले सफल नतिजाको अपेक्षा गरेको थियो।

जोकोभिच युरोपा लिग छनोट, थाइ लिग, सुपर लिगा, एफसी च्याम्पियन्स लिगको अनुभव लिइसकेका खेलाडी हुन्। चितवनलाई उपाधि दिलाउनु नै आफ्नो लक्ष्य बताएका जोकोभिच त्यसमा खरो उत्रिन सकेनन्।

अर्का विदेशी खेलाडी इजिप्टका अहमद मोहम्मद इल सेड सबानले इजिप्ट प्रिमियर लिग, इजिप्ट कप खेलिसकेका छन्।

केही खेलको प्रदर्शनपछि चितवनका मुख्य प्रशिक्षक मेघराज केसीले एनएसएलमा सबै टोलीको खेल हेर्दा आफ्नै टोली सबैभन्दा कमजोर हो कि भन्ने महसुस भएको बताएका थिए।

केसीले अर्को प्रसंगमा भनेका थिए, ‘नेपालमा युरोपियन खेलाडीभन्दा अफ्रिकन खेलाडी नै बढी जम्ने देखियो।’

fc chitwan2021 story5

मुख्य प्रशिक्षकको अनुपस्थिति
कुनै पनि टोलीका लागि खेलमा मुख्य प्रशिक्षकको उपस्थितिलाई महत्वपूर्ण मानिन्छ।

तत्कालै रणनीति बदल्ने होस् वा ससाना कमीकमजोरी सच्याउन होस्, प्रशिक्षकले मैदानका खेलाडीहरुलाई आवश्यक निर्देशन दिइरहेका हुन्छन्। त्यसले खेलको नतिजामा असर गर्छ।

तर आमा बिरामी भएका कारण पछिल्ला ३ खेलमा केसी नै खेलका दिनमा टोलीसँग रहन सकेनन्। जसको असर टोलीमा परेको प्रष्ट देखिन्थ्यो।

उनको अनुपस्थितिमा सहायक प्रशिक्षक शैलेश कर्माचार्यले टोली सम्हाले।

लिगमा जित निकाल्न नसक्नु आफूहरुको कमजोरी भएको सहायक प्रशिक्षक शैलेश कर्माचार्यको स्वीकारोक्ति छ।

कर्माचार्य पनि मुख्यतः खेलाडीहरुको चोटकै कारण सोचेअनुरुपको नतिजा निकाल्न नसकेको बताउँछन्।

‘मार्की खेलाडी, अक्सनबाट लिएका र विदेशी खेलाडी नै घाइते भए। जसले गर्दा टोली राम्ररी सेट नै हुन पाएन’, उनले भने, ‘तयारीअघि अधिकांश खेलाडी मोफसलमा व्यस्त थिए। लगातारको खेलले पनि खेलाडीलाई असर गर्यो।’

यसले पनि प्रदर्शनमा असर गरेको उनको भनाइ छ।

यसबाहेक कर्माचार्यले रेफ्रीका केही खराब निर्णयले पनि आफ्नो टोलीलाई असर परेको पटक–पटक बताएका थिए।

fc chitwan2021 story9

के भन्छन् क्लब मालिक?
यता चितवन एफसीका मालिक सचिन ढकाल लिग सुरु हुने बेला लिग जित्नकै लागि खेल्ने प्रयासमा रहे पनि सुरु हुनुअगावै खेलाडी घाइते हुँदा यसले नकारात्मक असर गरेको बताउँछन्।

उनले भने, ‘३ जना विदेशी खेलाडी र ५ जना आर्मीका खेलाडीहरु लिग सुरु हुनुअघि ५ दिनअघि मात्र क्याम्पमा आउनुभएको थियो जसले गर्दा टिमवर्क पनि राम्रो हुन सकेन।’

लिगका कति खेलमा गोल गर्ने मौका पाए पनि क्रसबारमा लागेर फर्किनुलाई उनी भाग्यले साथ नदिएको बताउँछन्।

विदेशी फुटबलमा रेड कार्ड हुने अवस्थामा समेत यहाँ ‘फउल’ पनि नदिएको उनको गुनासो छ।

ढकालले भने, ‘नेपाली फुटबलको लागि प्रतियोगिता राम्रो भए पनि रेफ्रीको पाटोमा भने केही कमजोरी देखिएकै है।’

यद्यपि अर्को वर्ष अझै सशक्त टोली बनाएर आउने ढकालले सुनाए।

fc chitwan2021 story4

नतिजा पोल्टामा नपार्दा चितवन चुक्यो : फुटबल विश्लेषक
यता फुटबल विश्लेषक सञ्जीव मिश्र भने राम्रो प्रदर्शन गर्दागर्दै पनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा सुपर लिगमा चितवन चुकेको बताउँछन्।

‘सबै टोलीमा समानता थियो, त्यस्तो फरक थिएन’, उनले भने, ‘कुनै टोलीले सुरुमा नराम्रो प्रदर्शन गरे पनि पछि राम्रो पुनरागमन गरे तर चितवनले त्यस्तो गर्न सकेन।’

मिश्रले पनि मुख्य प्रशिक्षक केसी नहुँदा टोलीमा असर गरेको बताए।

देशकै पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदा आयोजकसँगै सहभागी टोली पनि निकै उत्साहित थिए।

त्यसमा आबद्ध खेलाडी खुसी नहुने त कुरै भएन। स्वाभाविक थियो– व्यावसायिक फुटबलमा हुनलागेको एउटा नयाँ प्रयोगले यो क्षेत्रका सबैमा एउटा तरंग ल्यायो।

चैतमा भएको अक्सनमा सहभागी ७ टोली त्यही उत्साहका साथ सहभागी भए। कतिले सोचेजस्तै टोली बनेको बताइरहँदा कतिले अलिक योजनाअनुसार हुन नसकेको उल्लेख गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .