ad ad

खेल


एनएसएल : आशालाग्दो विराटनगरको विवादास्पद बहिर्गमन

एनएसएल : आशालाग्दो विराटनगरको विवादास्पद बहिर्गमन

लक्ष्मी जि.सी
बैशाख २७, २०७८ सोमबार ११:५५,

 नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदा विराटनगर सिटी एफसीलाई एक दाबेदार मानिएको थियो। तर, विराटनगर जसरी बाहिरियो, त्यो धेरैका लागि अप्रत्यासित थियो।

प्ले अफमा पुग्न जित्नै पर्ने अन्तिम खेलमा विराटनगर पराजित मात्र भएन, फुटबलको अनुशासनमाथि नै धावा बोल्ने काम गर्‍यो। जसले गर्दा फुटबल समर्थकको चर्को आलोचनाको सामना गर्नुपर्‍यो। शनिबारको खेलका क्रममा भएको घटनालाई लिएर टोलीले माफी समेत मागेको थियो।

अन्तिम खेलअघिको समिकरण यस्तो थियो– विराटनगर र ललितपुर सिटी एफसीमध्ये जो विजयी हुन्थ्यो, सोही टोली प्ले अफमा पुग्ने थियो। अन्तिम खेलअघि विराटनगर ७ अंकका साथ चौथो र ललितपुरको ६ अंकसहित पाँचौँ स्थानमा थियो।

पहिलो हाफमा १–० ले पछि परेको विराटनगरले दोस्रो हाफमा पनि गोल खायो। रेफ्रीको निर्णयमा बारम्बार आपत्ति जनाएको विराटनगरले दोस्रो गोल खाएपछि मैदान छाड्दा ७ मिनेट खेल रोकिएको थियो। आफूले पाउनु पर्ने पेनाल्टी नदिएको भन्दै विराटनगरका प्रशिक्षक यान ल र व्यवस्थापन टोलीले खेलाडीलाई मैदान बाहिर निस्किन भनेका थिए। विदेशी खेलाडी पेड्रो मान्जीबाहेक सबै खेलाडीले मैदान छाडेका थिए। केही समयमा सन्तोष तामाङ पनि पेड्रो नजिक पुगे। एन्फा पदाधिकारी र अफिसियलले बारम्बार आग्रह गरेपछि खेलाडीहरु मैदानमा गए र खेल पुनः सुरु भएको थियो। त्यसपछि पनि २ गोल खाएपछि ४–० पराजित हुँदै विराटनगर एनएसएलबाट बाहिरिएको थियो। विवादपछि दोहोरो पहेँलो कार्ड पाउँदै विजय धिमाल मैदानबाट बाहिरिँदा विराटनगरले १० खेलाडीमा खेलको अन्त्य गरेको थियो।

टोलीका मार्की खेलाडी समेत रहेका कप्तान रञ्जित धिमालले पनि आफूहरुले मैदान छाड्नु गल्ती भएको स्वीकार गरेका छन्।

‘खेलमा जे भएपनि हामीले मैदान छाड्न हुन्थेन। अफिसियलहरुले दबाब दिएका कारण हामी मैदान बाहिर आएका थियौँ,’ उनले भने, ‘खेल राम्रो भइरहेको थियो। ललितपुरले पनि राम्रो खेलेको थियो। बीचमा रेफ्रीको केही निर्णयमा असन्तुष्टि थियो जसको कारण खेलमा तनावको वातावरण भयो। जुन नहुनुपर्ने थियो।’

पहिलो पटक आयोजना भएको एनएसएलमा सुखद् अन्त्य हुन नसके पनि टोलीको प्रर्दशनबाट भने आफू सन्तुष्ट रहेको धिमालले सुनाए।

‘एनएसएलमा अफ्रिका र युरोपका टफ लेभलका खेलाडी आएका थिए। जसले हामीले धेरै कुरा सिक्न पायौँ। हाम्रोमा प्रशिक्षक पनि राम्रो हुनुहुन्थ्यो। धेरै सिक्न पायौँ,’ उनले भने।

अन्तिम खेलको घटनामा प्रशिक्षक यानको व्यवहारको पनि धिमालले बचाउ गरे।

‘एनएसएलको लेभलको रेफ्री भएन भन्ने उहाँको गुनासो हो,’ उनले थपे।

धनगढी एफसीलाई ३–० ले हराउँदै दमदार सुरुवात गरेको विराटनगरको त्यसपछिका दुई खेललाई सम्भवतः लिगकै दुई उत्कृष्ट खेलका रुपमा हेरिनेछ। बुटवल लुम्बिनीसँगको २–२ को बराबरी र काठमाडौंसँग ५–४ को खेललाई एनएसएलकै उत्कृष्ट खेल मध्ये मानिएको छ।

दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–० ले स्तब्ध भएपछि विराटनगरले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको थियो। चितवनलाई २–० ले हराएको विराटनगरले त्यसपछि काठमाडौं र ललितपुरसँगको खेल गमाउँदै एनएसएलको अन्त्य गरेको थियो। ६ खेलमा २ मा जित, १ मा बराबरी र ३ खेलमा हार भोगेको विराटनगर ७ अंकसहित छैठौँ स्थानमा रह्यो।

nsl2.jpg

प्रदर्शनका कारणले मात्र होइन, अन्य कारणले पनि लिगमा विराटनगर चर्चामा रह्यो। मुख्यतः प्रशिक्षक यान ल रेफ्रीको चर्को आलोचकका रुपमा रहेका थिए। बुटवलसँगको बराबरीपछि उनले नेपालको जस्तो रेफ्रीको स्तर आफूले अन्त कतै नदेखेको बताएका थिए। उनले त्यो खेलमा आफ्नो टोली जित्दा पनि प्रक्रिया भने त्यस्तै रहने बताएका थिए। चितवनसँगको जितपछि भने उनी रेफ्रीका बारेमा उनले आलोचना गरेनन्। रेफ्री स्तरीय भएमात्र फुटबलको विकास हुने अभिव्यक्ति दिए।

आक्रोशित यान
भारतका यान लको व्यक्तित्वबाट धेरै प्रभावित थिए। सुरुवाती खेलदेखि नै उनले उच्च व्यवसायिकता प्रर्दशन गरेका थिए। तर, एनएसएल अघि बढ्दै जाँदा उनको व्यवहारमा पनि फरक देखिँदै गयो। अन्तिम खेलमा त उनीले फुटबलको अनुशासन नै तोड्नेसम्मको काम गरे। रेफ्रीको नतिजा चित्त नबुझ्दा खेलाडीलाई मैदान छाड्न समेत लगाए। जित्नै पर्ने दबाबपूर्ण खेलमा उनले रेफ्रीमाथि पनि दबाब बढाउन चाहेको देखिन्थ्यो।

उनले ललितपुरको खेलमा ललितपुरकै बासिन्दा रेफ्रीले खेलाउनु उचित नरहेको बताए। नेपालका रेफ्रीको स्तर भारतमा विद्यालयस्तरमा भन्दा कमजोर रहेको टिप्पणी गरेका यानले मानसिक रुपमा पहिलेदेखि दबाब रहेको र दोस्रो गोलपछि थप असर गर्ने हुँदा खेलाडीलाई निकालेको जवाफ दिएका थिए। सुरुवातमा चर्चामा रहेका यान अन्तिम खेलको आफ्नै व्यवहारपछि भने नेपाली समर्थकबीच आलोचित बन्न पुगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .